डा. नितेश कनोडिया
काठमाडौं- कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालगञ्ज कोरोनाको 'हट स्पट' बनेको छ। त्यहाँका अस्पतालहरु अहिले कोरोनाका बिरामीले भरिएका छन्। अस्पतालमा बेड अभाव भएको छ। थप बिरामी आए भर्ना गर्नसक्ने अवस्थामा अस्पताल छैनन्।
भारतसँगको खुल्ला सीमानाका रहेको जिल्ला भएकाले पनि त्यहाँ कोरोना संक्रमण तीव्र बनेको हो। कोरोना संक्रमण अनियन्त्रित बनेपछि नेपालगञ्ज उपमहानगरपालिकाले वैशाख १५ को मध्यरातसम्म उपमहानगर क्षेत्रभित्र लकडाउन लागू गरेको छ।
यही सन्दर्भमा नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेश कनोडियाले त्यहाँको अवस्थाबारे नेपाल लाइभलाई दिएको जानकारी उनकै शब्दमा:
कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएपछि ४५ बेडको कोभिड युनिट सुरू गरेका थियौँ।
सुरू गरेको दुई-तीन दिनमै संक्रमितको संख्या बढेपछि अहिले १०० बेडको कोभिड युनिट सञ्चालन गरेका छौँ। त्यसमा ३० बेडको आईसीयू सञ्चालनमा छ। अहिले गम्भीर बिरामीका लागि थप बेड छैनन्।
त्यो सबै संक्रमितले भरिएको छ। बाँकी क्याबिनहरू समेत गरी १०० बेडको वार्ड सञ्चालन गरेका छौँ। १०० वेडको वार्डमा सबै बेडमा अक्सिजन पोर्ट छैन। त्यसले गर्दा अक्सिजन नभएको केही बेड खाली छ।
पछिल्लो समय आउने प्रायः सबै बिरामी गम्भीर र लक्षणसहितका बिरामी भएकाले उनीहरूलाई अक्सिजन पहिलो आवश्यकता छ। अक्सिजन पोर्ट नभएकाबाहेक अरू ६५ बेड सबै भरिएको छ।
अघिल्लोपटक कोभिडका मध्यम लक्षण भएका जस्तो ज्वरो, रूघा भएका बिरामी आउँथे। उनीहरूलाई सामान्य बेडमा राखेर उपचार गर्न मिल्थ्यो। तर, अहिले आउने बिरामीहरू नियोनिया भएर श्वासप्रश्वासमा समस्या भएका, सास फेर्न गाह्रो भएका छन्।
यस्ता बिरामीलाई क्रिटिकल म्यानेजमेन्ट नै गर्नुपर्छ। त्यस्ता जटिल अवस्था भएका बिरामीलाई व्यवस्थापन गर्न निकै गाह्रो भएको छ।
बाँकेमा दोस्रो लहरमा संक्रमण देखिनुको कारण समयमा नियन्त्रण गर्न नसकेर हो। संक्रमण सकिएको थिएन, हामीले तयारी सबै छाडेर बस्याँै।
अहिले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र गरिएको लकडाउन पनि ढिला भयो। संक्रमण बढ्नुको अर्को मुख्य कारण भारतसँग जोडिएको सीमानाका हो।
महत्त्वपूर्ण कुरा के भने, जब हामीले भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको छ भन्ने रेडियो, टेलिभजनलगायतका सञ्चारमाध्यमबाट थाहा पाइरहेका थियाैं, यति बेलादेखि हामीले यता तयारी गर्नुपर्थ्यो।
हाम्रो खुला सीमापारीको संक्रमणको भयावह स्थिति हेरेर यता तुरून्त ‘एक्सन’ लिन सकेनौँ। त्यो कुरालाई गम्भीररूपमा पनि सोचेनौँ।
सीमानाकामा दुई-तीन हप्ता अगाडि नै कडाइ गरेर परीक्षण बढाएर नेपालगञ्जको स्थानीय गतिविधि कडाइ गरेको भए सायद यो स्थिति आउँदैनथ्यो होला। अहिले संक्रमितको पनि ‘ओभरलोड’ हुँदैनथ्यो।
हामीले दुई हप्ता अघिदेखि नै यो कुरा यहाँका सरोकारवाला निकायहरूलाई भन्दै आएका थियौँ। कसैले पनि त्यो कुरालाई गम्भीर रूपमा लिएन।
