काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार ओरालो लागेको छ। बिहीबार कारोबार मापन परिसूचक (नेप्से) ३२.३९ अंकले घटेर २७६९.३९ विन्दुमा पुगेको छ।
बुधबारसम्म निरन्तर उकालो लागेको सेयर बजार बिहीबार भने घटेको हो। बिहीबार 'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.४३ अंकले घटेर ५२२.०० विन्दुमा पुगेको छ।
बिहीबार २२४ कम्पनीको ९८ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। बिहीबार ६० करोड ४४ लाख रुपैयाँभन्दा बढी रकमको खरिदबिक्रीसहित नेपाल टेलिकम अग्रस्थानमा रह्यो।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र अपर तामाकोशी परेका छन्।
बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ७ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार भने ६ अर्ब २७ करोड १८ लाख रुपैयाँको कारोबार भयो।
बिहीबार 'अन्य' समूह बाहेक अरु सबै समूहका उपसूचकहरु ओरालो लागेको छ। बिहीबार सबैभन्दा बढी जलविद्युत समूहको उपसूचक २.८४ प्रतिशतले ओरालो लाग्यो।
बिहीबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य पनि सकारात्मक सर्किटको लेभलमा पुग्ने गरी बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।