काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रदेश, पालिका र वडा अवधिवेशन गर्न निर्वाचन समिति बनाएको छ। मंसिर ४ गते वडा, मंसिर ११ गते पालिका र मंसिर २५ गते प्रदेश अधिवेशन गर्न बुधबार निर्वाचन समिति घोषणा गरिएको हो।
वडादेखि प्रदेशसम्म नेतृत्व चयन सर्वसम्मत नभएमा निर्वाचन गर्न समिति बनाइएको माओवादीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए।
‘हामीले वडा, पालिका र प्रदेश अधिवेशन गर्न आज देशैभर निर्वाचन समिति बनाएका छौं। जसमा ६ हजार ७ सय ४३ वडामा तीन सदस्यीय निर्वाचन समिति, ७ सय ५३ पालिकामा ५ सदस्यीय निर्वाचन समिति र सात प्रदेश निर्वाचन गर्न सात सदस्यीय निर्वाचन समिति बनाएका छौं’ श्रेष्ठले भने, ‘ती सबै समितिले सर्वसम्मत नेतृत्व आउन नसक्ने स्थानमा निर्वाचन गराउने छ।’
त्यसका लागि सबैलाई प्रशिक्षण दिएर पठाएको उनले बताए। वडा, पालिका र प्रदेश सम्मेलन गर्न शीर्ष नेताहरू समेत गाउँ गाउँ पुगेका छन्। आफू अनुकुल नेतालाई नेतृत्वमा ल्याउन शीर्ष नेताहरू गाउँगाउँ पसेका हुन्। माओवादीले पुस ११-१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।