काठमाडौं- कोभिड-१९ को दोस्रो लहरका कारण अधिकांश कामहरू अहिले ‘भर्चुअल’ भइरहेका छन्। बालबालिकाको पढाइदेखि गृहकार्य र खेल्ने स्थानसमेत यतिबेला भर्चुअल बनेको छ। त्यसैले उनीहरू धेरै समय ग्याजेटमै बिताइरहेका छन्।
कोभिड नहुँदै आफ्ना बालबालिका ग्याजेटमा रमाएको देखेर अताल्लिएका अभिभावक यतिखेर आफैंले उनीहरूलाई ग्याजेटमा बस्न आग्रह गर्नुपरेको छ। यसले बालबालिका ग्याजेटको लतमा फसेका छन् नै, साथमा आँखाको बिरामी बन्ने जोखिमसमेत बढाइदिएको छ।
गत सोमबार बिहान करिब ९ बजे टेकु पचली बस्ने सुकुमारी थापा छोराको एउटा खुट्टा भाँच्चिएको चस्मा बोकेर त्रिपुरेश्वरस्थित सोनिया अप्टिकल पुगिन्। प्रहरीको आँखा छलेर चस्मा पसल पुगेकी उनले लामो सास फेर्दै भनिन्, ‘चस्माको फ्रेम फेर्दिनपर्यो, समय पो कति लाग्छ?’
सुकुमारीले आफ्नो आठ वर्षीय छोरालाई दुई महिनाअघि मात्रै आँखा जँचाएर नयाँ चस्मा लगाइदिएकी हुन्। आँखाको पावर प्लस १.७५ छ। चस्मा नलगाए छोराले नजिकको देख्दैन। स्कूलको पढाइ अनलाइनबाट भइरहेको छ। यस्तो अवस्थामा छोराले चकचक गर्ने क्रममा चस्माको एउटा डण्डी नै भाँच्यो।
तीन दिनअघि चस्माको खुट्टा भाँच्चिए पनि निषेधाज्ञाका कारण उनी बाहिर जान सकिनन्। छोरालाई निकै समस्या भएपछि भने उनी बागमतीको किनारैकिनार हुँदै चस्मा पसलसम्म पुगिन्।
सुुकुमारी थापाजस्तै चस्मा किन्न पुगेका नरेन्द्रकुमार जोशी पनि सोनिया अप्टिकलमा भेटिए। उनी छोरीका लागि मोबाइल, ल्यापटपको प्रकाश सीधा आँखाभित्र छिर्नबाट रोक्ने ‘ब्लु कट लेन्स’ भएको चस्मा किन्न पुगेका थिए।
नरेन्द्रसँग भने मेगा बैंकको कार्ड भएकाले सजिलै चस्मा पसलसम्म आए। उनले हाँस्दै भने, ‘छोरीले पिंक कलर भएको चस्मा किन्न भनेकी छ, त्यही भएर फ्रेम पिंक दिनुस् है।’ एक हजार रूपैयाँ तिरेर उनले ‘ब्लु कट लेन्स’ भएको चस्मा किने।
बालबालिकाले प्रयोग गर्ने चस्माको माग बढ्दो
निषेधाज्ञाको समयमा अन्य समयको तुलनामा बच्चाहरूको चस्मा धेरै बिक्री भएको बताउँछन् सोनिया अप्टिकलका सञ्चालक गोपाल अग्रवाल। उनले भने, ‘बालबालिका जतिखेरै ग्याजेटमा व्यस्त हुने भएकाले उनीहरूका आँखा बिग्रने डरले ब्लु कट लेन्सको खपत बढेको छ।’
कतिपय स्कूलले नै बच्चालाई अनिवार्य चस्मा लगाइदिन भनेकाले पनि अभिभावक चस्मा किन्न आइरहेको उनको भनाइ छ। ‘हामीले एक महिनाअघि मात्रै पाँच हजार पिस मगाएका थियौं, सबै सकिएर फेरि नयाँ मगाउनुपर्ने बेला भएको छ,’ अग्रवालले भने।
सोनिया अप्टिकलभन्दा वरपरका अन्य चस्मा पसल बन्द छन्। त्यसैले ग्राहकहरू त्यहीँ आउने गरेका छन्। अग्रवालले भने, ‘हामी ८ बजेदेखि २ बजेसम्म मात्रै पसल खोल्छौं। यत्ति अवधिमै पनि कम बिक्री भएको दिन बच्चाको चस्मा २० देखि ३५ वटासम्म जान्छ।’
आँखा अस्पतालमा 'इमर्जेन्सी' सेवा मात्र
