काठमाडाैं- एमाले महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सभाका लागि भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य भएको बताएका छन् । यस्तो क्रियाकलापले पार्टीभित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको उनले प्रतिकृया दिएका छन्।
माधवकुमार नेपाल समूहले भोट नहालेपछि एमालेका उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपनिर्वाचनमा हारेका थिए।
नेपाल समूहले गरेको कार्य पार्टीविरूद्धमा गरिएका अपराध भएको भन्दै उनले यसले विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको टिप्पणी गरेका छन् ।
‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर। अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय– लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यद्यपि, आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद पार्टी एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने स्पष्ट भएको पनि उनले बताएका छन् ।
विषम अवस्थामा पार्टी विभाजनकाविरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक रहेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।