रोल्पा- रोल्पा नगरपालिका–१ पाहानाका पदम कुँवर ३ वर्ष साउदी अरब बसे। साउदी जानुअघि बाबुबाजेको बिँडो थाम्दै स्लेट ढुंगा निकाल्ने काम गर्थे उनी। साथीभाइको लहलहैमा विदेश हानिएका उनलाई त्यहाँको बसाइँ र कमाईले चित्त बुझेन। स्वदेश फर्केर पुरानै पेशा अंगाल्ने सोचका साथ साउदी बसाइँ विट मारेर उनी स्वदेश फर्किए।
अचेल उनको दिनचर्या स्लेट ढुंगा खानीमा बित्छ। डरलाग्दो भौगोलिक संरचना रहेको ढुंगाखानी नै उनको साँझ बिहानको हातमुख जोहो गर्ने माध्यम बनेको छ।
पदम जस्तै पाहानाको ढुंगाखानीमा काम गर्ने मजदुरको संख्या ३२ छ। उनीहरुमध्ये अधिकांशले पुर्ख्यौली पेशाको रुपमा सो काम गर्दै आएका छन्। घर नजिकै भएकाले उनीहरु सानैदेखि बाबुबाजेको पछि लागेर खानी जान्थे। निकै अप्ठेरो भौगोलिक अवस्थिति भएपनि सानैदेखि त्यहाँसम्मको आवतजावतका कारण उनीहरुलाई असहज कहिल्यै लागेन।
‘बााहिरबाट आउनेहरुका लागि खानीको भौगोलिक अवस्था डरलाग्दो देखिएपनि सानैदेखि यसमै खेलेर हुर्किएका कारण हामीलाई अप्ठेरो लाग्दैन’, पदमले भने। खानीमा बाह्रै महिना भने काम हुँदैन। वर्षमा ६ महिना मात्र काम हुन्छ। घरमा हुँदा र सञ्चो रहँदा खानीको काममा जाने गरेको उनले बताए। दैनिक झण्डै १ हजार ५ सयदेखि २ हजारसम्म आम्दानी हुने गरेको पदम बताउँछन्।
बाँकी समय तरकारी खेती तथा माहुरी पालन पनि गरेर आम्दानीका श्रोत बढाएको पदमले बताए। ढुंगा बिक्री गरेर आएको मासिक आम्दानीमध्ये केही रकम उनीहरुले स्थानीय वन समूहलाई पनि दिनुपर्छ। खानी सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले सामुदायिक वनले शुरुदेखि नै उनीहरुबाट शुल्क लिने गरेको छ। वन समूहले त्यसरी गरेको आम्दानीमध्ये केही प्रतिशत बजेट हरेक वर्ष स्थानीय विद्यालयलाई दिने गर्दछ।
छैन सुरक्षा सावधानी, ६ जनाले ज्यान गुमाए
झण्डै ३ दर्जन मजदूरले स्वरोजगारमुलक ढंगले खानीमा काम गरेपनि सुरक्षा सावधानी भने अवलम्बन गरेका छैनन्। उनीहरुले प्रयोग गर्ने औजारहरु पनि परम्परागत छन्। जोखिमपूर्ण काममा जाँदा सुरक्षाका कुनै उपाय अवलम्बन नगरिएको र मजदूरहरुको बीमा समेत नगरिएको स्थानीय होमबहादुर डाँगीले बताए।
जोखिमपूर्ण काम गर्दा खानीमा ६ जनाले ज्यान गुमाइसकेका छन। ज्यान गुमाउनेमा ४ जना स्थानीय छन् भने २ जना बाहिरवाट गएकाहरु रहेको डाँगीले बताए। वर्षेनी घाइते भएर उपचारमा ठूलो धनराशी गुमाउनेहरुको संख्या पनि उस्तै छ।
उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ। त्यहाँ काम गर्नेहरुको सुरक्षा र रोजगारीलाई व्यवस्थित गर्नेगरि स्थानीय सरकारले पहल गरे उद्योग राम्रोसँग चल्न सक्ने शिक्षक समेत रहेका डाँगी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।