काठमाडौं- राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले आफूले कांग्रेसलाई कुनै हालतमा मतदान गर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासहितको विपक्षी गठबन्धनका पक्षमा हस्ताक्षर गर्न नमानेका उनले कांग्रेसलाई मत दिएर आफ्ना मतदाताका अगाडि कसरी मुख देखाउने भन्दै प्रश्न गरे।
अहिले आफू बाग्लुङस्थित घरमै रहेको बताएका थापाले अब पोखरा जानुनपर्ने जस्तो बुझिएको बताए। उनलाई जनमोर्चाले आजै स्पष्टीकरण सोधेको थियो। उनलाई कारबाही गर्ने जनमोर्चाको तयारी छ।
‘कांग्रेसलाई भोट दिए मैले मेरो मतदातालाई मुख देखाउन नसक्ने अवस्था हुन्छ। मैले कांग्रेसलाई मत दिन्नँ’, थापाले नेपाल लाइभसँग भने, ‘म बागलुङ आफ्नै घर आइपुगेको छु। स्पष्टीकरणको पत्र पाएको छैन। कुरा बुझ्दा पोखरा फर्कन नपर्ने जस्तो बुझ्दैछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।