काठमाडौं– महाधिवेशन प्रतिनिधि छनोटमा दलितलाई उपेक्षा गरिएको भन्दै नेकपा एमालेनिकट जनसांस्कृतिक महासंघ सुदूरपश्चिमका संयोजक विनोद बाजुरालीले राजीनामा दिएका छन्।
प्रतिनिधि छनोटमा समानुपातिक व्यवस्थालाई पालना नगरिएको भन्दै उनले पदबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन्।
बाजुरामा प्रतिनिधि छान्दा कम्तिमा ६ दलित समुदायबाट हुनुपर्नेमा ४ जनामात्र छानिएपछि उनले राजीनामा दिएका हुन्। ‘विशेषगरी नेकपा एमालेको जिल्ला नेतृत्वमा आएको पूर्ण विचलनको परिणाम नेपालको संविधान र पार्टी विधान अनि अन्तर पार्टी निर्देशन ले सुनिश्चित गरेको समानुपातिक प्रतिनिधित्वको व्यवास्ता मात्र होइन, अवैधानिक र मनमौजी तरिकाले प्रतिनिधि छनौट गरी प्रक्रिया अगाडि बढाएको कुरालाई म घोर निन्दा भर्त्सना गर्दछु,’ उनले फेसबुकमा उल्लेख गरेका छन्।
पूर्ण वैधानिक तरिकाबाट पुनः प्रतिनिधि छनोट गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।