काठमाडौं- केही समयअघि नेपालका केही कलाकारहरूको फेसबुक पेज ह्याक भयो। फेसबुक ह्याक हुनेमा दीपाश्री निरौला, सरोज खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम पाण्डेलगायत थिए।
ह्याकरले फेसबुक ह्याक गरेर मेसेन्जरमार्फत पैसा मागेका थिए। यो घटनाले कलाकारहरूमाझ खैलाबैला मच्चियो। विभिन्न सञ्चारमाध्यमले कलाकारको सामाजिक सञ्जाल ह्याक हुनुलाई ठूलो अपराधको रूपमासमेत व्याख्या गरे।
कलाकारको उजुरी परेसँगै प्रहरीले ह्याकरलाई समात्यो। ह्याकर थिए रूपन्देहीका १४ वर्षीय बालक। ती बालकले पब्जी खेल्नका लागि पैसा आवश्यक परेकाले कलाकारको फेसबुक ह्याक गरेको बताएका थिए।
अभिभावकसँग पैसा माग्दा अनेकथरी प्रश्नको सामना गर्नुपर्ने सोचेर ती बालकले उपाय लगाएका रहेछन्। उनले गुगलमा ‘हाउ टु ह्याक फेसबुक’ भनेर सर्च गरे। त्यहाँ अनगिन्ती उपाय फेला पारे। उनले सबैभन्दा सजिलो विधि अपनाए, फिसिङ। फिसिङ अर्थात् जालमा पारेर फेसबुक ह्याक गर्ने।
ती बालकले सुरूमा अन्य केही मानिसको फेसबुक ह्याक गरे। ती फेसबुकबाट इमेल आईडी ह्याक गरे। यही क्रममा उनले नायिका तथा निर्देशक दीपाश्रीका विश्वासिलो मानिसको फेसबुक ह्याक गर्न सफल भए। उनले दीपाश्रीलाई त्यही चिनेका मान्छेको आईडीबाट म्यासेज पठाए- तपाईंको इमेलमा कुनै कोड आउन सक्छ, तुरुन्तै सेन्ड गर्नुस् है।
त्यसपछि ती बालकले दीपाश्रीको आईडीबाट ‘फरगेट पासवर्ड’ मा क्लिक गरे। नयाँ पासवर्ड हालेपछि दीपाले उनको इमेलमा आएको कोड पठाइदिइन्। अनि उनको फेसबुक आईडी ह्याक भयो।
कलाकारको फेसबुक ह्याक गर्ने बालक प्रतिनिधि मात्रै हुन्। विभिन्न एपहरू ह्याक गरेर व्यक्तिगत डेटा बाहिर ल्याइदिने, गोप्य सामग्रीहरू सामाजिक सञ्जालमा भाइरल गराउने, ओटीटी प्लाटफर्महरूबाट फिल्म चोर्ने लगायतका काममा बालबालिका अग्रपंक्तिमा छन्।
'इथिकल ह्याकर' बन्ने चक्कर
कालिमाटी बस्ने नौ वर्षीय भुवन श्रेष्ठ कम्प्युटर सफ्टवेरमा रूचि राख्छन्। ठूलो भएपछि ह्याकर बन्ने उनको चाहना छ। सानै भए पनि ह्याकर बन्नसके फेसबुक, इन्स्टाग्राम, गुगलले पैसा दिन्छ भन्ने उनले सुनेका छन्।
‘नेपालमा कति धेरै ह्याकरहरू छन्, जसले डलरमा पैसा कमाइरहेका छन्,’ उनले इन्स्टाग्रामको बग पत्ता लगाउने ह्याकर सौगात पोखरेलको उदाहरण दिँदै भने, ‘घरमै बसीबसी पैसा कमाइन्छ, रहर पनि यसैमा छ। ह्याकर बन्ने हो।’
‘ह्याक’ गर्ने भनेको त अपराध हो नि? भन्ने जिज्ञासामा उनले पढाए, ‘इथिकल ह्याकर र अनइथिकल ह्याकर भन्ने हुन्छ। म इथिकल ह्याकर बन्ने हो।’
भुवनले भनेको कुरामा सतप्रतिशत सहमति जनाउँछन् साइबर कानुनका विज्ञ एवं डेल्टा ल फर्मका मुख्य कार्यकारी अधिकृत बाबुराम अर्याल। उनले भने, ‘ह्याकिङ इथिकल र अनइथिकल हुन्छ, बालबालिका इथिकल ह्याकर बन्ने चक्करमा अनइथिकलको खाल्डोमा पर्ने सम्भावना धेरै हुन्छ।’
