काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको ‘अनपेक्षित’ भेटघाटले विभाजनको डिलमा पुगिसकेको एमालेमा नयाँ तरंग ल्याइदिएको छ।
एमालेका नेता र कार्यकर्ताले दुई नेताबीच तोडिएको संवादहीनता जोडिँदा एमाले विभाजनबाट जोगिने आशा गर्न थालेका छन्। कतिपयले भने यसलाई प्रधानमन्त्री ओलीको अर्को ‘रणनीतिक मूभ’ भएको टिप्पणी पनि गरिरहेका छन्।
बुधबार साँझ भएको भेटमा ओली र नेपालबीच के भेट भयो त? नेपालले बिहीबार आफूनिकट सांसदहरूको भेला राखेर त्यो भेटबारे ‘ब्रिफिङ’ दिए। र, आफूहरूबीच भएका धेरै कुरा सुनाए।
नेपालले आफूनिकट सांसदहरूलाई सुनाएअनुसार भेटको शुरुमै ओलीले ‘मलाई त तपाईंहरूले कारबाही गरेको हो नि’ भनेका थिए। ‘उहाँले मलाई कारबाही किन गर्नुभो भनेर सोध्नुभो’, नेपालले दिएको ब्रिफिङ उद्धृत गर्दै एमालेका एक सांसदले नेपाल लाइभसँग भने, ‘मैले नेकपाकालीन पूराना कुरा नकोट्याऔं, अब ती कुरामा नअल्झिऔं भनें। र, पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काएर अगाडि बढौं भन्ने आफ्नो कुरा राखें।’
नेपालले सुनाएअनुसार दुई जनाबीचको भेटका लागि भएको प्रयास पनि रोचक थियो। उनले सांसदहरूलाई सुनाएअनुसार प्रधानमन्त्री ओलीले सबभन्दा पहिले भेटका लागि बालुवाटार आउन नेपाललाई आग्रह गरेका थिए। नेपालले बालुवाटार नआउने बताएपछि उनले बालकोट (आफ्नो निवास)मा भेट्न प्रस्ताव गरेका थिए। नेपालले बालकोटमा पनि नभेट्ने भनेपछि ‘न्युट्रल भेन्यू’का रूपमा नक्सालको नागपोखरीस्थित मेरियट होटल तय भएको थियो।
भेटका क्रममा ओलीले पूर्वएमाले नेता सीपी मैनाली लगायतका प्रसंग उप्काएको नेपालले उल्लेख गरे। उनीहरूबीच निकैबेर ‘मन माझामाझ’ चल्यो। नेपालले पटक–पटक एमाले जेठ २ मै फर्कनुपर्ने बताएपछि ओलीले सोधेका थिए- ‘त्यसो हो भने माओवादीबाट आएका बादलजीहरूलाई हामीले कहाँ छाड्ने, कसरी छाड्ने?’
‘बादलजीहरूलाई छाड्ने कुरा हामीले गरेकै छैनौं, पहिले पार्टीलाई जेठ २ मा फर्काऔं, त्यसपछि सबै लागेर यो कुरा मिलाउँला भनें’, नेपालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘उहाँले त्यसमा धेरै कमेन्ट गर्नुभएन।’
त्यसक्रममा ओलीले जेठ २ मा फर्कंदा आफ्नो सरकार सिधै अल्पमतमा पर्ने बताएका थिए। ‘अल्पमतमा पर्यो भने हामी सबै मिलेर बहुमतमा पुर्याउने पहल गरौंला नि’, नेपालले आफूले राखेको कुरा सांसदहरूलाई सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।