फाइल तस्बिर रसुवा– उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ। ४२.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरु भएको उक्त आयोजनाले ३६ सय ३० मिटर हेडरेस सुरुङ, १ हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मिटर पेनस्टक सुरुङ तथा विद्युतगृहसमेत निर्माण सम्पन्न गरिसकेको छ।
विद्युतगृहमा पानी ल्याउने सुरुङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ। संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए तापनि विद्युत् गृहभित्र कामको जिम्मालिने डिइसी नामक चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम बिलम्व हुँदै गएको बताइएको छ।
छिटोभन्दा छिटो उपकरण जडान गरिदिन प्राविधिक समूहसँग संवाद भइरहेको आयोजना प्रमुख अर्पणबहादुर सिंहले जानकारी दिए। उपकरण जडानको प्रगति ५० प्रतिशत हासिल गर्नुपर्ने समय बितिसक्दा कामको जिम्मा लिने सो कम्पनीका प्राविधिकले भने कोरोनाको समस्या देखाइ कार्यस्थलमा आउन आनाकानी गरिरहेको जनाइएको छ।
विद्युतगृहमा जडान हुने ६४ प्रतिशत उपकरण आयोजनाको निर्माणस्थलमा ल्याइसकिएको र बाँकी सामग्री ल्याउने तयारी गरिएको बताइन्छ। उक्त विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट १२ करोड ६३ लाख रुपैयाा खर्च हुने लागत अनुमान गरिएको आयोजना प्रमुख सिंहले बताए।
यस्तै १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले पनि निर्माण गर्नुपर्ने ९८ प्रतिशत संरचना तयार पारी उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतीक्षा गरिरहेको छ।
चिनियाँ प्राविधिक नआएकै कारण सिम्बुगाउँमा निर्माण भएको माथिल्लो विद्युत्गृहमा समेत उपकरण जडान हुनसकेको आयोजना प्रमुख सुदन महतले जानकारी दिए। विद्युत् विकासको काम द्रुतरूपले अगाडि बढाउन सञ्जेन जलिवद्युत् कम्पनीले दुई स्थानमा रहने विद्युतगृहका लागि छुट्टाछुट्टै आयोजना प्रमुख तोकी कार्य अगाडि बढाइरहेको छ।
चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कूल ५७ दशमलव तीन मेगावाट विद्युत् उत्पादन हुने र सिम्बु तथा चिलिमे टारसमेतको दुई स्थानमा छुट्टाछुट्टै विद्युतगृह निर्माण भइसकेका छन्।
पानीको स्रोत एउटै हुँदा सिम्बुमा रहने माथिल्लो विद्युतगृह बन्द गर्नुपर्ने अवस्था आए पनि सोही पानीले तल्लो विद्युतगृह भने निर्वादरूपले सञ्चालन हुने जनाइएको छ। पानीको प्रवाह निरन्तर जारी राख्न इभिडी भल्वअर्थात् एर्नजी डिसेपेटीङ राख्ने तयारी भइरहेको छ। यो उपकरण जर्मनमा निर्माण भएको र जलविद्युतमा प्रयोगका लागि यो प्रविधि नेपालको पहिलो नमूना भएको आयोजनाले जनाएको छ।
तल्लो साङ्जेन जलविद्युत् आयोजनाको निर्माण ढिलाइ हुनुमा विगतका समयमा भएको पेट्रोलिम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड रोगको सङ्क्रमण एवं पटक पटक आयोजना प्रमुखको फेरबदलजस्ता कारण रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।