१४ औं महाधिवेशनको तयारीमा लागिरहेको नेपाली कांग्रेसको नेतृत्वमा पुग्न आकांक्षा राख्ने केही नेताले महाधिवेशनकेन्द्रित गतिविधि नै सुरु गरेका छन्। त्यसमध्येकाकांग्रेस उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारका रुपमा सक्रिय भएका छन्। लामो समयदेखि आफूले सघाउँदै आएका वर्तमान सभापति शेरबहादुर देउवाले सहयोग गर्ने उनको अपेक्षा पूरा हुने संकेत भने देखिदैन। तर, देउवा समूहबाट बाहिर निस्केर उनी आफूलाई उम्मेदवारको रुपमा उभ्याउने प्रयास गरिरहेका छन्। निधिसँग उनले कांग्रेसको नेतृत्व दाबी गर्नुका आधार, रणनीति र बनाउन खोजिरहेको समीकरणका विषयमा नेपाल लाइभका लागि डिबी खड्का र लिलु डुम्रेले गरेको संवाद :
- तपाईंले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताइ सक्नुभएको छ। तपाईं कांग्रेसको सभापति बन्नुपर्ने आधार चाहिँ के के हुन्?
म सभापति बन्नका लागि कानुनी आधार के हो भने कांग्रेसका महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्ने र मत हाल्ने अधिकार हुन्छ। कांग्रेसको विधान अनुसार महाधिवेशन प्रतिनिधिले जुनसुकै पदमा उम्मेदवारी दिन पाउँछन्। महाधिवेशन प्रतिनिधि नै सभापति, उपसभापति, महामन्त्रीसहित अरु पदमा उठ्ने हो।
जहाँसम्म म सभापतिमा उठ्नुको राजनीतिक आधारको कुरा छ, कांग्रेसमा वर्षौंदेखि लागेको छु। पार्टीले दिएका सबै जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छु। नेपाली कांग्रेसको केन्द्रीय सदस्यदेखि लिएर महामन्त्री हुँदै उपसभापति भएर अहिले काम गरिरहेको छु। कांग्रेसले मलाई सरकारमा पठाउँदा मन्त्रालयका विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकै छु।
१४ औं महाधिवेशन आइरहेको छ। पार्टीमा सभापति शेरबहादुरजी र वरिष्ठ नेता रामचन्द्र पौडेलजी पछिको जिम्मेवार पदाधिकारी म आफूलाई ठान्छु। गत महाधिवेशनमा देउवा, पौडेल र कृष्ण सिटौलाजीले प्रतिस्पर्धा गर्नुभयो। १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नका लागि म राजनीतिक र कानूनी दृष्टिकोणले योग्य छु। यो मेरो अधिकार पनि हो। पार्टी सभापति देउवाजीले पनि भनिसक्नु भयाे ‘तपाईको अधिकार छ, लड्नुस्।’
- लामो समयसम्म तपाईंले सभापति देउवालाई सघाउँदै आउनुभएको छ। १४ औं महाधिवेशनमा तपाईंलाई सघाउने उहाँले बचन पनि दिनुभएको थियो रे। १३ औं महाधिवेशनमा तपाईंले पाएको बचन अनुसार कुरा गर्दा सभापतिले सुनेको नसुन्यै गरिदिनुभयो भन्ने छ। त्यस्तै हो?
