काठमाडौं- सोमबार र मंगलबार जस्तै सेयर बजारले बुधबार पनि सकारात्मक बाटो तय गरेको छ।
आज सेयर बजार मापन सूचक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ अंकमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा उक्लिएको नेप्सेले जनाएको छ।
आज सेयर कारोबार रकममा पनि अघिल्लो दिनको भन्दा २ अर्ब रुपैयाँ बढिले सुधार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
बुधबार सात अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कुल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार कित्ता सेयर किनबेच भएका छन्। आज सात समूहको परिसूचक बढेको छ भने बाँकी छ समूहको परिसूचक नकारात्मक बनेको छ।
आज सबैभन्दा धेरै जलविद्युत् समूहको सेयर मूल्य बढेको छ। यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट लागेको छ।
पञ्चकन्या माई हाइड्रो र अपर तामाकोशी हाइड्रो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यस्तै, आज चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको नेप्सेले जनाएको छ। आज तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको हो। नेपाल बंगलादेश बैंकको सेयर मूल्य पनि बुधबार ९.९८ प्रतिशतले बढेको छ।
आज ५८ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र एसियन लाइफ इन्स्योरेन्स परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।