काठमाडाैं- संगीतको परख गर्न चाहनेहरु माझ मात्रै होइन, नृत्य र अभिनयको तीर्खा मेटाउनेहरुको प्रिय थलो टिकटक भएको छ। अभिनय पारखीमाझ दुईटा गीत हिट छन्, ‘हातैका पौंजाले’ र ‘सनिसार’।
शब्दमा पश्चिमी लवज समातेका यी दुई विरही भाकाका सर्जक र गायक एउटै हुन्, कुशल बेलबासे। पिरतीमा असफलता बेहोरेकाहरुको मनको व्यथा गीतमार्फत् प्रस्तुत गर्ने क्रममा ‘सनिसार’मा यस्ता शब्द छन्:
केटा: लाकुरी छेउमा एक नाम्ले पैयाँ पैयाँमा चिल बस्यो
छोडेर गाकी उइ मेरी मैयाँ, मैयाँमा दिल बस्यो
हो चरन, जमाना अनिसार, यै मायाले जलायो सनिसार
केटीः यो पिरतीले तातेको छाति पानीले सेलाउँ छ र
फल्नाका छोरी बहुलाइ रे भन्छन्, बहुला’सी के लाउँछ र ?
शब्दमा स्थानीय स्वाद
अर्घाखाँचीमा जन्मेहुर्केका गायले गीतमा त्यहीँ प्रचलित सनिसार (संसार), अनिसार (अनुसार)जस्ता स्थानीय लवजमा सुनिने थुप्रै शब्द प्रयोग गरेका छन्। अरु नेपालीभाषीले सुन्दा फरक लाग्ने स्थानीय शब्द यसअघि ‘हातैका पौंजाले’मा पनि प्रयोग गरेका थिए। हत्केला वा पञ्जालाई आफ्नै गाउँले लवजमा प्रस्तुत गर्दा रुचाएपछि अहिले पनि निरन्तरता दिए।
लोकगीत भनेकै लोकको सुगन्धसहितको गीत हो। तर, अहिले लोक भनिएको गीत त्योभन्दा धेरै वर आइपुगेका बेला कुशलले प्रस्तुत गरेको कुशलता दर्शकस्रोताले रुचाएका छन्।
उनलाई लाग्छ, ‘आफू जन्मेको माटो र त्यसको सुगन्धसँगै लडिबुडी खेल्न मन लाग्यो। त्यसैले त्यहाँ सुनेका शब्दहरु गीतमा प्रयोग गरें।’ कति शब्द सुने, अर्थ कसैलाई कहिल्यै सौध्ने मौका पाएनन्। जस्तो: चरन। त्यसको अर्थ के ? उनलाई थाहा छैन। तर, गाउँमा प्रयोग भएको उनले सुनेका हुन्। उनको अर्थ्याइ छ, ‘रैथाने शब्दहरुलाई त्यहीँको भावमा प्रस्तुत गर्ने क्रममा दिमागमा आएका शब्द गीतमा उतारें।’
समाजको आफ्नो शब्दकोष हुन्छ। त्यो वृहत नेपाली शब्दकोष भन्दा वृहत हुन्छ। उनलाई लाग्छ, ‘धेरै शब्दको अर्थ शब्दकोषमा खोजेर पाइँदैन। ती कहीँ प्रयोग हुँदा भाव बुझाइदिन्छन्।’
उनले भनेजस्तै धेरैले गीतको भाव बुझे। ‘आफ्नो गाउँका शब्द अरुले नबुझ्लान् कि?’ उनलाई यस्तो पनि लागेको हो। आफैंले सम्झाए, ‘देउडा बुझिन्छ त। गडवाली पनि ध्यान दिएर सुन्दा मीठै सुनिन्छ। ९ वटा शब्दमा ८ वटा बुझिन्छ भने एउटाको भाव झल्किन्छ।’
भोगेकै व्यथा, देखेकै कथा
गीत मन पर्नका लागि श्रवणीय संगीत र स्वर त हुनुपर्छ नै। विरही भाकामा त्यतिले पुग्दैन। शब्दमा पनि मनेको गहिराइमा पुग्ने वजन हुनुपर्छ। दुवै गीतमा प्रेमलाई संयोगान्त बनाउन नसक्ने दिलको भित्ता खलबल्याउने क्षमता राख्ने शब्द छन्। कतिले गीत सुनेर रुँदै उनलाई फोन गरेका छन्।
केही दिनअघि एकजनाले उनलाई फोनमा भने, ‘कस्तो मेरै जीवनको कथा उतारिदिनुभयो। उनले रुन्चे स्वरमा थपे– तपाईंको फोटो राखेर छातिमा ट्याटु खोप्छु अनुमति दिनुहुन्छ?’