त्यस्तै–त्यस्तै हो। त्यो उहाँको कुरा हो। १३ औं महाधिवेशनमा मैले उहाँलाई भनेकै थिएँ, ‘यसपाली तपाईंलाई सघाउँछु।’ त्यसअघि पनि मैले सघाएकै हुँ। गिरिजाप्रसाद कोइरालासँग पराजित हुनुभयो। शुसिल कोइरालासँग पनि पराजित हुनुभयो। त्यो बेला पनि मेरो सहयोग र समर्थन उहाँलाई थियो।
१३ औं महाधिवेशनमा उहाँले सफलता पाउने सम्भावना थियो। तर, देउवा टिमकै कारणले मात्रै जित्ने कुरा थिएन। पूर्व कांग्रेस (प्रजातान्त्रिक) समूहको बलियो आधार त थियो, त्यतिले मात्रै जित्ने अवस्था देउवालाई थिएन। सभापतिमा जित्नका लागि अरु समूहलाई पनि साथ लिन सकिएन भने विजयी हुन सकिँदैन। त्यो समूहका साथीहरुको समर्थन प्राप्त गर्न मैले पनि सुझाव दिएँ। उहाँ आफैले पनि प्रयास गर्नुभयो। यस्तो कुरामा उहाँ आफैं माहिर पनि हुनुहुन्छ।
म महामन्त्रीमा नलडेर अर्जुननरसिंह केसीलाई त्यो पद दिएँ। मैले चाहेर अरुलाई दिन्न भनेको भए उहाँले नाइँ भन्न सक्नुहुने थिएन। आफ्नै समूहबाट शेरबहादुरजीले जित्न गाह्रो हुने थियो। मतदाता बढाउनका लागि अर्को समूहका साथीहरुलाई सम्मानपूर्वक ठाउँ दिएपछि नै साथ मिल्छ। केसीलाई महामन्त्रीमा उठाउन मैले त्याग पनि गरें, सहयोग पनि गरें।
गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाको देहावसानपछि त्यो समूहका साथीहरु हाम्रो पक्षमा आए। उहाँहरुको देहावसानपछि कोइराला समूह लगभग चार समूहमा विभाजित भइसकेको थियो। केही रामचन्द्र समूहमा आउनुभयो। केही सिटौला समूहमा आउनुभयो। केही चाहिँ कोइराला परिवारसँगै रहनुभयो। तिनै समूह मिलेर रामचन्द्रजीलाई साथ दिनुभयो। चौथो समूह भने देउवाजीतिर आयो। त्यो चौथो समूहलाई पदीय जिम्मेवारी दिएर चुनावमा हामी लड्यौं।
त्यो बेला मेरो सोच के थियो भने पदाधिकारीमा हारे पनि शेरबहादुर देउवा जित्नुपर्छ भन्ने थियो। त्यो बेलासम्म उहाँ सभापति बन्न पनि सक्नुभएको थिएन। उहाँले जित्नुभयो भने हाम्रो पनि भ्याल्यू कांग्रेसमा रहन्छ भन्ने थियो।
शेरबहादुुरजीसँग मेरो कांग्रेसमा लामो राजनीतिक जीवन छ। जब कांग्रेस (प्रजातान्त्रिक) बन्यो, देउवाजीसँग व्यक्तिगत र राजनीतिक संगत एउटै ठाउँमा भयो। १३ औं महाधिवेशनमा तपाईं जित्नुभयो भने उपसभापति मलाई बनाइदिनु होला भनेको थिएँ। सभापतिले उपसभापति मनोनित गर्ने व्यवस्था विधानमा थियो। सुझाव, शर्त जे भने पनि मेरो त्यही थियो। अहिले म सहयोग गर्छु, १४ औंमा मलाई सहयोग गर्नुहोला भन्दा उहाँले हुन्छ भन्नुभएको थियो।
उहाँलाई अचानक म सभापतिमा उठ्छु भनेको होइन। १४ औं महाधिवेशनमा उठ्ने कुरा उहाँको घरमै गएर भनें। त्यो भन्दा अघि केन्द्रीय सदस्य र पदाधिकारीसँग सरसल्लाह पनि गरेको थिएँ। विना जानकारी सोझै सभापतिकहाँ गएर भन्यो भन्ने नहोस् भनेर नै अरुसँग पनि कुरा गरिसकेको थिएँ।
