काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायीमैत्री कर प्रणाली बनाउन सरकार लागिपरेको बताएका छन्।
१०औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायीमैत्री बनाउन सरकार लागिपरेको बताएका हुन्।
अर्थमन्त्री शर्माले डिजिटल प्रणालीलाई व्यवस्थित रुपमा पूर्ण लागू गर्नका लागि सरकारमात्र नभइ करदाता र कर प्रशासनसमेतले त्यसको व्यवस्था गर्नुपर्ने बताए। उनले त्यसको लागि आवश्यकता अनुसारको दक्ष जनशक्ति र प्रविधिको विकाससमेत अझ बढाउँदै जानुपर्ने बताए।
‘यसको लागि करदाताले पनि आफ्नो व्यवसायलाई नयाँ प्रविधिभित्र राख्नुपर्छ तर, अहिले सरकारले लागू गरेको डिजिटल प्रणालीअनुसार व्यवसाय सञ्चालनमा आएका छैनन्। अहिले पनि न्युरोड, ठमेललगायतका बजारमा कुनै पसलमा कम्प्युटर देखिँदैनन् तर, त्यहाँ व्यापार व्यवसाय भइरहेको छ,' उनले भने।
मन्त्री शर्माले कम्प्युटरविना व्यापार गरिरहेका पसलहरुमा गएर हस्तक्षप तथा नियन्त्रण गर्न नमिल्ने बताए। उनले कर दबाब नभइ आवश्यकता भएको बताए। अर्थमन्त्री शर्माले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्नसमेत राजस्वका अधिकारीहरुलाई निर्देशन दिए। कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको बताउँदै उनले विवादित कर विवरण सार्वजनिक गर्न निर्देशन दिए। मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था अघि बढाउन पनि निर्देशन दिए।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सरकारले व्यवसायीलाई कर कार्यालयसम्म जानु नपर्ने गरी सबै कर प्रणालीलाई व्यवसायीमैत्री बनाउन लागेको बताए। उनले कर प्रणालीमा सुधार गर्ने काम सबैको भएकोले यसमा सरोकारवाला निकाय र आमनागरिकहरुले पनि सहयोग गर्नुपर्ने बताए।
सचिव शर्माले कर तिर्नका लागि कुनै विवाद गरिरहनु नपर्ने भन्दै हरेक सेवा, सुविधा र सुरक्षाका लागि सबैले कर तिर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।