काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनमा माग गर्दै सर्वोच्चमा आन्दोलन सुरु भएको तीन साता पुग्दासमेत कुनै निकास निस्केको छैन।
पछिल्लो समय नेपाल बार एसोसिएसन र कानुन व्यवसायीले सर्वोच्च अदालत केन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका छन्। कानुन व्यवसायी मूल गेटमा धर्ना बसिरहँदा प्रधानन्यायाधीश वैकल्पिक मार्गबाट सर्वोच्च प्रवेश गरिरहेका छन्।
प्रधानन्यायाधीश राणाले आफ्नो राजीनामा माग गर्दै आन्दोरत न्यायाधीशहरुलाई अहिले नियमित मुद्दाको पेसी तोक्दै आएका छन्। न्यायाधीहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र सुनुवाइ गर्दै आएपनि राणाले आन्दोलनरत न्यायाधीशहरुलाई नियमित मुद्दाको पेसी तोक्ने कार्य जारी राखेका छन्।
बुधबार पनि प्रधानन्यायाधीश राणाले आफूलाई बाहेक नौ वटा इजलास तोके। राणाले तोकेको नियमित इजलासमा केही न्यायाधीशहरु फर्केका छन् भने अन्य न्यायाधीशहरुले बन्दीको मुद्दा मात्र हेरेका छन्।
बुधबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासले २ वटा मात्र मुद्दाको सुनुवाइ गरे। त्यस्तै तेजबहादुर केसी र कुमार चुडालको इजलासले पनि हालसम्म दुई वटा मात्र मुद्दाको सुनुवाइ गरेको छ। अन्य न्यायाधीशले भने कुनै पनि मुद्दा सुनुवाइ गरेनन्।
बुधबार राणाले बिदामा रहेका न्यायाधीश हरिकृष्ण कार्कीलाई पनि पेसी तोकेका छन्। कार्कीको एकल इजलास तोकिएको थियो। चार थान मुद्दा तोकिएको इजलास बेञ्च नबसेको भनि स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ।
न्यायाधीश कार्कीले बिदाका लागि निवेदन दिएका थिए। कार्की बिदामा बसेको अवस्थामा भुलवस पेसी तोकिएको भन्दै सर्वोच्च प्रशासनले सूचना जारी गरेर उक्त इजलास नबस्ने जानकारी गराएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।