उहाँले मेरो उम्मेदवारी दिने कुरालाई सोच्नुहोला भन्ने लागेको थियो। मसँग केही पनि छलफल नगरीकन आफ्नो पक्षका केन्द्रीय सदस्यहरु बोलाउनुभयो। सातै प्रदेशका आफ्नो पक्षका केन्द्रीय सदस्यलाई बोलाएर म सभापतिमा लड्छु भन्नुभयो। केन्द्रीय सदस्यहरुसँग ‘तपाईंले मलाई साथ दिनुपर्यो, म लड्छु’ भन्नुभयो। उहाँले भनेपछि मैले उहाँलाई भने– म पनि लड्छु। डेढ वर्षदेखि तपाईंलाई भन्दै आइरहेको छु। तपाईंकै समर्थनमा। ‘तपाईंको अधिकार छ, लड्नुस्’ भनेर उहाँले जवाफ दिनुभयो। ‘तपाईंको साथ समर्थनले लड्ने हो’, मैले उहाँसँग भनें।
मेरो उम्मेदवारीलाई समर्थन गर्न उहाँ तयार हुनुभएको छैन। मलाई विश्वास छ, साउन महिनाको अन्तिमसम्ममा मलाई सहयोग गर्ने सोंच बनाउनु होला कि! उहाँलाई ज्योतिषले प्रधानमन्त्री बन्ने भनेका पनि छन्। तपाई प्रधानमन्त्री बन्नुस भनेको छु। अहिले पनि सहयोग गरेको छु, पछि पनि गर्छु भनेको छु। मलाई प्रधानमन्त्री बन्ने हतार नभएको उहाँलाई भनेको छु। सर्वोच्च पदमा पुग्ने सबैको चाहना हुन्छ नै। तर, मलाई अहिले हतार छैन।
मेरो चाहना भनेकै आगामी निर्वाचनमा रुख छापलाई बहुमत पुर्याउने हो। १४ औं महाधिवेशन त्यसकै लागि तयार हुनुपर्छ। जनता र मतदाताले अहिले नयाँ अनुहार खोजेको छ। देशभरका कार्यकर्ताले परिवर्तनको आशा गरेका छन्। किन साथ समर्थन दिनुभएन, त्यो उहाँको कुरा हो।
- तपाईले उहाँसँगको लामो संगतमा त्याग पनि गर्नुभएको छ। लामो समयसम्म उहाँलाई सहयोग गरेको तपाईलाई आसन्न महाधिवेशनमा एकपटक सहयोग गर्न पनि देउवा तयार हुनुभएन? उहाँ आफैं अघि बढ्न खोज्नुभएको आफ्नै कारणले हो कि अरु पनि केही कारक छन्?
त्यो मलाई थाहा छैन। त्यो विषयमा म प्रवेश गर्दिनँ। म सभापतिमा उठ्न चाहन्छु। देउवाको मात्रै होइन, मैले रामचन्द्र, शशांक, शेखर, प्रकाशमानजी सबैको समर्थन खोजेको छु।
- तपाईंले उम्मेदवारी दिने बताइसकेपछि विशेषगरी इतर समूहका नेताहसँग संवाद गरिरहनुभएको छ। संस्थापनले साथ दिने अपेक्षा कम देखेर हो?
सभापतिमा विजयी भएका नेताहरुको सुक्ष्म अध्ययन गर्दा के पाउनुहुन्छ भने आफ्नै समूहको बलमा मात्रै अहिलेसम्म कसैले जितेको छैन। वीपी कोइरालाको पालादेखि नै अर्को समूहका साथीको सहयोग लिनै पर्ने रहेछ भन्ने देखिन्छ। वीपी कोइरालाको पालामा पार्टी सभापतिको मात्रै चुनाव हुने थियो। निर्वाचित पार्टी सभापतिले अरु सबै केन्द्रीय सदस्यको मनोनयन गर्ने विधान थियो।
वीपी कोइरालाको समयमा उहाँसहित चार जना नेता शीर्ष स्थानमा हुनुहुन्थ्यो। बीपी, गणेशमान, सुर्वण शमसेर र सूर्यप्रसाद उपाध्याय चार नेता शीर्ष स्थानमा हुनुहुन्थ्यो। मातृकाप्रसाद कोइराला राजासँग मिलिसकेपछि अलग भइसक्नुभएको थियो। त्यो बेला पनि आफ्नै नेता कार्यकर्ताको साथले वीपीले पनि जित्नुभएको थिएन।
