काठमाडौं– सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए।
गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको फुल कोर्ट बैठकमा राणा भने सहभागी थिएनन्। सर्वोच्चका १९ जना न्यायाधीश सहभागी बैठकले सर्वोच्चको नियमावली संशोधन गरेर गोलाप्रथा लागू गर्ने निर्णय गरेको र उक्त निर्णय मुख्य रजिष्टारमार्फत् प्रधानन्यायाधीश राणा समक्ष पठाइने छ।
राणाले निर्णयमा हस्ताक्षर गरेपछि राजपत्रमा सूचना प्रकाशितका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने छ।
राजपत्रमा सूचना प्रकाशित भएपछि न्यायाधीशहरुले मुद्दा हेर्ने समझदारी बनेको बताएको छ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला तानेर मुद्दा हेर्न तयार भएका छन्।
न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले तयार पारेको न्यायपालिकाको विकृति विसंगतीसम्बन्धी प्रतिवेदनको सुझावअनुसार उच्च र जिल्ला अदालतमा यसअघि नै गोलाप्रथामार्फत् पेसी तोक्न निर्देशन दिइसकेको थियो।
तर, सर्वोच्चमा भने अर्को वर्षदेखि मात्रै गोलाप्रथा लागू गर्ने भनिएको थियो। कात्तिक दोस्रो सातादेखि सर्वोच्चका न्यायाधीश र कानुन व्यवसायी (नेपाल बार)ले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेपछि सर्वोच्चमा गोलाप्रथामार्फत् पेसी तोक्ने अवस्था बनेको हो।
कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग मन्त्रिपरिषद् तथा अन्य नियुक्तिमा हिस्सा खोजेको, पेसी तोक्दा 'नियत' राखेको, आफू विपक्षी भएको मुद्दाको सुनुवाइ सार्दै आएको तथा अदालतमा देखिएका विकृति, विसंगति हटाउन भूमिका नखेलेको भन्दै कात्तिक ८ गतेदेखि सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन थालेका थिए।
आन्दोलनमा रहेका न्यायाधीशहरुले राणाको राजीनामाको अजेण्डा कायमै रहेको बताएका छन्। तर, लामो समय मुद्दा नहेर्दा सेवाग्राहीले सास्ती खेप्नु परेपछि आफूहरु गोला तानेर मुद्दा हेर्न तयार भएको आन्दोलनरत न्यायाधीशको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।