हाम्रो समाजमा प्रायः ह्याकिङ भन्नेबित्तिकै नकारात्मक रूपमा सोच्ने भए पनि कतिपय अवस्थामा यसले साइबर सुरक्षाका लागि सहयोग पुग्ने अर्याल बताउँछन्। नयाँ पुस्तामा यसबारे बढी चासो हुनुलाई उनी स्वाभाविक ठान्छन्।
‘बालबालिका लर्निङ इनोभेसनको प्रोसेसमा हुन्छन्, यसलाई रोक्नु हुँदैन,’ अर्यालले भने, ‘बालबालिकालाई नगर भन्नेभन्दा के गरे कस्तो परिणाम आउँछ भन्ने कुरा सिकाउन जरूरी छ।’
इन्टरनेट आफैंमा मानसिक रूपमा कब्जा गर्ने साधन भएको उनको भनाइ छ। आफ्ना बालबालिकाको दिमाग इन्टरनेटले कब्जा गर्नुभन्दा अगाडि नै अभिभावकले ध्यान दिनुपर्ने उनको सुझाव छ। अहिले दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अनलाइन बाल सुरक्षा निर्देशिका’मा समेत बालबालिकालाई एक्लै इन्टरनेटको पहुँचमा नछाड्न भनेको अर्याल बताउँछन्।
‘स्कूल, कजेजमा इथिकल ह्याकिङ र अनइथिकल ह्याकिङको बारेमा पढाउनुपर्छ,’ अर्यालले भने, ‘यदि अभिभावक र स्कूलले यसबारे शिक्षा दिएन भने उनीहरू थाहै नपाइ अपराधी बन्न सक्छन्।’
रमाइलो गर्दागर्दै अपराधमा फस्दै बालबालिका
साइबर कानुनविज्ञ अर्यालकै कुरामा साथ दिन्छन् नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी। बालबालिका थाहै नपाइ अपराधी बनिरहेको भन्दै उनले यो दुःखको कुरा भएको बताए।
पूर्वडीआईजी ठकुरीले पुरानो कुरा स्मरण गर्दै भने, ‘मेरो पालामा राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइट नै ह्याक भयो। खोज्दै जाँदा खेल खेल्ने क्रममा सानो बालकले पो ह्याक गरेको रहेछ।’ पोखराबाट ती बालकलाई समाएको उनले बताए।
रमाइलोकै लागि गरेका कतिपय डिजिटल कामहरू अपराध बनिरहेको उनको भनाइ छ। ‘सबै कुरा डिजिटाइज भइरहेका छन्, भविष्य डरलाग्दो देखेको छु,’ पूर्वडीआईजी ठकुरीले भने।
यस्तो समस्या कम गर्न अनलाइन व्यवसाय सञ्चालन गर्नेहरूले ‘साइबर सेक्युरिटी’मासमेत लगानी गर्नुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘खानादेखि नानासम्मका कुरा अनलाइनमै गर्ने भएपछि त्यसको सुरक्षामा पनि लगानी गर्नुपर्यो।’
हाम्रा व्यक्तिगत डेटा सबै चोरी भइसकेको भन्दै उनले अब लुक्नसमेत असम्भव बनेको बताए। ‘हामी एक्लै छौं भन्ने सोचिरहेका छौं तर हामीले चलाएका एपहरूको माध्यमबाट संसारले हेरिरहेको छ,’ उनले भने।
यसमा बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी अभिभावककै भएको पूर्वडीआईजी ठकुरीले बताए। उनले भने, ‘प्रहरी हरेकको घरमा बालबालिकाले के हेरिरहेको छ, इन्टरनेटमा के गरिरहेको छ भनेर हेर्न जान सक्दैन। त्यो काम प्रहरीको पनि हैन। त्यसैले अभिभावक स्वयं यसमा सचेत हुन जरूरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।