काठमाडौँ- दशैँको लागि मुस्ताङ हुँदै काठमाडौं ल्याइएको च्याङ्ग्राको मूल्य यो वर्ष दोब्बरले बढेको छ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि राखिएका छन्। सोमबारदेखि खरिदका लागि ग्राहक आएका थिए। तर, बुधबार भने बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नेको भीड लागेको छ।
काठमाडौंँदेखि काभ्रेसम्मका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा एक हजार २ सय पु¥याएका छन्। आजबाट भने अझै १०० रुपैयाँ मूल्य बढ्न सक्ने व्यापारीहरुको भनाइ छ। यो मूल्य गत वर्षको भन्दा दोब्बर बढी हो।
यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७५० देखि ८०० सम्ममा बिक्री गरेका थिए। यस वर्ष भने सुरुको मूल्य नै एक हजार २०० राखेका छन्।
रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ यस वर्ष मुस्ताङमा नै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताउँछन्। सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै गरेका उनले भने, ‘चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा ४० हजार तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो।’
च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको उनको भनाई छ। ‘सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको हो,’ उनले भने।
अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो १२ सयसम्ममा बिक्री गरेको बताए। मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको उनको भनाइ छ।
व्यापारीले सानो च्याङ्ग्रा प्रतिगोटा ३६ हजार र ठूलो च्याङ्ग्रा ४० हजारमा खरिद गरेर काठमाडौं ल्याएको दाबी गरेका छन्। च्याङ्ग्रा तयारी मासुको मूल्य भने दुई हजार ६ सय कायम गरिएको छ।
व्यापारी सुमन शाहीले गत वर्ष तयारी मासु एक हजार ७ मा बिक्री गरेको बताए। यस वर्ष किलोमै एक हजार १ सय बढी मूल्य तोकिएको छ।
बिक्री हुन छाडेपछि यस वर्ष व्यापारीले काठमाडौंमा भेडा धेरै ल्याएका छैनन्। भेडा पनि मुस्ताङमै प्रतिगोटा ३५ हजार पर्ने उनीहरुको भनाई छ। काठमाडौं उपत्यकामा भने व्यापारीले प्रतिकिलो एक हजार १ सयमा भेडा बिक्री गरिरहेका छन्।
च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा २५ हजार कर तिरेको र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई २५ हजार कर तिरेको खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।