काठमाडौं- कोभिड-१९ महामारीका कारण नेपाली फिल्म क्षेत्र ठप्प छ। आम जनमानसमा फिल्मको भविष्य के होला, कसरी हल व्यवसायी अगाडि बढ्लान् भन्ने जिज्ञासा पैदा भएको पाइन्छ।
कतिपय नेपाली फिल्मप्रेमी त निराशसमेत बनेका छन्। उनीहरू अब चलचित्र हैन अलपत्र नाम राख्नुपर्ने बताइरहेका छन्।
कोभिडकै कारण नेपाली फिल्ममा लगानी भएको करोडौं रकम ‘फ्रिज’ भएर बसेको छ। पहिलो लहर केही सामान्य बनेको समयमा ५० प्रतिशत अकुपेन्सीसहित हल खुले पनि राम्रा फिल्मको अभावका कारण दर्शक हलमा गएनन्।
त्यसो त, केही राम्रा व्यानरका बहुप्रतिक्षित फिल्म बनेर हल खुल्ने प्रतीक्षामा बसेका छन्। उनीहरू पूर्णरूपमा फिल्म क्षेत्र चलायमान हुने समय पर्खेर बसेका छन्।
केही पोस्ट प्रोडक्सनमा छन् त केहीले आधा काम सकेर अब त्यसलाई निरन्तरता दिने या नदिने भन्ने अन्योलमा छन्। केही निर्माता निर्देशक भने घोषणा गरेका फिल्मको कथा पुरानो हुन लागेको भन्दै नयाँ कथाको खोजीमा छन्।
जति पनि नेपाली फिल्मलाई माया गर्छन् उनीहरू सामाजिक सञ्जालमार्फत् यसबारे विचार विमर्श गर्छन्। सुशील कोइराला मेमोरियल फाउण्डेसनले सामाजिक सञ्जालको प्रयोग गर्दै कोरोना महामारी र नेपाली चलचित्रको विषयमा छलफल गरेको थियो।
कार्यक्रममा निर्माता संघका अध्यक्षसमेत रहेका निर्माता आकाश अधिकारीले हरेक महामारी र द्वन्द्वमा फिल्म प्रभावित हुँदै आएको बताए। उनले भने, ‘फिल्म डिजिटल प्रविधिमा गएसँगै बजारमा राम्रो प्रभुत्व जमाइरहेको थियो। विकासको क्रममा थियो तर केही समयमै २०७२ सालमा भूकम्प गयो। भूकम्पलगत्तै नाकाबन्दी छलेर फेरि फिल्मले पाइला सार्दै थियो, कोरोना महामारीले शून्यमा पुर्यायो।’
अधिकारीका अनुसार, फिल्म क्षेत्र चलायमान नहुँदा मुलुकलाई एक वर्षमा एक अर्ब रूपैयाँभन्दा धेरै घाटा लगेको छ। फिल्मकै कारण हजारौं परिवारको रोजीरोटी खोसिएको दुःख उनले पोखे।
कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको अधिकारीको भनाइ छ।
अर्बको रकम देशलाई दिने भए पनि आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा फिल्मलाई उद्योगसम्बन्धी नीतिमा नराखेकोप्रति उनले गुनासो गरे। ‘चलचित्र क्षेत्र पुनरुत्थानका लागि कार्यक्रम बजेटमार्फत् आउनुपर्ने माग राखेका थियौं तर त्यसको खासै सुनुवाइ भएन,’ उनले भने।
कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको अधिकारीको भनाइ छ।
यता डिजिटल प्रदर्शनका लागिसमेत झण्झट छ। नेट टिभीका सञ्चालकसमेत रहेका मनोज अग्रवालका अनुसार नेपाली फिल्म निर्माताको मागअनुसार पैसा तिरेर किन्न सकिँदैन। घाटाको व्यापार कसैले नगर्ने बताउँदै उनले भने, ‘महँगो पैसा लगानी गर्यो, त्यसले लगानी नै उठाउँदैन भने किन महँगो पैसा तिरेर फिल्म किन्ने?’
नेपालीहरूमा फ्रिमा पाए फिल्म हेर्ने तर इन्टरनेटमा पैसा तिरेर नहेर्ने प्रवृत्ति रहेको उनको गुनासो छ। अग्रवालले भने, ‘केही फिल्म प्रदर्शनका लागि कुरा गर्न आए, तर उहाँहरूको लगानी हामीले उठाउन सक्दैनौं। सेयरिङ बेसमा उहाँहरू तयार हुनुहुन्न। हामी पनि घाटा बेहोर्दैनौं, उहाँहरू पनि सस्तोमा दिनुहुन्न, समस्या यहीँ छ।’
एउटा फिल्म फ्लप भए पनि अर्को हिट होला भनेर लगानी गरिरहन्छन्। अहिले महामारीले त्यही जुवाको खाल पनि उठाइदियो।
यता अर्का निर्माता माधव वाग्लेले आफूहरू ऋणको चपेटामा रहेको बताए। ‘बैंकबाट करोड ऋण लिएर बनाउन लागेको नयाँ फिल्मको रकम फ्रिज भइरहेको छ। बैंकमा किस्ता बढेको बढ्यै छ, यता फिल्म थन्केको थन्क्यै छ,’ उनले भने, ‘फिल्म प्रदर्शन भए पनि लगानी उठाउने या नउठाउने भने कुरा दर्शकको हातमा हुने हो। तर, पनि फिल्ममा लगानी गर्न बानी लागेकालाई यो जुवा जस्तै हो।’
वाग्लेका अनुसार, फिल्म क्षेत्र भनेको जुवाको खालजस्तै हो। ‘पाँच जना म्यारिज खेल्न बसेको छ भने जित एउटाकै हुन्छ, तर अर्कोपल्ट जित्ने आशमा हारेकाहरूले पनि खेल्न छाड्दैनन्,’ उनले भने, ‘फिल्मका निर्माता पनि त्यस्तै हुन्। एउटा फिल्म फ्लप भए पनि अर्को हिट होला भनेर लगानी गरिरहन्छन्। अहिले महामारीले त्यही जुवाको खाल पनि उठाइदियो।’
यसले जो फिल्म निर्माणबाहेक अन्य व्यवसाय गर्दैनन्, उनीहरू निकै मर्कामा परेको वाग्लेको भनाइ छ। उनले भने, ‘हामीलाई हेर्ने सरकारले नै हो तर सरकारले सौतेलो व्यवहार गरिरहेको छ।’
महामारीभन्दा पहिले नेपाली फिल्म वर्षमा १२५ वटासम्म प्रदर्शन हुने गरेको उनले स्मरण गरे। ‘त्यसमा जम्मा पाँच वटा मात्रै सफल हुन्थे बाँकी नामै नसुनी हराउँथ्यो,’ उनले सुनाए, ‘त्यसमा पनि तीन वटाले लगानी उठाउँथ्यो र दुईवटा फाइदामा जान्थ्यो।’
यस्तो हुँदा पनि कुनै समयमा त फिल्म हिट होला भनेर कुरेका निर्माताहरूको अब भने खाल उठेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।