काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको आर्थिक तथा वित्तीय अवस्था निराशाजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तीन महिना (साउन, भदौ र असोज)को मुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा यस्तो देखिएको हो।
समीक्षा अवधिमा मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुवै घाटामा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मुलुकको चालु खाता एक खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ। यो भनेको तीन महिनामा मुलुकबाट बाहिरिने र नेपालमा भित्रिने कूल रकमबीचको अन्तर हो। यस अवधिमा नेपालमा भित्रिने रेमिट्यान्स घट्नुका साथै व्यापार घाटा बढ्न जाँदा चालु खाता घाटामा गएको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थितिसमेत ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब नौ करोड रुपैयाँले बचतमा रहेको थियो।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आइ एक अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भइ पाँच अर्ब सात करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ५६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ९२ करोड रुपैयाँ रहेको थियो।
विदेशी मुद्रा सञ्चितिमा गिरावट
चालु आवको प्रथम त्रैमासमा विदेशी मुद्राको सञ्चितिसमेत घटेको छ। गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब दुई करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले घटेर असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्रा सञ्चिति न्यून हुँदा वस्तु तथा सेवाको आयात प्रभावित हुने गर्दछ। यद्यपि, चालु आवको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ।
गत असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.९ प्रतिशत, ६४.७ प्रतिशत र २५.१ प्रतिशत रहेका छन्। असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए।
व्यापार घाटा ५८.३ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको व्यापार घाटा ५८.३ प्रतिशतले बढेको छ। मुलुकबाट विभिन्न मुलुकमा हुने निर्यात १०९.५ प्रतिशतले बढ्दासमेत व्यापार घाटा उच्च विन्दुमा पुगेको हो।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत असोज मसान्तसम्म मुलुकको व्यापार घाटा चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा निर्यात-आयात अनुपात १३.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो।
निर्यात १०९.५ र आयात ६३.७ प्रतिशतले वृद्धि
समीक्षा महिनामा कूल वस्तु निर्यात १०९.५ प्रतिशतले बढेको छ। उक्त अवधिमा मुलुकबाट ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकमा निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात घटेको छ।
चालु आवको तीन महिनामा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु मुलुकमा भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३.७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष उक्त अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
विदेश जाने बढे, तर रेमिट्यान्स घट्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकमा भित्रिने रेमिट्यान्स ७.६ प्रतिशतले घटेको छ। उक्त अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य बढे पनि रेमिट्यान्स घटेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा दुई खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत नेपालीहरुले तीन महिनाभित्र पठाएको रकम हो। गत वर्षको सोही अवधिको तुलनामा यो रकम ७.६ प्रतिशतले न्यून हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। उक्त अवधिमा कूल ६६ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि समीक्षा अवधिमा उल्लेख्य रुपमा बढेको छ। गत साउनदेखि असोज मसान्तसम्म कूल ३४ हजार ८२३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आइ दुई खर्ब ६३ अर्ब ७३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो।
मूल्यवृद्धि ४.२४ प्रतिशत कायम
चालु आर्थिक वर्षको असोज महिनामा मूल्यवृद्धि ४.२४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.७९ प्रतिशत रहेकोमा यो वर्ष ०.४५ विन्दुले बढेको हो।
समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.७२ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ। यस्तै खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.६३ प्रतिशत रहेको छ।
गत वर्षको असोज महिनाको तुलनामा यो वर्ष घिउ तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैरमदिराजन्य पेयपदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत, १०.७१ प्रतिशत, १०.१२ प्रतिशत र ९.६३ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
समीक्षा महिनामा सबैभन्दा धेरै पहाडमा ५.६८ प्रतिशत मूल्यवृद्धि कायम भएको छ। यस्तै काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ।
खर्च तथा राजस्व
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा सरकारले दुई खर्ब ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ। जसमा सबैभन्दा धेरै चालु खर्च एक खर्ब ८६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।
उक्त अवधिमा विकास खर्च (पुँजीगत) जम्मा १४ अर्ब ८९ करोड रुपैयाँ गरेको पाइएको छ। यस्तै वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ३३ अर्ब ११ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा सरकारले कूल दुई खर्ब ५५ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ। जसमध्ये कर राजस्व सबैभन्दा बढी दुई खर्ब २९ अर्ब आठ करोड रुपैयाँ र गैरकर राजस्व २५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।
प्रदेश सरकार
यता प्रदेश सरकारहरुले असोज महिनासम्ममा २९ अर्ब ४० करोड रुपैयाँ स्रोत प्राप्ति गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १६ अर्ब ७१ करोड रुपैयाँ हस्तान्तरण गरेको हो।
यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट १२ अर्ब ६९ करोड रुपैयाँ परिचालन गरेको प्रतिवेदनमा उल्लेख छ। यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले गरेका खर्च जम्मा १४ अर्ब १८ करोड रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।