काठमाडाैं- सर्वोच्च अदालतले फागुन २३ गते नेकपा नाम विवादमा फैसला गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो। तर, ब्युँतिएको एमाले भने सग्लो नरहने प्रशस्त संकेतहरु देखिएका छन्। यतिबेला यो पार्टी दुई समूहद्वारा समानान्तर रुपमा चलिरहेको छ। एक पक्षको नेतृत्व केपी शर्मा ओली र अर्को पक्षको नेतृत्व माधवकुमार नेपाल तथा झलनाथ खनालले गरिरहेका छन्।
गत फागुन २८ गते ओलीले आफू पक्षका केही केन्द्रीय कमिटी सदस्यको साथ लिएर केही विवादास्पद निर्णयहरु गरिदिए। त्यसलाई अस्वीकार गरेको नेपाल-खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरे। छुट्टाछुट्टै भइरहेका गतिविधि बढ्दै गएर वरिष्ठ नेता नै नेपाल नै निलम्बन हुने स्थिति उत्पन्न भएको छ। ओलीले आफूलाई अनुकूल हुने गरी विधान परिवर्तन गर्ने र आफू अनुकुल निर्णय गर्ने गरिरहेका छन्। नेपाल पक्षले भने विभिन्न भातृ संगठन, जिल्ला हुँदै प्रदेश कमिटी समेत घोषणा गर्न थालेको छ। यतिबेला यो पक्ष तीन महिने अभियानमा छ।
एमालेका शीर्ष नेताहरुबीच संवाद हुन सकेको छैन, बरु सार्वजनिक कार्यक्रमबाट तिक्तता व्यक्त भइरहेका छन्। दोषारोपण चलिरहेको छ। कम्युनिस्ट पार्टीमा यसअघि देखिने गरेको विभाजनको पूर्वाभ्यास तीव्र गतिमा भइरहेको छ। यी सबै परिस्थिति कसरी सिर्जना भयो र पार्टीभित्रको अन्योलबाट निकास निस्कने सुत्र के हुनसक्छ? यी र यस्ता विषयमा एमालेका उप-महासचिव घनश्याम भुसालसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको संवादः
तपाईंहरु आफैंले सैद्धान्तिक, वैचारिक, संगठनात्मक रुपमा योगदान गरेको पार्टीबाट निलम्बन भोग्नुपर्दा कस्तो महसुस भइरहेको छ?
पार्टीभित्रै बसेर हेर्दा मलाई खासै अनौठो लागेको छैन। किनकी, केपी शर्मा ओलीलाई हामीले गएको ६/७ वर्षदेखि व्यहोरेर आएका छौं। मलाई त उहाँले माओवादीसँग एकीकरण गर्नुभन्दा अगाडि नै तत्कालीन एमालेबाटै निकाल्न चाहनुहुन्थ्यो। त्यसको एउटै कारण थियो, मैले प्रश्न गर्न छाडिनँ। त्यसपछि पनि उहाँ जता जाँदै हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, जे गर्न खोजिरहनुभएको छ, यस हिसाबले हेर्दा यहाँभित्र मूल्य मान्यता, विधि पद्धति, सिद्धान्त, आदर्शलाई भत्काउनेमा उहाँ गइरहनुभएको छ।
ओलीजीले यस्तो कारबाही गर्नु स्वाभाविक हो। तर, एउटा पार्टी र आन्दोलन जसमा ४३/४४ वर्ष मैले नै बिताएँ। त्यसमा मिहिनेत, बुद्धि, क्षमता र अध्ययनको लगानी गरियो। हाम्रो टिमको तर्फबाट भन्ने हो भने त पछिल्लो पटक हामीले पार्टीको सिद्धान्त नै बनायौं। कार्यदिशा बनायौं। २००६ सालमा एउटा सिद्धान्त बनेको थियो। हामीले २०७१ सालमा अर्को सिद्धान्त बनायौं र पार्टीको महाधिवेशनले स्वीकार गरेको छ। हामीले त्यो योगदान गर्यौं। त्यहाँ चाहिँ कारबाही भन्दा नमीठो लाग्नु एउटा कुरा हो। तर, यो सबै कुरा ओलीजीले बिर्साइदिनुहुन्छ। त्यो भन्नुको अर्थ, ओलीले यो गर्नु नयाँ र अनौठो लाग्दैन।
ओलीले जसरी पार्टी सञ्चालन गर्न खोज्नुभएको छ, त्यस कोणबाट चाहिँ यो कारबाही सामान्य हो भन्ने तपाईंको भनाइ हो?
