काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको गृह मन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्याएको सहयोगलगायत विषयमा छलफल भएको थियो।
भेटमा सहायक विदेशमन्त्री लू र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी थिए।
त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो। उनी दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका थिए।
भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका थिए। उनले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनर्उथ्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लूलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।