कलाकारको सवैभन्दा ठूलो सम्पत्ति प्रशंसक हो। सिर्जनाका कारण प्राप्त हुने यस्ता प्रशंसक सफलताका मानक हुन्। त्यो फोनको आएको दिन कुशल निकै भावुक बने। उनलाई निकैबेर लागिरह्यो, ‘जीवनमा मैले जस्तै आँशु अरुको पनि बगेको रहेछ, मेरो जस्तै भावना अरुसँग पनि रहेछ।’ उनको एउटा प्रेमकहानी यिनै गीतको छेउछाउ हुँदै गुज्रेको छ। तर, त्यसलाई सार्वजनिक त उनी कहिल्यै गर्ने छैनन्। गुम्सिएका भावना यसैगरी गीतमार्फत् पोखिनेछन्।
सम्झिदा अहिले पनि भावुकचाहिँ हुन्छन्। ‘वर्ग, जात र धर्मका नाममा प्रेम छुट्ने क्रम अहिले पनि चलिरहेकै छ। मैले पनि एक समय समाज वा परिवारलाई मनाउन सकिनँ होला,’ भावुक हुँदै यत्ति भने। पाँच वर्षको प्रेममा पूर्णविराम लागेपछि परेको चोट संगीतका रुपमा बाहिरिएको हो भनेर बुझ्न मुश्किल परेन।
त्यो खराब संगत, यो कुशल संगीत
शब्दमा गहिराइ नाप्न उनले कति प्रेमजीवन यसैगरी टाढिएको देखिएका छन्। संगीतमा उनकै जीवनको संघर्षको केही हिस्सा मिसिएको छ। सफलताको यो खुड्किलोसम्म पुग्न उनले समयले दिएका थुप्रै चोट सहेका छन्। उन्नत जीवनको खोजमा झन् धेरै हन्डर खेपेका छन्।
अर्घखाँचीमा १२ कक्षासम्मको पढाइ सक्काएर काठमाडौं आएका उनी ताहचल क्याम्पसमा भर्ना भए। पढाइ त एउटा बहाना थियो, चाहना त गायक बन्ने। सँगै आफ्नो जीवन धान्नु त छँदै थियो।
गाउने रहर पूरा हुने र गुजारा पनि चल्ने एकै थलो थियो दोहोरी साँझ। बानेश्वरमा रहेको एउटा दोहोरीमा उनको प्रवेश भयो। दोहोरी साँझ कति फेरिए, कति। तर, जीवनको लय खाश फेरिरहेको थिएन। यही क्रममा एउटा पात्र भेटियो दोहोरी साँझको ग्राहक टेबलमा। नियमित आइरहने। नियमित ग्राहकसँग उनको चिनजान भयो। ती ग्राहक किन विशेष थिए भने टिप्स नै चालिस हजारसम्म दिन्थे।
उनलाई सम्झना छ, ‘दोहारीमा सय रुपैयाँ टिप्स पाउँदा खुशिले बुरुक्क उफ्रिने समय थियो। तीसदेखि चालिस हजारसम्म टिप्स पाउँदा खुशी नहुने कुरा नै भएन।’
ती मनकारी मान्छेसँग संगत गर्न मन लाग्यो उनलाई । ती मान्छेले नजानेको केही छैन जस्तो लाग्थ्यो उनलाई । किनभने देशदुनियाँका कुरा मात्रै गर्ने होइन, भाषा नै २६ वटा जानेको भन्दै कुरा गर्थे।
नियमित कुरा गर्ने क्रममा उनलाई दुःखबाट दूर लैजाने गफ दिए ती व्यक्तिले। ‘डेनमार्क जाने सल्लाह दिए, साथै सहयोग गर्ने बाचा पनि गरे। काम अंगुर टिप्ने मात्रै, बोकेर लाने पनि अर्कै आउँछ। पैसा महिनाको तीन लाख पाइन्छ,’ कुशललाई विश्वस्त तुल्याए।