उहाँले कसैसँग कुनै सम्झौता गर्नुभएको छ भने त्यहाँबाट आफ्नो पक्षमा भएका कुरा लिनुहुन्छ। तर, अर्को पक्षलाई आजसम्म दिनुभएको छैन। दिनुहुन्न। उहाँको सम्बन्धहरु यसरी बन्छन्। उहाँ व्यक्तिगत रुपमा, नागरिकका रुपमा हामी बराबर हौं भनेर कसैलाई मान्नुहुन्न। त्यो त उहाँको औपचारिक वक्तव्यहरुमा पनि देखिन्छ। अनौपचारिक हिसाबले उहाँले गन्ने र सम्मान गर्ने कोही मान्छे देखिँदैनन्।
ओलीजीमा एउटा समस्या छ। म चाहिँ त्यो मनोवैज्ञानिक समस्या हो भन्ने टुंगोमा पुगेको छु। त्यो एउटा मनोविकार हो। उहाँका लागि दुई खाले मान्छेहरु मात्रै छन्। पहिलो, उहाँको चाकरी गर्ने मान्छे छन्। दोस्रो, जसले चाकरी गर्दैनन्, ती सबै शत्रु हुन्। उहाँको परिभाषामा बीचमा अरु कोही पनि मान्छे छैनन्। दुनियाँलाई उहाँ किन यसरी हेर्नुहुन्छ भन्नेचाहिँ मनोवैज्ञानिक अध्ययनकै विषय हो।
उहाँको चाकर र शत्रु खुट्याउने मनोवृत्ति पछिल्लो समय हुर्किएको प्रवृत्ति हो कि पहिलेदेखि नै थियो?
२०७१ सालमा सम्पन्न नवौं महाधिवेशनभन्दा अलिकति अगाडि उहाँसँगको छलफलका दौरानमा हामी एउटा सम्झौतामा पुगेका थियौं। उहाँ आठौं महाधिवेशनमा अध्यक्ष हार्नुभएको थियो। त्यसपछि उहाँ स्थायी कमिटीको सदस्य मात्रै हुनुभयो। उहाँ वरिष्ठ नेता हुन चाहनुहुन्थ्यो। अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालपछिको ‘पोजिसन’मा हुन चाहनुहुन्थ्यो। त्यसका लागि हामीसँग धेरै कुराकानी गर्नुभयो। हामीले करिब-करिब ६ महिना कुरा गर्यौं। उहाँलाई तेस्रो वरियतामा ल्याउनु उपयुक्त हो भनेर म र केही साथीहरु नै लागेका थियौं। पार्टीका हिसाबले यो गर्नु आवश्यक थियो। त्यतिबेला पनि उहाँले जुन गुटबन्दी गरेर, केन्द्रीय कमिटी चल्न नदिएर धेरै अप्ठ्यारो पारिदिएपछि उहाँलाई यति दिऔं भनेर मैले झलनाथ खनाल, वामदेव गौतम लगायतसँग कुराकानी गरेर उहाँलाई त्यो स्थान दियौं।
त्यस क्रममा रवीन्द्र अधिकारीलाई गण्डकीको सचिव बनाउँछौं भनेर उहाँहरुले नै भन्नुभएको थियो। सहयोग गर्छौं भन्ने खालको कुराकानी गर्नुभएको थियो। जब आफ्नो भाग लिनुभयो, रवीन्द्र अधिकारीलाई सचिव बन्न दिनुभएन। त्यसपछि एकैपटक ६/७ वर्षपछि मैले ओलीलाई भेटेको हुँ। बीचमा व्यक्तिगत रुपमा बसेर उहाँसँग कुनै किसिमको छलफल भएको पनि थिएन। त्यति स-साना कुराहरुमा समेत उहाँले जे बोल्नुहुन्छ, त्यो गर्नुहुन्न।
तपाईंहरुले समस्याको गलत इलाज त त्यही बेलादेखि गर्नुभएको रहेछ नि?
