काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाको उपनिर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनको समन्वय समितिको मंगलबार सम्पन्न बैठकले सहकार्यलाई अगाडि बढाउने निर्णय पनि गरेको छ।
त्यसैगरी बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या तत्काल सामाधान गर्नुपर्ने बताएको छ। सर्वोच्चमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने निर्णय बैठकले गरेको हो।
बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुने आशा समेत व्यक्त गरेको समितिका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
समितिले पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रुपमा सेवा सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको निष्कर्ष पनि निकालेको छ।
समितिले गठबन्धन सरकारको निर्माणसँगै कोभिड १९ को रोकथामका लागि खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको, स्थिर सरकारको निर्माणसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरू तथा उद्यमीहरू उत्साहित भएको पनि समितिले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।