काठमाडौं– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
बुधबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर मंगलबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उनले बताए।
उनले अब त्यो विषयमा बढी बोलीराख्नु आवश्यक नभएको प्रतिक्रिया दिए। सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिको मंगलबार बसेको बैठकले अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधान होस् भन्ने चाहेको बताएको थियो।
अध्यक्ष दाहालले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताए।
उनले आसन्न राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।