वरिष्ठ नेता बनाउँदा, विधानको हिसाबले तपाईंले भनेको कुरा ठीकै हो। विधानमा अध्यक्षपछि त्यसअघिको पार्टी प्रमुख वरिष्ठ नेता हुने व्यवस्था छ। अध्यक्ष लडेको मान्छे, त्यस हैसियतको, सँगसँगै लडेर आएको, १४ वर्ष जेल बसेको, पार्टीमा त्यत्रो योगदान गरेको छ। त्यसैले यो विषयलाई विधानमा मात्रै सीमित रहेर हेर्नुहुँदैन है भन्ने लागेको हो। मलाई अहिले पनि लाग्छ। विधानमा पनि केन्द्रीय कमिटीले वरिष्ठता तोक्न सक्नेछ भन्ने व्यवस्था थियो। हामीले त्यही वैधानिक व्यवस्थामा टेकेरै त्यो निर्णय गरेका हौं। तर, हामीले नगरेको भए हुँदैनथ्यो। किनभने, केन्द्रीय कमिटीमा उहाँ अल्पमतमा हुनुहुन्थ्यो। व्यावहारिक र नैतिक हिसाबले त्यो निर्णय गर्नुपर्छ भन्ने लाग्यो। हामीले त्यसरी सोच्यौं। तर, अहिले उहाँले हामीलाई निलम्बन गर्नुभएको छ।
आफूसरहकै नेतालाई निलम्बन नगरी नहुने अहिले ओलीको बाध्यता के हो?
यही नबुझेकै कारणले मैले मनोवैज्ञानिक समस्या भनेको हुँ। उहाँलाई नपुगेको केही पनि छैन। उहाँले १४ वर्ष जेल बसेको लगायत पार्टीमा योगदान गरेको कुरा गर्नुभयो। उहाँलाई प्रधानमन्त्री र पार्टी अध्यक्षको हिसाबले उहाँले वैधानिक व्यवस्थाहरु तोड्दै जानुभयो, बलमिच्याइँ गरेर जानुभयो। त्यसरी उहाँ सत्तामा रहिरहनुभएको छ। त्यस हिसाबले उहाँले सत्ताको ‘भोग’ गरिराख्नुभएको छ। नपुगेको केही पनि छैन। नेकपामै पनि भदौ २६ गते उहाँलाई भनिएको के मात्रै थियो भने, तपाईंले पार्टीसँग, पार्टीको स्थायी कमिटीसँग, सचिवालयसँग छलफल गरेर काम गर्नुहोला। तर, तपाईं महाधिवेशनसम्मै अध्यक्ष हो। पाँच वर्षसम्म तपाईं प्रधानमन्त्री नै हो। यसरी स्थायी कमिटीले सर्वसम्मत रुपमा लेखेर दिँदासमेत उहाँ संसद् विघटन गर्न जानुभयो। किन त्यतातिर जानुभयो? मैले त्यतिबेलादेखि नै भन्ने गरेको छु- यो रहस्यमय छ। त्यसैले उहाँको मनोवृत्ति नै रहस्यमय लाग्छ मलाई। तर, दुर्भाग्य! त्यस्तो ‘अनप्रेडिक्टेबल’ मान्छे हाम्रो प्रधानमन्त्री पनि हुनुभयो, हाम्रो यत्रो ठूलो पार्टीको अध्यक्ष पनि हुनुभयो।
अहिले ओलीले जे गरिरहनुभएको छ। त्यसलाई नेकपाकालमा तपाईंहरुले जे गर्नुभयो (स्पष्टीकरण, पार्टी अध्यक्षबाट निष्कासन, संसदीय दलको नेताबाट मुक्त) त्यसैसँग तुलना पनि गरिन्छ नि। हिजो तपाईंहरुले त्यस्तै निर्णय गर्न हुने, आज ओलीले किन नहुने?
