घरमा खान लाउन पनि नपुग्ने आर्थिक स्थितिले उनलाई राजधानी डोर्यायो। सिरहाका ५५ वर्षे राजेन्द्र राम पैसा कमाउन भनेर राजधानी छिरेकै ३५ वर्ष भयो। पिताले सिकाएका थिए उनलाई जुत्ता सिलाउन। पिताले नै सिकाएको इलम सुरु गरे उनले। जुन उमेरले नेटो काट्न लाग्दासमेत जारी छ।
दिनमा ५ सयदेखि २ हजारसम्म कमाउँछन् उनी । बिहान ७ बजेतिर उनी बागबजार डेराबाट भृकुटीमण्डप पुग्छन्। चोकनजिकै ग्राहक पर्खन्छन्। ११ बजेसम्म त्यहाँ बस्छन्। त्यसपछि खाना खान डेरा जान्छन्। डेरामा उनी ५ जना साथीसँग बस्छन्। सबै मिलेर खाना पकाउँछन्। खाना खाएर एकछिन आराम गरेपछि पुनः काममा फर्किन्छन्। जुत्ता, छाता सिलाउने, पालिस लगाउने काम गर्छन्। कतिपय ग्राहकले जुत्ता सिलाएको श्रमअनुरुप पैसा नदिँदा खिन्न हुन्छन् उनी। ‘हामीले भने जति कसले दिन्छ र? सबैले घटाएरै दिन खोज्छन्। कतिपयले त लगानी भएअनुरुप पनि दिँदैनन्, श्रम त त्यत्तिकै खेर जान्छ,’ उनले भने।
पहिले–पहिले उनी कालीमाटीमा बसेर जुत्ता सिलाउने गर्थे तर त्यहाँ जुत्ता सिलाउने धेरै साथी भएपछि कमाई कम भयो। त्यसपछि उनले अड्डा सारे, भृकुटीमण्डपमा। मौसमअनुसार साँझ ६–७ बजेसम्मै बस्छन् उनी। यहाँ पनि पहिलोजस्तो कमाई हुन छाडेको छ। गुजारा कसरी गर्ने भन्ने पिरलो छ उनको।
घरमा ४ महिना पनि नपुग्ने खेतीपाती छ। खान, लाउनै नपुग्ने परिस्थिति त छैन, तर सोंचेअनुरुपको कमाई नहुँदा जेनतेन निर्वाहसम्म चलेको छ उनको। धेरै लगानी गर्नु नपर्ने र भाडा पनि तिर्नु नपर्नेे भएकाले पनि उनले पिताले सिकाएकै इलमबाहेक अरु केही गर्नेबारे सोंचेनन्।
करिव ५० हजार जति ऋण थियो उनको, पहिले कमाई राम्रो हुँदा यही काम गरेर त्यो ऋण तिरे। बुढा आमा–बुवा, श्रीमती, छोरा–छोरी, बुहारी र आफू गरी ७ जनाको परिवार पालेका छन् उनले। दुई छोरा–छोेरी पढाए। आफ्नै कमाईले छोराको बिहे गरिदिए। अब छोरीको बिहेको लागी खर्च जुटाउन लागेका छन्। छोराले पनि कमाउन थालेपछि हिजोआज केही सजिलो भएको छ उनलाई।
‘थोरै लगानी हुने र धेरै कमाउन नसके पनि जीवन धान्न सकिने भएकाले जुत्ता सिलाउनेको संख्या बढेको छ। त्यसैले हिजोआज व्यापार कम भएको छ। अहिले त हरेक चोक चोकमा २–४ जनै जुत्ता सिलाउने भेटिन्छन्,’ उनले भने। ५ देखि २५ हजार लगानी गर्यो भने यो पेशा सञ्चालन गर्न सकिने उनले बताए। ५ हजारले काम थाल्नसम्म सकिन्छ भने २५ हजार लगानी गर्न सके आवश्यक धेरै सामान जुटाउन सकिने उनले बताए।
धुलो–घामका कारण काम गर्न गाह्रो भएको उनले बताए । ‘त्यसमाथि एकै ठाउँमा बसिरहँदा खुट्टा धेरै दुख्छ । धेरै समयपछि उभिन खोज्दा खुट्टाले टेक्नै गाह्रो हुन्छ। धुलो–धुँवाले हिजो–आज प्रायः रुघाखोकीले सताउने गरेको उनले बताए । ‘धेरै दुःख छ हजुर यो काममा। कहिलेकाही एक्कासी ठूलो पानी पर्छ, सामान बटुल्दा भाग्ने समय नै हुँदैन। ओत लाग्ने ठाउँसम्म पुग्दा सबै भिजिन्छ। भिजेर बिरामी परिन्छ, ४–५ दिनसम्म काममै जान पाईदैन,’ उनले भने।
ग्राहकहरुले ‘भैया’ भनेर सम्बोधन गरेको उनलाई पटक्कै मन पर्दैन। त्यसमाथि काम गरिदिएपछि पैसा दिन निकै किचकिच गर्छन्। त्यस्तै गुनासो छ बाराका ४० वर्षे बलराम चौधरीको। उनी भने मानिसका घरघर गएर जुत्ता सिलाउने, पालिस गर्ने काम गर्छन्। उनलाई एकै ठाउँ बसेर काम गर्न मन लाग्दैन। त्यसैले डुलेर काम गर्छन्। उनी कालीमाटीमा डेरा गरी बस्छन्। कीर्तिपुर, बल्खु, कुलेश्वरतिर डुलेर काम गर्छन् । दिनमा ५ सयदेखि एक हजार रुपैयाँसम्म कमाउँछन्।
उनले यसरी डुलीडुली काम गर्न थालेको १५ वर्ष भइसक्यो। खान, लाउन र छोराछोरी पढाउन पुगेको छ। पाँच जनाको परिवार पालेका छन् उनले। ‘सुरुसुरुमा त हिँड्न निकै गाह्रो लाग्थ्यो, अहिले त बानी परिसक्यो,’ उनले भने। बिहानै ७ बजे डेराबाट निस्कन्छन् उनी। बिहानको खाना बाहिरै खान्छन्। बेलुकाको खाना भने आफै पकाएर खान्छन्। ‘गाह्रो त छ तर मन लगाएर ग¥यो धेरै अप्ठ्यारो लाग्दैन,’ उनले भने, ‘एकै ठाउँमा बसेर गर्दा कहिलेकाही मान्छे नै आउदैनन्। त्यसैले डुलेर काम गर्छु। दिनदिनै बेग्ला–बेग्लै ठाउँमा जान्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।