काठमाडौं- नेपाली कांग्रेसका सिन्धुपाल्चोक जिल्ला सभापति विकाश लामाले पार्टीको १४ औं महाधिवेशनको क्रममा हुनुपर्ने विभिन्न अधिवेशनहरु केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका कारण सम्भव नभएको आरोप लगाएका छन्। दुबै पक्षका नेताहरु आरोप प्रत्यारोपमा उत्रिदा सिन्धुपाल्चोकमा बाँकी रहेका कांग्रेस वडा अधिवेशन अनिश्चित भएको छ।
वडा तह, पालिका तह, प्रदेश सभा क्षेत्र तह, प्रतिनिधि सभा क्षेत्र तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न असहज अवस्था सिर्जना भएकोमा सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्य समिति दुखित भएको लामाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
जिल्लाका नेतासमेत रहेका केन्द्रीय सदस्य बस्नेतले असयोग गर्दा निर्वाचन अधिकृतले जिल्ला जान अस्वीकार गरेको विज्ञप्तिमा जनाइएको छ।
'केन्द्रीय प्रतिनिधिका लागि अनुकूल अवस्था र्सिजना गर्न जिल्ला कार्यसमितिका सभापति विकास लामाको निरन्तर संवाद र समन्वयको प्रयास हुँदा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट असहयोग भै समझदारीको वातावरण बन्न नसक्दा खटिएका केन्द्रीय निर्वाचन अधिकृतले जिल्ला जान अस्वीकार गर्नुभयो,' विज्ञप्तिमा भनिएको छ, ' जसका कारण विभिन्न तहको अधिवेशनका लागि निर्धारित अधिवेशनमा अब के गर्ने भन्ने अन्योल र असहजताको अवस्था उत्पन्न भएकोमा जिल्ला कार्यसमिति अत्यन्त चिन्तित र गम्भीर भएको छ।'
पार्टीका सदस्य, कार्यकर्ता, नेता तथा पार्टी शुभेच्छुकहरु अधिवेशनको क्रममा उत्साहपूर्वक सहभागि भैररहेको अवस्थामा पार्टीलाई संस्थागत रुपमा सञ्चालन हुन नदिई व्यक्तिवादी जमात र भीडका रुपमा मात्र राख्न चाहने प्रवृत्तिका केही व्यक्तिलाई पार्टीको केन्द्रीय तहले संरक्षण र प्रोत्साहन दिई अधिवेशन सम्पन्न गराउन अनेक बाधा र अप्ठ्यारो अवस्था उत्पन्न गराएर सिन्धु कांग्रेस अधिवेशन यतिवेला अन्योल र निराशाको अवस्थामा पुर्याइएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्ल्ख गरिएको छ।
वर्षौ देखि क्रियाशील सदस्यता प्रक्रियालाई विथोल्दै आएको केन्द्रीय कार्यालयमा रहेको पहुँच दुरुपयोग गरी क्रियाशील सदस्यता वितरणमा अनेक चलखेल गरेको र त्यसमा विवाद उत्पन्न गरी जिल्लाको सांगठनिक गतिविधिलाई अवरुद्ध गराउने अनेक प्रयास गरिएको विज्ञप्तिमा जनाइएको छ।
यसका बावजुद राजनीतिक समझदारीका लागि जिल्ला कार्य समितिले उदारतापूर्वक समस्या समाधानमा सहयोग पुर्याएको र अधिवेशनको लागि वातावरण निर्माण गरेको जनाइएको छ।
केन्द्रीय निर्वाचन समितिले खटाएको केन्द्रीय निर्वाचन प्रतिनिधिसँगको समन्वय र सहभागितामा जिल्लाका सबै तहको अधिवेशनलाई व्यवहारिक कार्यतालिका बनाइ सो अनुरुप अधिवेशनहरु भैरहेको र केन्द्रीय निर्वाचन प्रतिनिधिलाई आवश्यक सहयोग र सहकार्य गर्दै आएकोमा केन्द्रीय प्रतिनिधिलाई दबाब र त्रास र्सिजना गरी अधिवेशन प्रक्रियामा असहजता, अवरोध बनाउन जिल्लाको केन्द्रीय प्रतिनिधित्व गर्ने जिम्मेवार नेताहरुबाट नै गैरजिम्मेवारी भूमिका निर्वाह गरेको महसुस जिल्ला कार्यसमितिले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
अधिवेशन सम्पन्न हुन नसकेका २ वटा वडा र सामान्य विवाद देखिएका दुईवटा वडा तहको समस्या समाधान गरी वडातहको अधिवेशन कार्तिक ३० मा सम्पन्न गराउने जिल्ला कार्यसमितिको कार्ययोजनामा केन्द्रिय निर्वाचन समितिबाट पठाइएका निर्वाचन प्रतिनिधिको अनुपस्थितिले गर्दा हुन नसकेको लामाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
पार्टीको १४ औं महाधिवेशनमा सिन्धुपाल्चोकको सहभागिता गर्न पाउने नेता–कार्यकर्ताको अधिकार कुण्ठित गर्ने षड्यन्त्र अन्तर्गत यस्तो असहज वातावरण बनाउने काम गरिएको आशंका आफूहरुले गरेको लामाले आरोप लगाएका छन्।
लामाले जिल्लाका पार्टी सदस्यहरुको सार्वभौम अधिकारको रक्षा गरी पार्टीको महाधिवेशन र सबै तहको अधिवेशनमा उत्साह पूर्वक सहभागि हुन पाउने अवस्थाका लागि आवश्यक वातावरण बनाउन कांग्रेस नेतृत्व पंक्तिको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, 'कुनै व्यक्तिको कुत्सित स्वार्थ र षड्यन्त्रको प्रभावमा पार्टी र केन्द्रीय निर्वाचन समिति पर्नु हुँदैन र नपरोस् भनी हामी सजग पनि गराउँदछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।