तुलना गरेका छैनन्। मैले एउटा सन्दर्भमा ‘साइबर स्याल’, तिनीहरुले कहीँकहीँ भनेको देख्छु। नत्र, त्यतिखेर दुइटा पार्टीको कुरा हो। एउटा पार्टीका मान्छेले अर्को पार्टीका मान्छेलाई निकालेको हो। एउटा पार्टीका मान्छेले अर्को पार्टीका मान्छेका विरुद्ध देशव्यापी रुपमा निन्दा र भर्त्सनाको अभियान चलायो। भएका यिनै हुन्। ओलीजीले त्यही लेख्न मात्रै बाँकी राख्नुभएको हो। गालीकै कुरा गर्ने हो भने ओलीजीलाई गाली गर्ने प्रतिस्पर्धामा कसैले जित्न सक्छ? यता प्रचण्ड-माधव वा हाम्रो समूहले ओली हाम्रो अध्यक्ष रहनुभएन भन्यो। किनभने यो अलग पार्टी थियो। अलग पार्टीको रुपमा दुवै तर्फ गतिविधि भएका थिए। त्यो अर्कै कुरा हो। कि त यो (एमालेको अहिलेको अवस्था) पनि अलग (पार्टीको) हो भन्नुपर्यो। त्यो भयो भने हो। किनभने, माधवकुमार नेपाल र घनश्याम भुसालहरुको पार्टी अलग हो र हाम्रो पार्टी अलग हो भनेर वैधानिक र नैतिक रुपमा भन्नुभयो भने जे गर्दा पनि हुन्छ। यदि त्यसो होइन, यो नेकपा एमाले हो र २०७५ जेठ २ गतेमा जाने हो भनेर अदालतले भनेको कुरालाई टेक्ने हो भने अहिले ओलीले गरिरहेको गतिविधि अवैधानिक हो। अनैतिक हो।
निलम्बन र कारबाहीको बाटोबाट ओली कहाँसम्म पुग्नुहोला?
मैले भन्दै आएको छु, कमरेड ओलीको क्षमता र सामर्थ्यले भ्याएसम्म हाम्रो कम्युनिस्ट पार्टी बर्बाद पार्ने हो। बच्यो भने उहाँको सामर्थ्यले नभ्याएर मात्रै बच्ने हो। हिजो हामीले त्यत्रो बहुमत ल्यायौं। जुन इतिहासको कम्युनिस्ट पार्टीमा त असाध्यै ठूलो प्रतीक्षा थियो। चीर प्रतीक्षित थियो। मुलुकका लिबरल डेमोक्र्याटहरुले पनि मुलुकमा स्थिरता आउने भयो, पाँच वर्षको स्थिर सरकार हुन्छ, कमसेकम राजनीतिक हिसाबले पनि, लोकतान्त्रिक संरचना र संगठनको हिसाबले पनि यी बलिया भएर जानेछन्, मुलुकको विकास हुनेछ भनेर सबैले सोचेका थिए। तर, उहाँ अर्कै बाटो हिँडिदिनुभयो।
हामी सबैभन्दा ठूलो पार्टी, संसद्मा कसैले चलाउन नसक्ने सरकार, एकीकृत पार्टी लगायत सारा कुरा भत्काउँदै भत्काउँदै आएर अहिले बाँकी बचेको नेकपा एमाले छ। कमरेड ओली त्यो पार्टी पनि भत्काउन लागिरहनुभएको छ। यसपछि उहाँको मात्रै लागेर पुग्ने हो भने उहाँले उहाँको तर्फबाट विभाजित गरिसक्नुभएको छ। यसलाई पुनः एकीकृत हुन उहाँले दिनुहुन्छ भन्ने चाहिँ लाग्दैन।
तपाईंहरुलाई सोधिएको स्पष्टीकरण र गरिएको निलम्बन त सार्वजनिक रुपमा आएका विषय हुन्। त्यसबाहेक तपाईंहरुको समूहप्रति ओलीले गरिरहेका आन्तरिक कसरत केही छन्?
