सातदोबाटो– जिल्ला प्रशासन कार्यालय ललितपुरले गरेको बजार अनुगमनका क्रममा सोमबार सातदोबाटोस्थित सेल्स बेरीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा सातदोबाटस्थित सेल्सबेरीको आउटलेटलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।
चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने गरेको भन्ने गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन गरेको थियो। अनुगमनका क्रममा अनुगमनका क्रममा ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सेल्सबेरीलाई जरिवाना तिराइएको हो।
बस्नेत नेतृत्व टोलीले ललितपुरमा यही असोज ७ गतेदेखि पटकपटक बजार अनुगमन गरिरहेको छ। यसअघिका अनुगमनमा सो टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल १ लाख ३५ हजार ५०० तिराइसकेको बताएको छ।
अनुगमनमा ललितपुरका सहायक प्रजिअसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।