काठमाडौं- सरकारले कोरोना महामारीको जोखिमलाई कम गर्न, संक्रमणलाई नियन्त्रण र थप फैलिन नदिन गरेको निषेधाज्ञाका कारण फिल्म हलहरु खुल्न पाएका छैनन्। गत वर्ष चैतमा भएको लकडाउनपछि सिनेमा हलहरु सञ्चालनमा आएका छैनन्। बीचमा केही समयलाई हल सञ्चालनको अनुमति दिइए पनि संक्रमण बढेपछि हलहरु बन्द गरिएको थियो।
बिहीबार (भोलि)बाट भने फिल्म हल सञ्चालन गर्न पाइने भएको छ। बुधबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १७ (भोलि)बाट स्वास्थ्य मापदण्ड पालना गरी फिल्म हल सञ्चालन गर्न दिने निर्णय गरेको छ।
तर, हल सञ्चालकहरु भने सञ्चालनको अनुमति पाए पनि के प्रदर्शन गर्ने भन्ने अन्योलमा छन्। क्यूएस फिल्म हलका सञ्चालक सुमित मैनाली प्रसाशनको निर्णय स्वागतयोग्य भए पनि हलमा प्रदर्शन गर्ने फिल्म नै नभएको बताउँछन्। ‘हामीले लामो समयदेखि नोक्सान भोगेका छौं,’ मैनाली भन्छन्, ‘प्रशासनको निर्णय स्वागतयोग्य छ। तर, हामी हल खोलेर के प्रदर्शन गर्ने? दर्शकलाई के देखाउने?’
नेपालमा बनेका थुप्रै फिल्महरु प्रदर्शन हुन बाँकी छन्। ४० भन्दा धेरै फिल्म प्रदर्शन कुरेर बसेका छन्। तर, प्रदर्शन नभएका अधिकांश फिल्मका निर्माता पक्षले भने कोरोनापछि फिल्म हलहरु खोल्नेबित्तिकै आफ्नो फिल्म प्रदर्शन गर्न मानेका छैनन्। दुई वर्षदेखि ठप्प भएको यो क्षेत्रमा आफ्नो फिल्मको लगानी नउठ्नेसँगै भोलि फेरि फिल्म हल बन्द भएमा के गर्ने भन्ने प्रश्न उनीहरुको छ। कतिपय निर्माताले त पहिलो लकडाउनपछि केही दिनलाई सिनेमा हल खुल्दा आफ्नो फिल्म परिस्थिति पूर्णरुपमा सहज नभएसम्म प्रदर्शन नगर्ने बताएका थिए।
यी सबैबाट गुज्रिरहेको फिल्म हलसँग पनि अन्य विकल्प नभएको बताउँछन् मैनाली। उनी भन्छन्, ‘हाम्रो हलले मात्रै सात लाखको नोक्सान भोगेको छ। भारतीय वा विदेशी फिल्म ल्याएर प्रदर्शन गर्दा अर्को खर्च थपिन्छ। नेपाली फिल्म प्रदर्शन गर्न चाहँदैनन्। खोल्ने अनुमति पाए पनि अब के प्रदर्शन गर्ने अन्योल सिर्जना भएको छ।’
क्यूएफएक्सका रोसन अफिगा फिल्म हल खोल्ने अनुमति पाए पनि हलमा फिल्म प्रदर्शनमा आउन केही समय लाग्ने बताउँछन्। कोरोना महामारी र पटक-पटकको लकडाउनका कारण विदेशबाट फिल्म ल्याएर प्रदर्शन गर्ने वितरकसँगै हल सञ्चालकहरु सम्पर्कमा छैनन्। यस कारण पनि प्रशासनको निर्णयले मात्रै हल नखुल्ने उनी बताउँछन्।
‘अब विस्तारै वितरकहरुले विदेशबाट फिल्म ल्याएर प्रदर्शन गर्नुहुन्छ होला,’ उनी भन्छन्, ‘फिल्म भए भोलि न प्रदर्शन सुरु गर्न सकिन्छ। तर, अहिले हामीसँग फिल्म नै छैन। बाहिरबाट ल्याउने फिल्ममा पनि वितरकले दर्शक नआउने डरले लगानी नगरेमा हामी अझै खाली बस्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।