समूह अहिले मात्रै बनेको होइन। महाधिवेशनमै पनि एउटा टेबल माधवकुमार नेपालको र अर्को टेबल खड्गप्रसाद ओलीको भनेर राखेर बसेका थियौं। यी दुई गुटमा नभएका स्वतन्त्रले उम्मेदवार हुने पनि ठाउँ थिएन। हामी त्यसरी आएका हौं। सैद्धान्तिक रुपमा त्यस्तो संगठन ठीक हो वा होइन भन्ने बारेमा मैले त्यतिबेलै पनि स्थायी कमिटीमा पनि पटक-पटक कुरा उठाएँ। तर, समाधान भएन। समाधान नभइकनै हामी यहाँ आएका छौं।
तपाईंले भनेको अर्को कुरा (ओलीका कसरत) सत्ताले गर्छ नै। त्यसमाथि हरेक सत्ताले मान्छेलाई भ्रष्ट बनाउँछ र भ्रष्ट सत्ताले अझ बढी भ्रष्ट बनाउँछ भन्ने अंग्रेजीमा भनाइ नै छ । त्यसकारण धाकधम्की सामान्य हो। प्रदेश सरकारहरुमा कसरी मुख्यमन्त्री भएका थिए, पछि उनीहरु अल्पमतमा परेपछि उनीहरुले के के गरे, गर्न लगाइयो? त्यसदेखि यता हेर्दा (कसरत) सबै चलेकै छ। र, यो सत्ताले गर्ने नित्य कर्म हुन् भन्ने लाग्छ। त्यसमाथि भ्रष्ट सत्ताले अझ बढी गर्छ।
अहिले सामान्य कार्यकर्तालाई तपाईंले एमालेको अवस्था कसरी बुझाउन चाहनुहुन्छ?
ओलीजीको हिसाबले भन्नुहुन्छ भने पार्टी फुटिसकेको छ। हाम्रो तर्फबाट भन्नुहुन्छ भने एमाले फुटेको छैन। फुट्न दिन्नौं। उहाँको तर्फबाट फुटाइसक्नुभयो भन्नुको अर्थ 'तिमीहरु नेकपा एमाले रहेनौ' भनेर उहाँले मान्छेहरुलाई निकालिसक्नुभएको छ। हामीले हाम्रो तर्फबाट यो पार्टीलाई नफुटाउनका निम्ति प्रयत्न गरेका छौं।
व्यक्तिगत रुपमा गएको वैशाखदेखि नै यत्रो विवादहरु भए, मेरो धेरै समय त्यसलाई विभाजित हुन नदिनमै लाग्यो। पछिल्लो समय फागुन २३ गतेको अदालतको फैसलापछि पनि ओलीजी बाहेक अर्को मान्छे, अझ नामै तोकेर भन्दिने हो भने सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाऔं। माओवादीसँग कुराकानी गरौं र गठबन्धन पनि राखौं। पार्टी एकीकृत पनि यसै रहने भयो, नेकपा एमाले रहन्छ, नेकपा माओवादी रहन्छ। अरु कुरा छलफल गरेर जाउँला। तर, सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाऔं भन्दाखेर ओली समूहकै दोस्रो तहका साथीहरु तयार थिए। तर, ओलीजीको रोग के छ भन्दाखेरी आफू भएन भने, आफ्नै गुटको पनि हुँदैन। जस्तो, सुवासजी उहाँकै टिमको मान्छे हो। दुनियाँलाई थाहा छ। संसद् विघटन गर्न हुन्न भन्ने कुरामा उहाँले चपाएर बोल्नुभयो, तैपनि त्यहीँ रहिरहनुभयो। दुई सय प्रतिशत समर्थन गर्छु भनेर रहिरहनुभएको थियो।
सुवासजीलाई प्रधानमन्त्री बनाऔं भन्ने कुरामा अरु साथीहरु तयार हुनुहुन्थ्यो। तर, उहाँ (प्रधानमन्त्री ओली) चाहिँ तयार हुनुभएन। त्यतिमात्रै गरेको भए वाम सरकार निरन्तर रहन्थ्यो। हाम्रो पार्टीमा त विवाद नै रहँदैनथ्यो। एकीकृत पार्टी विभाजित भएर पनि वाम सरकार रहन्थ्यो। वाम गठबन्धन रहन्थ्यो। भोलिका लागि एकताको उत्तिकै सम्भावना २३ गतेको फैसलापछि पनि बाँकी थियो। ओलीले त्यो पनि हुन दिनुभएन।
ओलीभन्दा पछिल्लो राजनीतिक तह राजनीतिक हो। राजनीति गरेरै आएका मान्छेहरु छन्। तलदेखि माथिसम्म संघर्ष गरेर आएका छन्। हिजो भूमिगत बसेका थिए। खुलै हुँदा पनि जेलनेल र यातना सहेका थिए। तर, तिनीहरुको दुःख के छ भने, ओलीजीको छत्रछायामा बडो राम्रो जिन्दगी बिताइरहेको छ। त्यसैले ओलीजीमाथि प्रश्न गर्न सक्दैनन्। किनभने प्रश्न गर्ने बित्तिकै उसले त्यो समूह छाडिहाल्नुपर्छ। ओलीलाई प्रश्न गर्यो भने कोही पनि रहनै सक्दैन त्यहाँ।
त्यसो भए त्यो त गुटभन्दा पनि गिरोह पो भयो त?
