अहिले नेपालको राजनीति दुईटा कित्तामा ध्रुवीकरण भएको छ। एउटा लोकतान्त्रिक शक्ति र अर्को कम्युनिस्ट शक्ति। नेपालको संविधान २०७२ घोषणा भएपछि नेपालका कम्युनिष्टहरू ध्रुवीकृत हुने क्रम सुरु भयो। विगतमा कम्युनिष्टहरूले लोकतन्त्रलाई आफ्नो प्राप्तिको अभिष्टलाई पूरा गर्न कहिले नेपाली कांग्रेस त, कहिले दरवारनिकट भएर लोकतन्त्रमा विश्वास भएको भन्ने गर्दथे।संविधानको कार्यान्वयनको प्रारम्भिक चरण तीन तहको निर्वाचनसम्म आइपुग्दा, नेपालका ठूला कम्युनिष्ट पार्टीहरू भन्ने वामगठबन्धन गरी चुनावमा गए र प्रचण्ड बहुमत पनि ल्याए।
करिब ३० वर्षसम्म नेपाली कांग्रेससँग लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेको तत्कालीन नेकपा एमाले अन्तत्वोगत्वा लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसलाई समाप्त पार्नेसम्म उद्घोष गर्दै आएको छ। सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले आफूलाई कम्युनिष्ट तानशाहको रुपमा प्रस्तुत गरेका छन्। नेपाली कांग्रेसले कहिले पनि ध्रुविकरणको स्थान दिएको थिएन तर अब आएर नेपाली कांग्रेसले कम्युनिष्टको अधिनायकवाद र सर्वसत्तावाद विरुद्ध लोकतान्त्रिक मोर्चा गठन गरी देशमा लोकतन्त्रको रक्षा एवं सवलीकरणलाई अगाडि बढाउनुपर्दछ। यसका लागि नेपाली कांग्रेसको मूल मर्म भनेको लोकतान्त्रिक शासन व्यवस्था हो। जसले समृद्धि र स्थायित्व दिनसक्छन् नकि कम्युनिष्ट अधिनायकवादबाट। यसर्थ प्रष्टरुपमा राजनीतिक ध्रुवीकरणले कम्युनिष्टहरू पतनको बाटोमा लागि सकेकाछन्। लोकतन्त्रको विजय सुनिश्चित छ किनकि विश्व नै लोकतन्त्रको पक्षमा छ। हामी सबै लोकतान्त्रवादीहरू एकजुट भई कम्युनिष्ट अधिनायकवादको चरित्रलाई उदाङ्गो पार्नैपर्दछ।
राजनीति शास्त्रको दृष्टिले राजनीतिक दलको मूल आधारभूमि भनेको सिद्धान्त हो। सिद्धान्तका दुई वटा पक्षहरू हुन्छन्। एउटा व्यावहारिक पक्ष र अर्को सैद्धान्तिक पक्ष। नेपाली कांग्रेसको सैद्धान्तिक पक्षसँग विश्वका विभिन्न प्रजातन्त्रवादी मुलुकमा राजनीतिक प्रणालीसँग वैचारिक निकटता, समानान्तरता र एकबद्धता भए पनि साम्प्रदायिकता र एकदलीय अधिनायकवादी चिन्तन बोकेकाहरूसँग यस पृथ्वीमा भएका कुनै पनि लोकतन्त्रवादी शक्तिले चुनावी गठबन्धन गर्दैनन्। लोकतन्त्रवादी र अलोकतान्त्रिकवादीहरूका चुनावी गठबन्धनले रसियामा नेल्सेभीक र बोल्सेभिक जन्मिएको थियो। जसले प्रजातन्त्रवादीहरूलाई सखाप पारेर ७५ वर्ष एकदलीय अधिनायकवादी कम्युनिष्ट शासन पद्धति चलायो। यसरी नै चीनमा जननेता सन्यात्सेनको प्रजातान्त्रिक लडाईंलाई समाप्त पारेर माओ र चाओले चिनियाँ कम्युनिष्ट पार्टी अगाडि बढेको थियो र आज चीनमा एक खर्बभन्दा बढी जनसंख्या भए पनि चिनियाँ कम्युनिष्ट पार्टीको विचारभन्दा बाहेक अर्को कुनै छिर्न पाउँदैन।
विचार सबै पवित्र हुन्छन् तुलसीका साना ठूला पातजस्तै। तुलसीको पात सानो दिएर ठूलो लिनु र ठूलो दिएर सानो लिनुमा कुनै पनि तात्त्विक अन्तर छैन।
प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले पनि नेपालका वामपन्थीहरूलाई प्रजातन्त्रप्रति प्रतिवद्ध गराउन आन्दोलनमा सँगै लिएर हिँडे पनि, नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व गर्छ तर आन्दोलनमा सहकार्य गर्दैन। चुनावमा तालमेल गर्दैनौँ। सत्ता सञ्चालनका लागि शक्ति र आवश्यताअनुसार सहकार्य गर्न सकिन्छ भनेर नेपाली कांग्रेसको नेतृत्व र साहना प्रधानको नेतृत्वको वाममोर्चाले पृष्ठभूमिमा रहेर मात्र सहयोग गरेको थियो। समग्रमा नेतृत्व नेपाली कांग्रेसकै थियो। यस कुरालाई नेपाली कांग्रेसका पछिल्लो तप्काका नेताहरूले बिर्सिएर विपक्षीका उम्मेदवारहरूलाई जिताउनका लागि आफ्ना कार्यकर्ताको हुर्मत काड्नाको परिणाम आज कांग्रेसले भोग्नुपरेको छ।