त्रिपुरेश्वर चोकमा सोनिया अप्टिकलनजिकै छ, नेपाल आँखा अस्पताल। त्यहाँ भने सम्पूर्ण सेवा बन्द छ। गेटमा भेटिएका सुरक्षागार्डले इर्मर्जेन्सीबाहेक अन्य नियमित सेवा बन्द भएको जानकारी दिए।
त्यही समयमा एक महिलाले उनका १२ वर्षीय छोराको आँखामा देखिएको समस्या बताइन्। उनले छोराको आँखाको नियमित जाँच गर्नुपर्ने समय भएको बताइन्।
सानै उमेरमा उनको छोराको आँखामा ‘एम्वायोपिया’ अर्थात् ‘लेजी आई’ समस्या भयोे। सुरूमा यसबारे उनीहरूलाई थाहा भएन। उपचार गराउँदा ढिला भइसकेको रहेछ। एउटा आँखाले राम्रो देख्ने, अर्कोले धमिलो देख्ने भएकाले आँखाको थेरापी चलिरहेको छ। चिकित्सकले दिएको मितिमा चेकअप गर्न उनी त्यहाँ छोरा लिएर आएकी थिइन्। उनको समस्या इमर्जेन्सीमा नपर्ने भन्दै सुरक्षागार्डले गेटबाटै फर्काइदिए। आँखामा चोट लागेको समस्यालाई मात्रै इमर्जेन्सीमा राखिएको सुरक्षागार्डले बताएका थिए।
बालबालिकाको आँखाको हेरचाह कसरी गर्ने?
सरकारी अस्पताल बन्द भएकैले त्यताका चिकित्सकले निजी क्लिनिकमा काम गर्न पाएका छन्। विभिन्न अस्पतालमा सेवा दिएका आँखाका चिकित्सक डा. निराजन शरन पनि यतिबेला निजी क्लिनिकहरूबाटै बिरामीलाई सेवा दिइरहेका छन्। उनका अनुसार अहिले बालबालिका घरबाहिरका क्रियाकलापमा भन्दा भित्रका क्रियाकलापमा धेरै समय बिताइरहेकाले उनीहरूको आँखामा पावर घटबढको समस्या देखिन थालेको छ। धेरै बालबालिकामा आँखाको समस्या बढिरहेको उनको भनाइ छ। डा. शरनले भने, ‘अघिल्लो वर्ष कुनै बच्चाले माइनस २ पावरको चस्मा लगाउँथ्यो भने, यो वर्ष उसले माइनस ४ पावरको चस्मा लगाउनुपर्ने भएको छ।’
यस्तो ‘इन्क्रिजिङ मायोपिया’को कुनै मेडिकल उपाय नभएको उनले बताए। यसको एउटै उपाय भनेको बालबालिकालाई यस्ता इलेक्ट्रोनिक डिभाइसबाट टाढा राख्नु नै हो। तर, अहिले भने यो उपाय पनि सम्भव छैन। अधिकांश बालबालिका अनलाइनबाटै पढिरहेका छन्।
डा. शरनले सुझाएका दुई उपाय
१) खाना खाने समयमा डिभाइस चलाउन नदिनुहोस्
कतिपय बालबालिका मोबाइल या टेलिभिजन नहेरी खाना नखाने स्वभावका हुन्छन्। अहिले ग्याजेट पढाइका लागि अनिवार्य भएकाले उनीहरूलाई स्क्रिनमा पढ्न मात्रै दिनुहोस्। उनीहरूले खेल्ने र मनोरञ्जन लिने समयमा स्क्रिनबाट टाढा राख्नुहोस्। त्यस्तै, हरेक पिरियड सकिएपछि केही समय आँखालाई डिभाइसभन्दा पर लैजाने, हरियाली वातावरण हेर्न लगाउनुहोस्।
२) ब्लु लाइटबाट टाढा राख्नुहोस्
बालबालिकाको आँखाका लागि मोबाइल, ल्यापटपलगायत डिभाइसबाट आउने ‘ब्लु लाइट’ सबैभन्दा हानिकारक हो। त्यसैले उनीहरूको आँखामा ब्लु लाइट पर्न नदिने उपाय अपनाउनुपर्छ। जसका लागि अहिले चल्तीमा आएका ‘ब्लु कट लेन्स’ भएका चस्मा राम्रो विकल्प बन्नसक्छ। यस्ता लेन्स भएका चस्माले बालबालिकाको आँखामा असर गर्ने हानिकारक ब्लु लाइट छिर्न पाउँदैन। यसले केही हदसम्म बालबालिकाको आँखा जोगाउन मद्दत गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।