गिरीजाप्रसादले जित्दा पनि कृष्णप्रसाद भट्टराईको साथ नलिइकन जित्नुभएन। शुसिल कोइरालाले पनि इतर समूहको साथ नलिइकन सभापतिमा निर्वाचित हुन सक्नुभएन। बलबहादुर केसी, प्रकाशमान सिंह, मिनेन्द्र रिजाल लगायतका नेता त देउवा समूहमा हुनुहुन्थ्यो। अर्को समूहका साथीहरुको साथ लिएर नै त जित्नुभयो। शेरबहादुर देउवाले जित्दा पनि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, श्याम घिमिरे लगायतका अर्को समूहका साथीहरु आएर नै जित्नुभयो।
शेरबहादुर देउवाजीले मेरो उम्मेदवारीमा समर्थन गर्नुभएको भए पनि मैले अर्को समूहको साथ लिनैपर्ने थियो। दोस्रो कुरा के भने कांग्रेस भित्रको आन्तरिक समीकरण पनि हुन्छ। सबै समूहलाई समेटेर हिड्नु पर्यो नि। गुट गुट भन्दै नेताहरु हिँड्छन् भन्ने आरोप छ। त्यसैले त गुट भन्दा बाहिरका साथीहरुसँग पनि कुरा गर्नपर्यो। सहयोग लिनपर्यो।
शेरबहादुरजीले आफ्नै समूहबाट मात्रै जित्नुभएन भने म चाहिं जित्छु भनी अपरिपक्व विश्लेषण चाहिँ म गर्दिनँ। मैले साथ दिनेवित्तिकै पनि शेरबहादुरजीले जित्न सक्नुहुन्न। अर्को समूहको समर्थन त लिनै पर्ने हुन्छ। यो चुनावी संस्कार हो। चुनावी अभ्यास पनि हो। चुनावी अभ्यास र संस्कार के हो भने एउटै लाइनबाट जित्न सकिँदैन। लोकतन्त्रको सुन्दर पक्ष पनि यही हो। जनताको शासन छ कि छैन भनि खोज्न त्यहाँ निर्वाचन शासन प्रणाली खोजिएको हुन्छ।
- अस्ति मात्रै तपाईंले नेपाली कांग्रेसका संस्थापक नेताहरुका छोराहरु शशांक कोइराला, प्रकाशमान सिंहसँग छलफल गर्नुभयो। संस्थापक नेताहरुका छोराहरु आगामी महाधिवेशनमा एकसाथ उभिने संकेतका रुपमा बुझ्ने हो?
तपाईंको शुभेच्छा राम्रो हो। हामीहरु नेपाली कांग्रेसमा लामो समयदेखि काम गर्दै आएका व्यक्ति हौं। शशांक कोइराला निर्वाचित महामन्त्री हो। प्रकाशमान सिंह निर्वाचित पूर्वमहामन्त्री हो। त्यसकारणले हामीहरु संस्थापकका छोरा भएकोमा प्लस प्वाइन्ट छ। त्यो भावना एकीकृत भएको छ। हामीहरु तीनजनाले पार्टीका बारेमा देशका बारेमा साझा धारणा बनाएर पार्टीका अरु नेता र साथीहरुसँग प्रस्तुत हुने र साझा धारणा बनाएर देशको राजनीतिमा कांग्रेसलाई डोर्याउने न्युनतम समझदारी गरेका छौं। निरन्तर छलफल गरिरहने सहमति पनि भएको छ।
- आगामी महाधिवेशनसम्म कि, दीर्घकालसम्म रहला यो भावना ?
महाधिवेशनसम्म प्राथमिकता नै दिएर बसिन्छ। तर, यो सम्बन्ध दीर्घकालीन हो। तीनजनामध्ये जो सभापति बनेपनि, जसले जितेपनि, हारेपनि, हामी तीनजना बसेर नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने र लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा लागिरहन्छौं।
- शेखर कोइराला र सुजाता कोइराला त देखिनुभएन?
शेखर कोइरालासँग त्यसअघि नै कुरा भइसकेको छ। मैले उहाँलाई तपाईंकै घरमा आएर कुरा गर्छु भनेको थिएँ, उहाँ आफैं आउनुभयो। १४ औं महाधिवेशनमा उम्मेदवारीका विषयमा कुरा भएको छ। आगामी दिनमा पनि कुरा हुन्छ।
- मैले सभापति जितें भने कांग्रेस बलियो हुन्छ भनेर तपाईंले अन्तर्वार्ताको सुरुमै भन्नुभएको थियो। बलियो हुने ठ्याक्कै आधार के–के हुन्?