अत्यन्त धेरै ठाउँमा कांग्रेसले मार खेप्नुपरे पनि चितवन एउटा जीवन्त भइरहने उदाहरण हो। जसमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेतृत्वको विरोध गरे। सधैँभरि रुख चिन्हमा हालेको मत अन्य चिन्हमा मत हाल्न हातै नलागेको कार्यकर्ताको भनाई चुनावकै समयमा प्रष्ट रुपमा देखिन्थ्यो। यसकारण अब नेपाली कांग्रेसका नेता कार्यकर्ताले बाघ र बाख्राको साँठगाँठ हुन सक्दैन भन्ने कुरा राम्ररी बुझ्नुपर्दछ। अर्को दृष्टिले हेर्दा सत्ताको निमित्त राजनीतिक सम्भौता हुन सक्दछन्।
आन्दोलन सफल पार्नका लागि आफ्नो नेतृत्वमा अरु राजनीतिक दलको पनि सहयोग लिन सकिन्छ तर चुनाव भनेको व्यक्तिको मतको आधारमा लडिने हो। मतलाई विचारले प्रभाव पार्दछ। विचार भनेको दर्शन हो। जसरी एउटा म्यानमा २ वटा तरवार राख्न सकिँदैन, त्यसरी नै भिन्नभिन्न विचारका राजनीतिक दलका बीचमा गठबन्धन हुनैसक्दैन। किनकि एकै समयमा दिन पनि रात पनि हुँदैन। आगो र पानी एकै ठाउँमा रहन सक्दैनन्।
विचार सबै पवित्र हुन्छन् तुलसीका साना ठूला पातजस्तै। तुलसीको पात सानो दिएर ठूलो लिनु र ठूलो दिएर सानो लिनुमा कुनै पनि तात्त्विक अन्तर छैन।
दार्शनिक र वैचारिक दृष्टिले कुनै पनि एउटा राजनीतिक दलको अर्को राजनीतिक दलसँग मतदान कार्यमा सहभागिता हुन सक्दैन। यो सबै गलत हो। यस किसिमका गलत क्रियाकलाप गर्नाले विसं २००७, २०१६, २०३६ र २०४७ सम्म एकछापे नेपाली कांग्रेसलाई मत दिएका नेपाली जनताले यस्तै ढुलमुले चरित्रका कारण कम्युनिष्टलाई भोट हाल्न पुगे। क्षेत्रीयतावादी पार्टीहरू जन्मिए। जातियवादी पार्टी जन्मिए। मुलकलाई टुक्रा टुक्रा पार्ने अभिलक्षणहरू देखिए। प्रजातन्त्र र जनजीविका कुराहरू कमजोर भएर गए। वैचारिक पवित्रता र राजनीतिक चरित्रमा ठूलो विचलन आयो। फलतः आज भ्रष्टाचार नगर्ने, घुस नखाने, आफ्ना पसिनाले गरेको आर्जनमा विश्वासमा बाँच्न चाहने मान्छे बाँच्न नसक्ने अवस्थामा पुर्याइयो।
आज मुलुकमा भएका भ्रष्टाचारको कुरो चल्दा सबै पार्टीका प्राय: नेताहरूको नाम किन आउँछ? यही हो आदर्श? यही हो राजनीतिक चरित्र? यस्तै कुरा पाउनका लागि हाम्रा युवाले दशकौँ संघर्ष गरेका थिए? यसको जवाफ कसले दिने? त्यो अपवित्र गठबन्धनकारी व्यक्ति होस्, समूह होस् वा सिङ्गो परम्परा होस् त्यसलाई न्यायिक कठघारामा उभ्याउन सक्नुपर्दछ। आजको दिनमा नेपाली कांग्रेस आचरण अपवित्रता, कमजोर वैचारिक धरातल, लोभीपापी र पार्टीमा नाफाखोरहरूको घुसपैठ आदिको कारणले कमजोर बन्न पुगेको अवस्था छ।
आस्थावान कार्यकर्ताहरू निराश भए, वैचारिक यात्रा लेनदेनमा परिणत भयो र हामी सबै आज यो अवस्थामा आइपुग्यौं। त्यसलै आजको विन्दुमा पुगेर हामी कांग्रेसीजनले भन्नुपर्दछ। सम्पूर्ण कांग्रेसीहरू उठौँ, बिउझौँँ, जागौँ र केही गरौँ, केही नगर्ने भए त हामी मरेतुल्य नै भइहाल्यौँ नि !
(यो आलेख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले प्रकाशित गरेको ‘कांग्रेसको अबको बाटो’ पुस्तकको अंश हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।