मैले त धेरै पटक भनेको छु। त्यो स्वार्थ समूह मात्रै होइन। स्वार्थ समूह मात्रै हुँदा त छलफलको गुञ्जायस रहन्छ। आफैं राजनीति गरेर आउनुभएको हो। तर, ओलीको छायाँले कस्तो बनाइदियो भने हिजो आफैंले योगदान गरेको, पञ्चायतमाथि प्रश्न गरेर आएको, कांग्रेसमाथि प्रश्न गरेर आएको, पुँजीवादमाथि प्रश्न गरेर आएको, त्यो कुरा नै भुलिसक्यो। 'नुन खाएको कुखुरा' भन्छौं नि, ओलीजीसँग रहनुभएका दोस्रो तहका नेताहरु त्यस्तै भएका छन्। कहिलेकाहीँ हाम्रा विरुद्ध फेसबुकमा स्टेटस लेख्नभन्दा बाहेक केही कामै गरिराखेका छैनन्। तिनले कहिले बुझ्लान्, बुझ्यो भने यो पार्टी एकीकृत होला। बुझ्न सकेन भने ओलीजीले यो पार्टी विभाजित गर्नुहुन्छ भन्ने लाग्छ।
त्यो पुस्ताले बुझ्ने सम्भावना छ?
बुझ्ने तत्व छ। तत्व भनेको आफैंले लडेर आफ्नो व्यक्तित्व बनाएको हो। तर, दुर्भाग्य के छ भने, उसले आफैंले लडेर आएको हुँ, मेरो व्यक्तित्व मैले बनाएको हुँ, मेरो नाम मैले बनाएको हुँ, मुलुकमा गणतन्त्र आयो भन्ने भुल्यो। गणतन्त्र किन राम्रो व्यवस्था हो भनेको? सामन्तवादमा गाउँभरी कसैको नाम हुँदैनथ्यो, मुखियाको मात्रै हुन्थ्यो। परिवारमा पनि ठूलाको मात्रै नाम हुन्थ्यो। बाउको मात्रै नाम हुन्थ्यो, आमाको हुँदैनथ्यो। बहिनी, छोरी, बुहारी, छोराको नाम हुँदैनथ्यो। देशमा पनि राजाको नाम हुन्थ्यो। अरु कसैको हुँदैनथ्यो। पहिचान हुँदैनथ्यो। इज्जत हुँदैनथ्यो। गणतन्त्र किन ल्यायौं भन्दा, ती सबै व्यक्तिको समान हैसियत, मूल्य र पहिचान बन्यो भनेको हो।
दुर्भाग्य, ओलीको समूहमा रहेका ती कमरेडहरु, जो लडेर आएका थिए, उनीहरु ओलीजी जत्तिकै लडेका थिए। ओलीजी जत्तिकै प्रतिबद्धताका साथ लडेका थिए। त्यतिकै रगत बनाएका थिए। तर, तिनीहरुलाई हामी आफैं लडेर हाम्रो व्यक्तित्व बनाएका हौं भन्ने कुरा करिब-करिब अहिले भुलिरहेको देख्छु मैले। त्यो धेरै डरलाग्दो कुरा हो। त्यो पार्टीका लागि मात्रै होइन, हाम्रो मुलुकको वामपन्थी, लोकतान्त्रिक आन्दोलनमा लडेर आएको एउटा त्यत्रो पार्टीको त्यत्रो टिमले आफ्नै योगदानको कुरा भुल्छ भने त हाम्रो लोकतान्त्रिक विकासका लागि यो असाध्यै डरलाग्दो कुरा हो। धेरै ठूलो क्षति हो भन्ने लाग्छ।
फागुन २३ गते सर्वोच्चको फैसलाले एमाले ब्युँताइदिएपछि तपाईंहरु निरन्तर बैठक बसिरहनुभएको छ। निर्णयहरु पनि गरिरहनुभएको छ। समानान्तर कमिटी गठन गर्नुभएको छ। त्यो सबै किन जरुरत पर्यो?
