काठमाडौं- शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मि.) आरोहणका लागि आकर्षण देखिएको छ। पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ।
सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मि) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ। दुवै हिमालबाट हालसम्म ३१ लाख ४६ हजार रुपैयाँ सलामी दस्तुर संकलन भएको छ।
शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ। यो याममा उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन्। कोभिड-१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन्।
अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ। अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।