जब हामीसँग बेडहरू खाली थियो, तब यो अवस्था आउँछ भन्ने कसैले आकलन गरेन। ‘ठिकै छ हेर्दै जाऔं, पछि बेड पुगेन भने व्यवस्था गरौँला’ भन्ने सोच भयो। हामीले जुन समयमा तयारी गर्नुपर्ने त्यो बेला चुप लागेर बस्यौँ। जुन समयमा ‘एक्सन’ लिनुपर्ने त्यो समयमा तयारी गर्न थाल्छौँ। अघिल्लोपटकको संक्रमणबाट पनि हामी नियन्त्रण र व्यवस्थापनबारे केही पाठ सिकेनौँ।
यत्रो महामारीबाट हामीले कम्तीमा पूर्वतयारी र व्यवस्थापनबारे सिक्नुपर्थ्याे। अहिलेसम्म पनि कोभिड व्यवस्थापनका लागि कुनै तालिमसमेत भएको छैन। जस्तो भनौँ न, सरकारको त बिरामी व्यवस्थापनबारे धेरै तालिम हुन्छ। कोभिड म्यानेजमेन्टकै लागि पनि फिक्स हुन्छ। जस्तो यो भयो भने यो औषधि चलाउने, यति दिनमा भएन भने रेमडिसिभिर चलाउने, भएन भने प्लाज्मा चलाउने भन्ने फिक्स ट्रिटमेन्ट छ। त्यसमा अन्य दायाबायाँ नै छैन।
यो कुराहरू हामीले पहिलेको अवस्थाबाट सिकेर योजना बनाउनुपर्थ्यो। तालिम दिनुपर्थ्यो। जनशक्ति त्यसैअनुसार तयार बनाएर राख्नुपर्थ्याे। अहिले अर्को समस्या जनशक्तिको पनि छ।
हाम्रो कोहलपुरको अस्पतालमा कोभिड र ननकोभिड दुवै बिरामीको उपचार चलिरहेको छ। ननकोभिड वार्डमा पनि २५० भन्दा बढी बिरामी भर्ना भई उपचाररत छन्।
मान्छेहरूलाई के लाग्छ भने यति ठूलो मेडिकल कलेज छ, बेड थप्दा के समस्या हुन्छ? बेड त थप्ने तर २५० भर्ना भएका ननकोभिड बिरामीलाई कहाँ पठाउने?
उनीहरू पनि विभिन्न समस्या भएरै भर्ना भएका हुन्। उनीहरूको ज्यान पनि जोखिममा छ।
अहिले संक्रमित भएर अस्पताल भर्ना भएका सबै स्थानीय नै हुन्। यसले संक्रमण समुदायमा फैलिसकेको छ भन्ने पुष्टि गरेको छ।
बजारभित्र पनि धेरै संक्रमित भएर घरमै बसिरहेका छन्। जब सास फेर्न गाह्रो हुन्छ, र अक्सिजन लेवल घट्न थाल्छ तब उनीहरू अस्पताल पुग्छन्।
त्यस्तो अवस्थामा अक्सिजनसहितको बेड दिनुपर्यो तर अक्सिजन बेड छैन।
संक्रमण नियन्त्रणका लागि अहिले उपमहानगरपालिका क्षेत्र भित्रमात्र लकडाउन गरेर हुँदैन। राँझासम्म बन्द छ। त्यसपछि कोहलपुर सबै खुला छ। कोहलपुर बाँके आउँदैन र? नेपालगञ्जमात्र बन्द गरेर संक्रमितको लोड घट्दैन।
समग्र जिल्लाको कुरा गर्ने हो भने नेपालगञ्ज बन्द गरेर हुँदैन। नेपालगञ्जभित्र भएको लकडाउन पनि कडा छैन।
अस्पतालमा बिरामीले उपचार, बेड पाइरहेका छैनन्। यस्तो अवस्थामा त एकदम कडा लकडाउन हुनुपर्ने हो। तर, यहाँ छैन। बजारमा मानिसहरू घुमिरहेका छन्।
स्थानीय तहमा पनि अक्सिजनसहितको आइसोलेसन बेड बनाउनुपर्छ।
हाम्रो अस्पतालको कोभिड वार्डको जुनजुन बेडमा अक्सिजन पोर्ट छैन, थप गर्न कुरा गरिरहेका छाैं। हामीलाई अक्सिजनको भन्दा पनि बेडसँगै पोर्ट नभएकाले समस्या भएको हो। बेडमा भरिने गरी बिरामी राखेर मात्र भएन, उनीहरूलाई अक्सिजन चाहियो भने समस्या हुन्छ।
अहिले भर्ना भएका बिरामी कलेज जाने विद्यार्थीदेखि वृद्धवृद्धा छन्। हरेक दिन पीसीआर परीक्षणको ७० देखि ८० प्रतिशतलाई पोजिटिभ देखिएको छ भने ९० प्रतिशत लक्षणसहितका बिरामी छन्।
त्यसले तुरून्त यो क्षेत्रमा लकडाउन गर्नुपर्छ। लकडाउन समाधान त होइन तर यसले संक्रमणको साङलो तोड्न सहयोग गर्छ। संक्रमितको लोड घटाउँछ। सीमानाकामा त कडाइ गर्नैपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।