काभ्रेपलाञ्चोक– कोरोना संक्रमण बढ्न थालेसँगै पर्यटकीय गन्तव्य धुलिखेलका होटलका बुकिङ धमाधम रद्द हुन थालेका छन्। कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्दै गएपछि यही वैशाख पहिलो सातादेखि नै होटलका बुकिङ रद्द हुन थालेको क्षेत्रीय होटल संघ (हान)ले जनाएको छ।
धुलिखेलका होटल सञ्चालकबाट बुकिङ गरिएका कार्यक्रम सबै रद्द गर्न थालिएको गुनासो आइरहेको संघका अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए। ‘मेरो होटलमा समेत एक दर्जन कार्यक्रम रद्द भइसके, अरु रद्द गर्ने क्रममा छन्,’ धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने। दैनिक दुई सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने रिसोर्टमा वैशाखपछि दैनिक ५० जनासम्म पनि नआएको उनले बताए।
गत वर्षको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित हुने देखिन्छ। धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलछन्।
धुलिखेलमा होटल–पर्यटनमा मात्रै करिब ५० अर्ब रुपैयाँ लगानी रहेको संघले जनाएको छ। यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
वैशाख अन्तिम सातासम्मका होटलका बुकिङ रद्द भइरहेको धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले बताए।
कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौमा विशेष तीन प्याकेजको समेत घोषणा गरेका थिए।
संघले ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’ विशेष प्याकेज सञ्चालन गर्दै आएको थियो। साथै हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।