काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि भएको दमनबारे छलफल गर्न 'पापड'को बैठक बस्न लागेको छ।
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)मा आवद्ध संगठनहरुको बैठक नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगल (सञ्चारग्राम)मा बस्न लागेको हो।
बैठकमा पापडमा आवद्ध नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्रध्यापक संघ, नेपाल चिकित्सक संघ, नेपाल इन्जिनियरिङ संघ र नेपाल शिक्षक महासंघका पदाधिकारी र प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ।
प्रधानन्यायाधी राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीले सर्वोच्च अदालतमा धर्ना दिने क्रममा प्रहरीले हस्तक्षेप गर्दा करिब ६ जना कानुन व्यवसायी घाइते भएका छन्।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, नेपाल बारका केन्द्रीय सदस्य प्रकाश महर्जन, वरिष्ठ अधिवक्ता सविता भण्डारी, युवराज भण्डारी, गोपाल सापकोटा, कपिल पोखरेल लगायत कानुन व्यवसायीहरु घाइते भएका छन्।
यस्तै, प्रधानन्यायाधीश राणाको पक्षमा नारा लगाउँदै आएका अपरिचित युवाहरुको समूहले पनि नेपाल बार एसोसिएसनको भवन परिसरमै छिरेर कानुन व्यवसायीमाथि आक्रमण र गालीगलौज गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।