काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विवादित फैसलागरी अन्यायमा पारेकाहरुको फैसलामा अध्ययन हुने बताएका छन्।
नेपाल बार एसोसिएसनले बुधबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाले गरेको फैसलाका कारण अन्यायमा परेकाहरुको फैसला बारलाई उपलब्ध गराउन माग गरे।
प्रधानन्यायाधीश राणाको राजीनामा पछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानबिन हुने उनले बताए।
‘चोलेन्द्र शमशेर राणाले उनीसँग जोडिएका विकृतिका विवादित फैसलाहरु नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आव्हान गरेको छ,' उनले भने, 'तपाईं साथीहरु ज–जसलाई उनले अन्यायमा पारेका छन्, न्याय किनबेच गरेका छन्, ति फैसलाहरु नेपाल बार एसोसिएसनमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु। र, राणाको राजीनामापश्चात पनि त्यो फैसला अनुसारको छानबिन हुनेछ, उनको सम्पत्ति विवरणहरु हामीले संकलन गर्नेछौँ। कहाँ, कसरी अन्याय किसिमबाट बटुलेका छन् त्यो कुरापनि हामीले हेर्नेछौँ।’
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाए। राणाको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उनले बारको आन्दोलनविरुद्ध नलाग्न चेतावनी दिए।
‘कार्यक्रम विथोल्ने किसिमबाट कुनै–कुनै ठाउँमा हाम्रो आव्हानको प्रतिकुलमा काम पनि गरिराखेको र अदालतबाट त्यस्तो भइराखेको छ' उनले भने, 'प्रधानन्यायाधीशको निर्देशनमा त्यो काम भएको भन्नेकुरा हामीले जानकारी पाएका छौँ। खबरदार, चोलेन्द्र शमशेरको निर्देशनमा तपाईहरु दुईदिन टिक्नुहोला भोलिका दिनमा तपाईहरु बिचौलिया भएर हिँड्नुभयो भने तपाईहरुको पनि खैरियत रहने छैन।’
श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।