पहिलो त, ती समानान्तर कमिटी होइनन् भनेका छौं हामीले। यसको तर्क के हो भने, हामीलाई अदालतले २०७५ जेठ २ मा फर्कायो। हामीले हाम्रो पार्टी जीवन त्यहाँबाट सुरु गर्न हो। कुरा यही हो। ओलीले आफ्नो गुटको बैठक बोलाउनुभयो र त्यसलाई केन्द्रीय कमिटीको बैठक भनेर एउटा आदेश जारी गरिदिनुभयो। हामी त्यो कुरालाई इन्कार गर्छौं। त्यो गुट हो। अर्थात्, महाधिवेशनमा एउटा टेबलमा उम्मेद्वारी दाखिल गर्ने एउटा टिम हो। हामी अर्कातिर थियौं। हाम्रो महाधिवेशनमै यस्तो व्यवस्था छ।
अध्यक्षको हिसाबले ओलीले पार्टीको बैठक बोलाउनुपर्ने थियो। जुन कमिटीमा उहाँकै बहुमत थियो, त्यसको पनि बैठक बोलाउनुभएन। यो 'पजल' हेर्नुस्। यस्तो के कारणले हुन्छ? जुन कमिटीमा आफ्नो बहुमत छ, त्यही कमिटीको बैठक बोलाउँदैनन् र गुटको बैठक बोलाएर अरुलाई कारबाही गर्छ भने नि:सन्देह पार्टी विभाजन गर्ने दिशातर्फ योजनाबद्ध रुपले, संकल्प गरेर उहाँ लाग्नुभएको छ।
नवौं महाधिवेशनले जे सिद्धान्त पारित गरेको छ, कार्यदिशा पारित गरेको छ, संगठनात्मक प्रस्तावहरु पारित गरेको छ, त्यो पार्टीको लिगेसी हो। पार्टी भनेको त्यो हो। त्यसैले त्यसलाई जोगाउनका लागि, पार्टीको परम्परा जोगाउनका लागि, विरासत जोगाउनका लागि हामीले २०७५ जेठ २ गतेका कमिटीहरु ब्युँताएर गतिविधि गर्दैछौं। हामीले सुरु गरेका छौं। केही दिनमा व्यवस्थित ढंगले देशभरी नै गर्छौं।
तपाईंहरुले पुनर्गठित एमाले पनि भनिरहनुभएको छ नि। त्यो भनेको चाहिँ कस्तो हो? जेठ २ गतेमा फर्किने मात्रै भनिएको हो कि केही चारित्रिक फरक पनि छ?
सांगठनिक हिसाबले भन्ने हो भने, अदालतको फैसलाको विन्दुको दृष्टिले हामीले जेठ २ गतेलाई राखेका हौं। राजनीतिक हिसाबले भन्दा, नवौं महाधिवेशनको विचारलाई लिएर हामीले त्यतिखेरको कमिटी, हामीले निर्वाचित गरेको केन्द्रीय कमिटी, पदाधिकारी, विधान अनुसारका जिल्ला कमिटीले अब त्यसैगरी काम गर्छन्। यसर्थ ती वैध कमिटीहरु हुन्। यो चाहिँ हामी मान्छौं कि, हामी मात्रै हौं भनेर हामीले भनेका छैनौं। आधा उतापट्टि छ। उहाँले त आधा उतापट्टि छ भन्ने पनि मान्नुहुन्न। किनभने ओलीजीको शास्त्रमा यस्तो तथ्यलाई स्वीकार गर्ने कुनै चिज छैन। हामी के स्वीकार गर्छौं भने एउटा समूह ओलीजीको छ, एउटा हाम्रो छ। जुन दुइटा समूह महाधिवेशनमा उम्मेदवारी दाखिल गरेकाहरुको समूह छ। यो ठीक थियो वा बेठीक, छलफल गर्नुपर्थ्यो। त्यतिबेला त्यो गर्ने ठीक तर अहिले अर्को समूह नबनाऊ भनेर उहाँले भन्न मिल्दैन। यो सँगै बसेर छलफल गरौं, मूल्यांकन गरौं र निकास निकालौं भन्ने कुरा त मैले धेरैपटक भनेको थिएँ। तर वास्ता गर्नुभएन। अहिले यो समूह भनेर उहाँले भन्नुभएको छ र निकालेको घोषणा गर्नुभएको छ। हामीले निकालेको घोषणा गरेका छैनौं, गर्दैनौं। हामी त्यो टिम नै होइन, एमाले नै होइन भनेर भन्दैनौं।
अहिलेको एमालेमा तपाईंको पद, दायित्व र भूमिका के हो त?
