सुर्खेत– आन्तरिक राजस्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा मारेको छ।
कर छलेको सामान बिक्री गरिरहेको सूचनाका आधारमा कार्यालयले मंगलबार साँझ सप्लायर्समा छापा मारेको हो। कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपरपावर र १४८ प्याकेट बल्ब छाप भएको सुर्ती बरामद गरेको कर अधिकृत खडानन्द खत्रीले जानकारी दिए।
कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याइएको ४०९ प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरिएको कार्यालयका कर अधिकृत खत्रीले बताए। ‘विशेष सूचनाका आधारमा सप्लायर्समा छापा मार्दा हामीले राजस्वको स्टिकर टाँसेको भेटेनौं,’ कर अधिकृत खत्रीले भने, ‘नियन्त्रणमा लिइएको सामान आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउँछौं।’
थप छानबिनका लागि सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई (आज) बुधबार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए।
उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा मारेको थियो। सो अवसरमा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए।
राजस्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ।
आन्तरिक राजस्व कार्यालयका अनुसार नेपाल प्रहरीको सहयोगमा गत आर्थिक वर्षमा अवैध सुर्ती जफतबाट झण्डै ६० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।