नेपालमा लामो समय सशस्त्र विद्रोह भएको थियो। नेपाली कांग्रेसका धेरै कार्यकर्ता मारिए। त्यो अवस्थालाई नेपाली कांग्रेसले सुझवुझका साथ दूरदर्शी भएर अगुवाइ गर्यो। शान्ति प्रक्रिया सफल भयो, संविधान निर्माण भयो। माओवादीहरुसँग भएका हतियारधारी लडाकु व्यवस्थापन गर्ने र संविधानसभाको निर्वाचन गरेर नयाँ प्रणालीको निर्माण गर्ने महत्वपूर्ण काममा कांग्रेसले अगुवाइ गर्यो। पहिलो संविधानसभामा कांग्रेस अल्पमतमा थियो। संविधान बनेन। कहीँ देश नै फेल हुने हो कि भन्ने चिन्ता थियो। बडो सावधानीपूर्वक दोस्रो संविधानसभाको चुनाव भयो।
त्यतिबेला कांग्रेसले पहिलो भन्दा राम्रो मत हासिल गर्यो। तर, त्यो बेला उग्र कम्युनष्टि, कम्युनिष्ट र परम्परावादी शक्तिहरु पनि त्यहाँ थिए। क्षेत्रीयतावादी शक्ति पनि थिए। त्यस्तो सयमा हामीले संविधान जारी गर्न सफल भयौं। लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसको संविधानसभामा बहुमत थिएन तर, कांग्रेसको दूरदर्शिता र सीपका कारण संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्ने संविधान जारी ग¥यौं। हामीले संघीय र बहुलवादको प्रणाली स्थापित ग¥यौं। कम्युनिष्टहरु बहुलवाद हाम्रो शब्दकोषमा छैन भनिरहेका थिए। उनीहरु सुन्न चाहँदैनथे। संसदीय प्रणालीको नामै सुन्न नचाहनेलाई संसदमा ल्यायौं।
हामीले कम्युनिष्ट प्रणाली बन्न दिएनौं, लोकतान्त्रिक प्रणाली बनायौं। तानाशाही, निर्दलीय र एकदलीय बनाउन दिएनौं तर, त्यसपछि भएको निर्वाचनमा रुखछाप पराजित भयो। १६५ मा जम्मा २३ ठाउँमा मात्रै जित्यौं र समानुपातिक जोड्दा जम्मा ६३ जना सांसद भयौं।
प्रतिनिधि सभामा दुईटा कम्युनिष्ट पार्टी मिलेर चुनाव लडे। एकता गरे। जेट विमान दुईजना पाइलटले चलाउँछौं भने। जेटमा दुईटा पाइलट भएपनि दुवै एउटै तहका हुन्छन् र? भनेर सोधेको थिएँ। प्रचण्डजीलाई सोधें– तपाईंहरु मध्ये मुख्य पाइलट को हो र सहयाक पाइलट को हो? दुवैले एकसाथ चलाए त दुर्घटना होला नि? दुईटैले चलाउन खोजे। दुर्घटना भयो।
गत निर्वाचनमा कम्युनिष्टले जिते। केपी शर्मा ओलीजी प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्रीले देशको होइन, सुरुमा पार्टी एकीकरणको लागि समय खर्च गर्नुभयो। पछिल्लो डेढ वर्ष छुट्टिनमा खर्च भयो। त्यसले नेपालका सवै क्षेत्र अस्तव्यस्त र तहसनहस भएका छन्। यसको एकमात्र कारण हो रुख छापले बहुमत नपाउनु। हामी पनि जिम्मेवार छौं।
तानाशाही संविधान नबनोस्, निर्दलीय र एकदलीय नबनोस् भनेर त्यतातर्फ लाग्यौं। निर्वाचनकेन्द्रित भएनौं, त्यही भएर चुनाव हा¥यौं। अब फेरि जनता कम्युनिष्टहरुले शासन प्रणाली विगारे, जनताको हितमा काम गरेनन्, कांग्रेस नै ठीक थियो भन्न थालेका छन्। त्यसैले अब यो अवसरलाई उपयोग गर्दै कांग्रेसलाई बलियो बनाउँछौं। जसले यो प्रणाली बनायो, त्यसको यसप्रति माया बढी हुन्छ। त्यो हामी अब प्रमाणित गर्छौं।
- अर्को पार्टीले राम्रो नगर्दाको विकल्प कांग्रेस बनिरहेकै छ। झन् राम्रो गर्ने पार्टी कसरी बनाउनुहुन्छ?
