काठमाडौं-राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ।
कानुन व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको आयोगको ठहर छ।
बिहीबार दिउँसो कानुन व्यवसायीहरुमाथि नेपाल प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएका थिए।
प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनको देब्रे काँध, कोखा र छाती र खुट्टामा चोट लागेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको निशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
आयोगले मानव अधिकारको दृष्टिकोणबाट उक्त आन्दोलनको निरन्तर अनुगमन गरिरहेको उनले बताए।
आयोगका मानव अधिकार अधिकृतहरुको टोलीले बिहीबार सर्वोच्च अदालत पुगी घटनाको स्थलगत अनुगमन गर्नुका साथै अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा पुगी घाइतेको स्वास्थ्य अवस्था सम्बन्धमा जानकारी लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।