काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नै नेकपा एमाले आगामी निर्वाचनबाट पुनः सत्तामा फर्किने बताएका छन्।
१०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सचिव भट्टराईले यस्तो बताएका हुन्। ‘एमालेमाथि चौतर्फी आक्रमण भएको छ। कथित गठबन्धन बनाइँदै छन्। एमालेको बर्चश्व स्थापित गराउन र सरकारमा फर्काउन सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दिशामा छौं,’ उनले भने, ‘केपी ओलीको अगुवाइमा त्यो दिशामा अघि बढ्दै छौं।’
उनले अध्यक्ष, पदाधिकारी र केन्द्रीय कमिटी पनि सहमतिका साथ चयन गर्ने दिशामा नै अहिले अघि बढेको बताए।
‘आवश्यक छलफल र परामर्शमा छौं। सबैसँग छलफल गरेर एकताबद्ध भएर नेतृत्व चयन गर्छौं,’ उनले भने, ‘९५ प्रतिशत प्रतिनिधि सर्वसम्मत छनोट भइसकेका छन्। त्यसले पनि यो सन्देश दिएको छ।’
उनले केही जिल्लामा प्रतिनिधि छनोट बाँकी रहेको भन्दै पर्सीसम्म सबै क्षेत्रको टुंगो लागिसक्ने बताए।
देशमा विद्यमान राजनीतिक दललाई बाटो दिन सक्ने राजनीतिक दलको पनि नेता पार्टीका रुपमा एमाले स्थापित भएको दाबी गर्दै भट्टराईले आउँदो महाधिवेशनबाट हिजोको विरासत धाम्न सक्ने नेतृत्व चयन हुने बताए।
‘हाम्रा अगाडि केही चुनौती छन्। सानो संख्यामा भए पनि पार्टीका केही नेताहरुले अलग समूह बनाउनुभयो। फेरि पनि एमालेलाई बिशाल पार्टी बनाउनु छ,’ उनले भने, ‘निस्केर गएका साथीहरुलाई फर्काउँदै देशका कम्युनिस्ट पार्टीलाई गोलबद्ध गर्दै बहुमतमा पुर्याउन छ,’ उनले भने, ‘यी सबैलाई हाक्न सक्ने नेतृत्व महाधिवेशनबाट निर्वाचित हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।