कुरा सुनेकै दिन उडिहालौं जस्तो भयो कुशललाई। त्यसका लागि खर्च १० ला रुपैयाँ लाग्ने हिसाव निकाले ती व्यक्तिले। वर्षमा ३६ लाख कमाइने भएपछि १० लाख तिर्न ठूलो समस्या ठानेनन् उनले। तर, जोहो कसरी गर्ने? प्रश्न स्वभाविक रुपमा आइलाग्यो।
त्यो डुबेको १० लाखको हिसाब मिलान गरे, ‘६ लाख ऋण, दुई लाख कमाइ र दुई लाख फाइनान्सबाट निकालेर बुझाएँ। करिब ११ बर्षअघिको कुरा हो यो।’ ती मान्छेले कुशलका साथै त्यस्तै १० जना युवा जम्मा गरेका रहेछन्। हरेकसँग १० लाख रुपैयाँ लिएका उनले महेन्द्रनगर हुँदै भारत पुर्याइए। सुरुमा पाँच तारे होटल बसाइयो। विस्तारै पैसा सकिँदै गएपछि हामीलाई सुकुम्बासी बस्तीमा पुर्ययो।
‘पाँचतारे होटलदेखि नालीसम्म सुतायो त्यो मान्छेले,’ उनले सम्झिए, ‘यसरी घरबाट विदेश हिँडेको ४ महिना बित्यो। त्यसपछि मलाई लाग्यो, पक्कै गडबड छ। अझै पैसा आउँछ भनेर म नेपाल फर्कें। मसँगै अरु केटाहरु पनि आए। नेपाल आएपछि अरुका आफन्तहरु आए र त्यो मानिसलाई पक्रेर पुलिसकोमा लगे।’
रुमालले गराएको एउटा दुर्घटना
अंगुरको बोटमा पैसा टिप्ने सपना यहीँ चकनाचुर भयो। संगतबाट धोका खाएका उनी संगीततिर डुब्न थाले। उही दोहोरीको रातविरात यात्रा जारी रह्यो।
यही क्रममा घटेको एउटा घट्नाले उनलाई अहिले पनि झसंग बनाउँछ। बालाजुको साइडमा भएको एउटा दोहोरीमा काम गर्थे। मोबाइलमा रिचार्ज सकिएकाले राति उनी बाहिर निस्के र किनेर फर्किदै थिए। बाइकमा आएको एकजनाले उनलाई जर्बजस्ति गरेर बाइकमा बसायो। कतै लैजान खोज्यो।
सुरुमा अकमकिएर पछाडि बसेका उनले केही पर पुगेपछि उसको कम्मरमा खुकुरी देखे। त्यसपछि उनको दिमागमा आफू अपहरणमा परेको महशुस भयो। उनले बाइक अनकन्ट्रोल गराएर ढाले सडकमै। भएको ताकतले मुक्का प्रहार गरे। घाइते भएपछि प्रहरीलाई फोन गरेर पक्राए।
उनी त्यसरी अपहरणमा पर्नुको कारण रहेछ, खल्तीको रुमाल। रातो रुमाल खल्तिमा राख्ने उनको बानी छ। त्यो रुमाल हेर्दा पैसाको बिटो जस्तो देखिएछ। नियमित पैसासहित हिँड्ने गरेको लागेको रहेछ, त्यो टोले गुण्डालाई।
बेदनाले भरिएका गीत सिर्जना गर्दैगर्दा, त्यसैमा संगीत भर्दै गर्दा जीवनमा घटेका यिनै घटना सम्झिन्छन्। यसरी बनेका गीत धेरैको जीवनको साझा कथा र व्यथा भइदिन्छन्। बनिदिन्छन् टिकटक। हेरिइन्छन् युट्युबमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।