काठमाडौं– आइतबार दिउँसो काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा बाहिर आँगनसम्मै पुग्नेगरी बिरामीको लाइन थियो। अस्पतालका कर्मचारी कुर्सी सोझ्याउँदै थिए।
भर्खरै पुगेको थियो एउटा एम्बुलेन्स। एम्बुलेन्सबाट बिरामी निकालेर कुर्सीमा राखियो। कुर्सीकै आडमा अक्सिजनको सिलिन्डर ठड्याइयो। कुर्सीमा राखिएका बिरामीको मुखमा अक्सिजन माक्स जोडियो।
सामान्य अवस्थाका लागि टेकु अस्पतालमा देखिएको दृश्य धेरै नै असमान्य हो। तर, कोभिडका बिरामी बढेर अस्पतालका बेडहरु भरिएपछि बिरामीलाई कुर्सीमै राखेर अक्सिजन दिनु बाहेकको विकल्प थिएन।
स्वास्थ्यकर्मीका अनुसार बिरामी बढ्दै जाने हो भने यही अवस्थालाई पनि निरन्तरता दिन गाह्रो हुनसक्छ।
‘हामीले धान्न नसक्ने भयौं। कसरी हेर्ने यो अवस्था’, बिरामी जाँच्दा जाँच्दै गहिरो चिन्तामिश्रित लवजमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले भने।
अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) कक्षभित्र संक्रमित भरिभराउ छन्। आकस्मिक कक्ष बाहिर कुर्सी, म्याट र केही बेडमा कोरोना संक्रमितहरुलाई अक्सिजन सपोर्टमा राखिएको छ।
चिकित्सकहरु आकस्मिक सेवा बाहिर रहेका बिरामीलाई अक्सिजन मिलाउँदै र अक्सिजनको मात्रा जाँच गरिरहन्छन्। आकस्मिक कक्ष भित्र र बाहिर रहेका बिरामीको स्वास्थ्य चाँज गर्न चिकित्सकलाई भ्याइनभ्याइ छ। त्यसमाथि नयाँ बिरामी बोकेर एम्बुलेन्स आइपुग्छन्।
एम्बुलेन्सले बिरामीसँगै चिकित्सक तथा अस्पतालका कर्मचारीका लागि अर्को दुःख पनि बोकेर ल्याएका हुन्छन्, बिरामी कहाँ राख्ने? व्यवस्थापन कसरी गर्ने? यी सबै पक्षबारे सोच्नुपर्ने हुन्छ उनीहरुले।
एक किसिमको अन्यौलता छ, चिकित्सकदेखि अस्पतालका कर्मचारीसम्ममा। के गर्ने? कसरी गर्ने? सबै जना हतास् देखिन्छन्। पीडा लुकाउने प्रयास पनि गर्छन्– हामी सम्हालिएनौं भने बिरामीको के होला?
अबको अवस्था कस्तो होला? थाहा छैन उनीहरुलाई। गहिरो अन्यौलता र असंख्य पीडाका बीच सायद एउटै कुराले बाँधिएका छन् उनीहरु– जिम्मेवारी।
‘जिम्मेवारी? क–कसले पूरा गरेका छन् र यहाँ। सरकारले? जनताले? दलका नेताले, या कर्मचारीले?’ अस्पतालका एक चिकित्सकले मनभित्र खाँदिएको पीडाका पत्र उप्काउँदै भने, ‘प्रधानमन्त्रीज्यूले त स्थिति नियन्त्रणमै छ भनेर अन्तर्राष्ट्रिय मिडियामा भन्नुभयो। यही हो त स्थिति नियन्त्रणमा हुनु भनेको?’
स्थिति कसको नियन्त्रणमा छ भनेर प्रधानमन्त्री (केपी शर्मा ओली)लाई सोधिदिन पनि उनले आग्रह गरे।
घर–परिवार छाडेर २४ सै घण्टा ड्यूटीमा खटिँदाको पीडा बुझिदिने पनि कोही नभएको ती चिकित्सकले सुनाए। ‘हामीले बिरामीको उपचार गर्ने कि, बेडहरुको व्यवस्थापन गर्ने? बिरामीका आफन्तहरु आउनुहुन्छ हामीसँगै कराउनुहुन्छ। उहाँहरुका पनि पीडा छन्, हामीबाहेक सुनाउनका लागि अरु कोही भेटाउनुहुन्न सायद,’ उनले भने।
व्यवस्थापनको जिम्मा समेत चिकित्सककै टाउकोमा आउनु दुःखद भएको उनको भनाइ छ।
‘अवस्था भयावह भयो, कन्ट्रोलमा त छँदै छैन।’ संक्रमित हेरेर आकस्मिक कक्ष भित्र पस्दै गरेका अर्का चिकित्सकले भने।
आकस्मिक कक्ष बाहिर रहेका संक्रमितका आफन्तले चिकित्सकलाई घेरा हाल्दै बिन्ती गर्छन्। ‘सबै ठाउँमा धाइयो, कहीँ पनि भर्ना लिँदैनन्, तपाईंहरुले केही व्यवस्था गरिदिनुहोस् न!’
संक्रमितका आफन्तहरु पीडा पोख्छन्, ‘सरकारमा बस्नेहरुको मुटु ढुंगाले बनेको हुन्छ होला है? जनता मरिरहेका छन्, उनीहरु कुर्सीकै खेलमा छन्। कस्तो लाजमर्दो अवस्था छ देशको!’
‘सरकार छ कि छैन भन्ने आभास नै भएको छैन। हामी जनताले दुःख पाइरहेका छौं, सरकार त आफ्नै तालमा छ,’ इमर्जेन्सी बाहिर बसेका एक सर्वसाधारणले भने।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक सेवामा २४ घण्टा नै ड्युटीमा खटिएका छन् डा श्रवण कुमार मण्डल।
डा मण्डलका अनुसार १५ बेड मात्र रहेको अस्पतालको आकस्मिक कक्षलाई २५ बेड क्षमतामा बढाइएको छ। तर, संक्रमितको चाप अनुसार बेड अझै अपर्याप्त छ।
संक्रमितहरु बढिरहेकाले अस्पतालले आकस्मिक कक्ष बाहिरै पनि अक्सिजन दिएर उपचार गरिएको डा मण्डलले सुनाए।
‘बिरामीलाई अक्सिजन दिएर पनि बचाउन सकिन्छ भनेर हामीले बाहिर कुर्सी, टेवल जे–जेमा हुन्छ त्यसैमा राखेर अक्सिजन दिएका छौं,’ उनले भने, ‘हामीले हाम्रो क्षमता भन्दा धेरै बिरामीलाई उपचार सेवा दिइरहेका छौं, तर अब यो भन्दा अझै विकराल अवस्था आउने देखिन्छ।’
शुक्रराज अस्पतालमा अधिकांश बिरामीहरु अक्सिजन सपोर्टमा राखेर उपचार गर्नुपर्ने अवस्थाको आइरहेका डा मण्डलको भनाइ छ। संक्रमितहरु होम आइसोलेसन बस्न समेत डराउन थालेको उनले सुनाए।
तस्वीरहरु– निमेष जंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।