काठमाडौं– १४औं महाधिवेशनमा 'मिलेर' जाने भनेर नेपाली कांग्रेसको कोइराला परिवारका दुई 'हस्ती'बीच भएको सहमति भाँडिएको छ। महामन्त्री डा शशांक कोइराला र नेता डा शेखर कोइरालाबीच भएको सहमति ‘भाँडिएको’ हो।
स्रोतका अनुसार कोइराला परिवारका दुई नेताबीच सभापतिमा शेखरलाई शशांकले समर्थन गर्ने सहमति भएको थियो।
स्रोतका अनुसार मंगलबार विहान शशांकले शेखरलाई फोन गरेका थिए। शशांकले शेखरको घरमा आउने बताएका थिए। सोही अनुसार शशांक शेखर निवास वसुन्धरामा साँझ ५ बजे पुगे। कोइराला परिवारका २ नेताबीच करिब डेढ घन्टा कुराकानी भएको थियो। उनीहरुबीच संवाद हुँदा तेस्रो व्यक्ति कोही पनि उपस्थित नरहेको बताइएको छ।
शशांकले सभापतिमा शेखरलाई सघाउने प्रतिवद्धतासहित बुधबार विहान १०:३० बजे पत्रकार सम्मेलन गर्ने तयारी थियो। आफ्नो समूहबाट सभापतिमा उठ्ने दाबी गरेका अन्यलाई मिलाउँदै गर्ने, तर पहिले कोइराला परिवार एक हुने सहमति बनेको थियो।
उक्त विषयबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने गरी विहान शेखर शशांक निवास महाराजगञ्ज पुगे। शशांक निवासमै पत्रकार सम्मेलन गर्ने आन्तरिक सहमति बनेको थियो।
पत्रकारलाई निमन्त्रणा गर्ने जिम्मेवारी दिएर केही बेरमा आउने भन्दै शेखर बाहिरिए। पत्रकारलाई खबर गर्नुअघि शशांकले आफ्ना सहयोगीलाई निकटका व्यक्तिहरुलाई फोन गर्न अह्राए। आफू निकटका व्यक्ति सँगको फोन संवाद सकिएपछि शशांक बाहिर निस्किए।
‘देउवाजीले बोलाएको हुनाले बालुवाटार जानुपर्ने भयो। पत्रकार सम्मेलन ८ गते गरौं,’ शशांकले आफ्नो निवासमा उपस्थित व्यक्तिहरुलाई भने। त्यसपछि उनी बाहिरिए। शशांक नै बाहिरिएपछि संयुक्त पत्रकार सम्मेलन रोकियो।
तर, शशांक देउवा निवास बालुवाटार पुगेनन्। बालुवाटार स्रोतका अनुसार शशांक बालुवाटार बुधबार विहान नपुगेको बताइन्छ।
केही समय पश्चात् संखुवासभाका नवनिर्वाचित जिल्ला सभापति दीपक खड्काले महामन्त्री कोइराला संखुवासभा आउन लागेको भनेर सामाजिक सञ्जालमार्फत् जानकारी गराए। ‘नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला संखुवासभा भ्रमणमा आउनुहुने भएको छ। बीपी कोइरालाका सुपुत्र कोइरालाको संखुवासभा बसाइ सुखद रहोस्,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्।
क्षेत्रीय अधिवेशन अघि काठमाडौं बाहिर जाने कुनै कार्यतालिका नभएका शशांक अकस्मात संखुवासभा पुग्नुलाई 'शंका'को दृष्टिले हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।