ताप्लेजुङ– सुकेटार विमानस्थलमा आज (सोमबार)देखि नियमित उडान सुरु भएको छ। सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमले उडान सुरु गरेको हो। विगत दुई महिनादेखि कोभिडका कारण नियमित उडान बन्द भएको थियो।
सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ।
सोमबार बिहान काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए। अवतरणको प्रयास गर्दा पनि मौसमका कारण अवतरण हुन नसकेर विमान काठमाडौं नै फर्किएको जनाइएको छ।
तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म ७ हजार ५० रुपैयाँ र ताप्लेजुङदेखि काठमाडौं ७ हजार १९० रुपैयाँ भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ।
निगमले ताप्लेजुङदेखि प्रदेश १ को राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।