काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उनैलाई मुख्यमन्त्रीमा दोहोर्याउने एमाले संसदीय दलले निर्णय गरेको छ। आइतबार बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल सरकार बनाउने निर्णय गरेको हो।
आइतबार विहान बुटवलमा बसेको दलको बैठकले मुख्यमन्त्री पोखरेललाई अघि सार्ने निर्णंय गरेको एमाले लुम्बिनी प्रदेश सभा सदस्य रेवतिरमण शर्माले बताए। ‘हाम्रो संसदीय दलको बैठकबाट यसअघि संविधानको धारा १६८ (२) अनुसार गठन भएको सरकारबाट मुख्यमन्त्रीले राजीनामा दिएको सन्दर्भमा अब संसद्मा स्पष्ट बहुमत भएको कारणले हामीले सरकार गठन गर्न माग गर्ने भन्ने निर्णय भएको छ,’ शर्माले भने।
नयाँ सरकारको लागि प्रदेश प्रमुखले आजै आह्वान गर्ने र पोखरेलले दाबी गर्ने तयारी एमालेको छ। लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव एमाले निकट हुन्। लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय भएता पनि अहिले ६ पद रिक्त छ। जसको कारण ८१ सदस्यीय हुन आइपुगेको प्रदेश सभामा तत्कालका लागि ४१ सिट रहेको एमालेको बहुमत सिर्जना भएको छ।
जसले गर्दा संविधानको धारा १६८ (१) अनुसार एकल बहुमतको सरकार गठन गर्ने सो पार्टीको प्रयत्न छ। सो धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ’ भन्ने व्यवस्था छ।
मुख्यमन्त्री पोखरेलले आइतबार बिहान नै पदबाट राजीनामा दिएका हुन्। आगामी चुनावसम्म मुख्यमन्त्री बन्ने रणनीतिका साथ उनले राजीनामा दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।