काठमाडौं–नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका लागि ८ चुनौती रहेको जनाएका छन्।
संविधानको स्वामित्व र संविधान भित्रै फरक रहेका मतहरु पार्टी भित्रको चुनौती रहेको उनले उल्लेख गरेका छन्। फरक मत लोकतन्त्रको सौन्दर्य भएपनि त्यसलाई समयमै सम्बोधन नगरे जटिलता उत्पन्न हुन सक्ने उनको निष्कर्ष छ।
संघियता र धर्मनिरपेक्षताका सन्दर्भलाई लिएर पार्टी भित्र फरक मत रहेको उनले उल्लेख गरेका छन्।
दल र सरकार बीचको सम्बन्धमा विगतमा जटिलता उत्पन्न गरेको उनले स्मरण गरेका छन्। दल र सरकारबीच सम्बन्ध बिग्रदा त्यसले ल्याउने दुष्परिणाम तथा जटिलता दोहोरिन नदिन परिपक्व हल खोज्नुपर्ने उनको जोड छ।
पार्टीको निर्णय प्रक्रियामा सहमतीय या बहुमतीयको अलमल र द्वन्दले निर्णय क्षमतामा असर पुग्ने स्थिति रहेको उनले सार्वजनिक गरेको ‘दल रुपान्तरण, देश रुपान्तरणको अनिवार्य शर्त’ अवधारणापत्रमा उल्लेख छ।
महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माले बुधबार चितवनमा आयोजित कार्यक्रममा भने,‘सार्वजनिक सरोकारका विषयहरुमा कतिपय बेला समयमै निर्णय हुन नसक्दा पार्टीको छविमा परेको असर गरेको छ।’
संसदीय टिकट वितरणमा पुरातन शैलिको निरन्तरता पार्टीका लागि चुनौती रहेको उनले उल्लेख गरेका छन्। कृयाशिल सदस्य नविकरण, वितरण र व्यवस्थापनको प्रश्नमा पछिल्ला महाधिवेशनहरुको पूर्व सन्ध्यामा बढेको जटिलता प्रति अर्को चुनौती रहेको उनले बताए।
भातृ र शुभेच्छुक संस्थाहरुको सांगठनिक गतिशीलतालाई आन्तरिक अधिवेशनको चुस्त व्यवस्थापन हुन नसक्दा गम्भीर असर परेको उनको बुझाइ छ। पार्टी भित्रका कमजोरीको पहिचान र त्यसको कार्यान्वयनमा सुस्तता रहेको उनले उल्लेख गरेका छन्।
हरेक दलभित्र ‘दल’ कमजोर हुँदै गएको, निर्णय क्षमता कमजोर,कार्यान्वयनमा साझा लगाव घट्नुलाई उनले संस्थागत अथोरिटी कमजोर हुनुका रुपमा अथ्र्याएका छन्।
पार्टी भित्रका ‘विचार समूह’ विचारले भन्दा बढी आग्रहले परिचालित भएको शर्माको ठम्याई छ। विगतमा रगत बगाउन तयार हुने पार्टी सदस्य अहिले पसिना बगाउन पनि हच्किरहेको उनले बताए।
क्रियाशील सदस्यतामा युवा पुस्ताको संख्या बढेसँगै पार्टीको भूमिकामा पनि उनीहरुलाई उचित स्थान दिनुपर्ने शर्माको राय छ।
‘प्रदेश र केन्द्रको अधिवेशनमा सहभागी हुने ३० वा ४० वर्षसम्मका प्रतिनिधिहरु उम्मेदवार बन्न पाउने र आपसमा प्रतिस्पर्धा गर्ने गरी केन्द्रीय र प्रदेश समितिको १० प्रतिशतको संख्यालाई खुला प्रतिस्पर्धाबाट प्रदेश र केन्द्रको सदस्यको रुपमा ल्याउँदा त्युसले युवालाई प्रोत्साहित र प्रशिक्षित दुबै गर्नेछ’ शर्माले सार्वजनिक गरेको ‘दलमा रुपन्तरण, देश रुपान्तरणको अनिवार्य शर्त’मा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।