मोरङ- पुराना टायरहरु पघालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो ईनर्जी ईन्भेष्टमेन्ट प्रालिमा आगलागि भएको छ।
बुधबार बिहान पौने ६ बजे आगलागी हुँदा उक्त उद्योगमा कच्चा पदार्थकोरुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ। यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा क्षति पुगेको छ।
दुई सिफ्टमा संचालन हुने सो उद्योग बिहान २ बजे दोश्रो सिफ्टपछि बन्द अवस्थामा थियो। सोही समयमा आगलागि भएको हुनसक्ने उद्योग सञ्चालक बिनित सिंघानियाले बताए। विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने उनको अनुमान छ।
उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागीले भीषणरुप लिएको थियो।
विराटनगर महानगरपालिकाका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको ईनरुवा र दुहबी लगायतका पालिकाबाटसमेत दमकलहरु बोलाइएको उद्योग प्रशासनले जनाएको छ।
टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मंगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो।
बिहान पौने ६ बजे लागेको आगो स्थानियबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि नियन्त्रणमा आएको थियो। सो उद्योगले पुराना टायरहरु संकलनगरि पघालेर फर्नेस आयलको उत्पादन गर्दै आएको छ। फर्नेस आयल उद्योगहरुमा इन्धनकोरुपमा प्रयोग गरिन्छ।
विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।