शासन प्रणाली सञ्चालनको पहिलो कुरा के हुन्छ भने सैद्धान्तिक र राजनीतिक आधार हुन्छ। भोट माग्न जाँदा जनताले राजनीतिक पहिचान र अजेन्डा हेर्छ। त्यसप्रति पार्टी कत्तिको प्रतिबद्ध छ भन्ने हुन्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद अपरिवर्तनीय आधार हो। यो प्रतिबद्धता हामीले जनतासामु भरपर्दो रुपमा प्रस्तुत गर्नुपर्नेछ। अहिले हामीले जुन प्रणाली ल्याएका छौं, जुन संविधान जारी गरेका छौं, त्यसको आधारभूत तत्व के हो?
हामीले गणतन्त्र ल्यायौं, समावेशिता ल्यायौं, संघीयता ल्यायौं, मिश्रित निर्वाचन प्रणाली र धर्म निरेपक्षता ल्यायौं। यसको आधारमा प्रणाली निर्माण भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। यी कांग्रेसको नेतृत्वमा आएका हुन्। अहिंसा र शान्तिको बाटोबाट हामी परिवर्तन गर्छौं। यसैका माध्यमबाट शिक्षा नीति, विदेश नीति, अर्थनीति सुव्यवस्थित गर्छौं र किसान मजदुरको सहभागितालाई सुनिश्चित गर्छौं। यसलाई जनतामाझ लिएर जान्छौं।
- नेपाली कांग्रेस सुरुमा उम्रिदै गर्दा यसको मूलजरो तराइ मधेशमा थियो। त्यहीँ नेपाली कांग्रेसको जरो अहिले बढी कमजोर भएको देखिन्छ। त्यहाँ कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काउन तपाईंको कस्तो भूमिका रहन्छ?
तपाईंले ठीक भन्नुभयो। इमान्दार भएर भन्ने हो भने नेपालमा जति क्रान्ति भए। परिवर्तन भए। सवैखाले आन्दोलन र क्रान्तिको थलो मधेश रहेको छ। राजधानी भन्दा पहिले मधेशमा त्यसको विजारोपण हुन्छ। पहाडमा यातायातको असुविधाका कारण पहाडका मान्छेहरुले पनि मधेश पुगेर, त्यहीँ बसोबास गरेर संगठन गरेका हुन्।
राजनीतिक परिवर्तन, आर्थिक विकासको बलियो आधार मधेश हो। किनभने विपी कोइराला विराटनगरको हुनुहुन्थ्यो, किसुनजीले पनि काठमाडौं हारेपछि वीरगञ्ज गएर चुनाव जित्नुभयो। यस्तो अवस्थामा रहेको नेपाली कांग्रेसको जग क्षेत्रीय राजनीतिका कारण हल्लियो। यो पनि लोकतन्त्रकै एउटा उपज हो। अन्य देशमा पनि हुन्छ।
मधेशका जनतामा अधिकार र समानता भएन भन्ने नारा लागेपछि मधेशकेन्द्रीत पार्टीहरु खुले। नेपाली कांग्रेसले स्वीकार्नुपर्छ– मधेशका मुद्दालाई जुन रुपमा हामीले ग्रहण गर्नुपथ्र्यो, प्रस्तुत हुनुपथ्र्यो, सकेनौं। त्यहाँ कांग्रेसको सट्टा मधेशवादी दल अगाडि आए। त्यहाँ जनता स्वभाविक रुपमा लोकतन्त्रवादी थिए, मधेशवादी दल आएपछि त्यही भोट बाँडियो।
अब मधेशी जनताले कुरा बुझ्न थालेका छन्। मधेशका नाममा राजनीतिक दल खोलेर हामीलाई भावनात्मक रुपमा ब्ल्याकमेलिङ गरिएको भन्ने थाहा पाउन थालेका छन्। भावनालाई दुरुपयोग भएको बुझ्न थालेका छन्।
