काठमाडौं- आइतबार बिहान लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
आइतबार नै बसेको एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले पोखरेलकै नेतृत्वमा एमालेको सरकार बनाउने निर्णय गरेको थियो। संसदीय दलको निर्णयसहित पोखरेल अहिले प्रदेश प्रमुखलाई भेट्न जाने तयारीमा रहेको एमाले सांसद रेवतीरमण शर्माले बताए।
८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा हाल ८१ सदस्य छन्। जसमा एमालेका मात्र ४१ छन्। ४१ जना सांसद भए एमालेलाई पहिलो ठूलो दलका रुपमा सरकार बनाउन बहुमत पुग्छ।
हाम्रो संसदीय दलको बैठकबाट यसअघि संविधानको धारा १६८ (२) अनुसार गठन भएको सरकारबाट मुख्यमन्त्रीले राजीनामा दिएको सन्दर्भमा अब संसद्मा स्पष्ट बहुमत भएको कारणले हामीले सरकार गठन गर्न माग गर्ने भन्ने निर्णय भएको छ,’ शर्माले भने।
कांग्रेस, माओवादी केन्द्र र जसपाले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि पोखरेलले राजीनामा दिएका हुन्।
अविश्वास प्रस्तावमाथि आज प्रदेश सभाको विशेष अधिवेशनमा छलफल हुने कार्यसूची थियो। यसैबीच, कामचलाउ मुख्यमन्त्री पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्यको पनि सिफारिस गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।