नेपाली कांग्रेसले पनि बुझ्नुपर्छ। यो पार्टी भनेको हिमाल पहाड र तराई सवैतिर बस्ने जनताको पार्टी हो। कांग्रेसले हिमाली भेगका जनजाति, मध्यपहाडमा बस्ने जनजाति र मधेशमा बस्ने समुदायको हितमा काम गर्नुपर्दछ। त्यो म गर्छु।
नेपाल विविधताले भरिएको देश हो। जातीय, भाषिक, साम्प्रदायिक, मौसमको विविधता छ। सवै विविधताको प्रतिनिधित्व जबसम्म हुँदैन, तबसम्म द्वन्द्वको समाधान हुँदैन। शान्तिपूर्ण शासन चल्दैन। द्वन्द्वको समाधानका लागि एकमात्र उपाय हो, सवै विविधता पहिचान गरेर शक्तिको बाँडफाँड हुनुपर्दछ।
विविधता पहिचान गर्नुपर्छ, पहिचानपछि प्रतिनिधित्व सुनिश्चित गराउनुपर्छ। मुख्यगरी राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा उनीहरुको प्रतिनिधित्व गराउनुपर्छ। त्यसपछि यो प्रणालीको मालिक हौं, संविधानका मालिक हौं भन्ने महशुस हुन्छ। यो कुरालाई ध्यानमा राखेर आफ्नो आगामी कदम अघि बढाउनुपर्छ। सबै विविधता अटाउने पार्टीका रुपमा फेरि स्थापित गर्न पार्टीको नेतृत्व दाबी गरिरहेका छौं।
- शेरबहादुर देउवाले नेविसंघको नेतृत्व छाडेपछि २०३६ सालमा तपाईं सभापति हुनुभयो। पार्टीमा त्यही संयोग दोहोरिएको हेर्न पाइएला!
देउवाले चाहनुभयो भने दोहोरिन सक्छ। उहाँले मलाई त्योबेला पनि पद छाड्नुभएको चाहिँ होइन। उहाँ नेविसंघको ८ वर्ष सभापति हुनुभयो। उहाँले लामो समय नेतृत्व गरेपछि नेविसंघमा महाधिवेशन हुनुपर्यो भनेर विपी कोइरालालगायतका नेताकहाँ डेलिगेसन जान थाले। देउवाको कमिटी विघटन गरेर आयोजक कमिटी गठन गर्न दबाब दिन थालियो। म जेलबाट छुटेर आएको थिएँ। विपी कोइरालाले घरमा बोलाउनुभयो। उहाँले भीडलाई संकेत गरेर सोध्नुभयो– तिम्रो धारणा के हो?
मैले महाधिवेशनको माग त ठीक छ तर आयोजक कमिटी बनाएर हुँदैन, आफ्नै जिल्लातिर रहनुभएका देउवालाई बोलाउनुपर्छ भनें। त्यही कमिटीले महाधिवेशन गराउनुपर्छ भन्ने सल्लाह दिएँ। उहाँले मेरो धारणामा समर्थन जनाउँदै भन्नुभयो– जनकपुरमा महाधिवेशन गर्न सक्छौ?
त्यसअनुसार जनकपुरमा महाधिवेशन भयो। विपी कोइरालालले नै मलाई नेविसंघको सभापति बनाउनुभयो। उहाँबाहेक अरु नेताहरु अन्य व्यक्तिकै पक्षमा हुनुहुन्थ्यो। जे कारणले भएपनि म नेविसंघमा उहाँपछि सभापति भएँ। उहाँले त्यो बेला दिलबहादुर घर्तिलाई बनाउन चाहनुभएको थियो तर, म भएँ। देउवासँग त्योे बेला पनि मेरो सम्बन्ध चाहिँ राम्रै थियो। हिजो पनि उहाँले चाहेर म भएको होइन, त्यसैले संयोग दोहोरिन सक्ला कि?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।