म नेकपा एमालेको उप-महासचिव हुँ। नवौं महाधिवेशनले मलाई चुनेको हो। ओलीलाई अध्यक्ष चुन्यो, मलाई उप-महासचिव चुन्यो। पाँच जना उपाध्यक्ष चुन्यो, पाँच जना सचिव चुन्यो, दुई जना उप-महासचिव चुन्यो, एक जना महासचिव चुन्यो। त्यसरी चुनिएका हौं हामी। त्यसर्थ ओली जसरी नवौं महाधिवेशनको अध्यक्ष हो, म पनि त्यसैगरी उप-महासचिव हो।
विगतदेखि नै कम्युनिस्ट पार्टी टुक्रिने बेलामा आरोप प्रत्यारोप हुने, एउटाले अर्कोलाई स्पष्टीकरण सोध्ने, निकाल्ने गरेको देखिन्थ्यो। अहिले एमालेमा पनि त्यही पूर्वाभ्यास भइरहेको भनेर बुझ्न सकिन्छ?
यसका दुवै पक्ष छन्। हाम्रा पत्रपत्रिकामा आउँछन्, हाम्रो इतिहासमा त्यति जान नचाहने तर कम्युनिस्ट भनेपछि यत्तिकै दुईचार थान गाली गरिदिइहालौं न, कम्युनिस्ट हो भनेपछि दुईचार थान गाली गर्नुपर्छ भन्ने बुद्धिजीवीले लेख्ने कुरा एउटा भयो। तर, हामीकहाँ जुट्ने पनि धेरै समृद्ध परम्परा छ। हाम्रो नेकपा एमाले नै कति धेरै समूह मिलेर बनेको हो। सबैको सांस्कृतिक हिसाबले सम्मिलन भयो। त्यसैले नेकपा एमाले भनेको धेरै राम्रो चिज हो। त्यत्रा समूह मिलेर, राजनीतिक सांस्कृतिक सम्मिलनका साथ बनेको पार्टीको हिसाबले हामीसँग एकताको पनि ठूलो परम्परा छ।
ओलीजीहरुले पनि नवौं महाधिवेशन मान्दैनौं भन्न मिल्दैन। किनकि, उहाँ त्यहीँबाट चुनिएर आएको हो। राजनीतिक र सैद्धान्तिक रुपमा हामीले टेक्ने ठाउँ त्यहीँ हो। वैचारिक रुपमा हामीले टेक्ने ठाउँ त्यहीँ हो। अरु कुनै मुद्दा बहसमा छैन। बहस कहाँ छ भने, पार्टी मेरो जिम्दारी हो, मैले चलाउन पाउनुपर्छ, यसर्थ नेकपा एमालेभित्र गणतन्त्र हुँदैन, व्यक्तिको सत्व हुँदैन। म अध्यक्ष भएँ, सबै मेरा रैती हुनुपर्छ भन्ने एउटा मानसिकता छ। त्यो मेरो राजनीतिक आरोप भयो रे। किनकी मलाई त्यस्तो लाग्छ। त्यसमा छलफल गर्न म तयार छु भनें। त्यसकारणले उहाँले हामीलाई पाखा राख्नुभएको छ।
हाम्रो कुरा कति मात्रै हो भने, यत्रो ठूलो पार्टी विभाजित हुँदैछ। विभाजनको डिलमा पुग्दैछ। कारण के भने, अदालतले जेठ २ गते पुग्यो भनेको कुरालाई मान्ने कि नमान्ने? त्यही जेठ २ गतेमा पुग्यो भन्दाखेर उहाँले देशभर मैनबत्ती बालेर, दिपावली गरेर, हर्षबढाईं गर्नुभएको थियो। हो, त्यही २ गतेमा जाने कि नजाने भनेर आज यत्रो पार्टी विभाजित हुने अवस्थामा पुग्दैछ। यो असाध्यै दुर्भाग्यको कुरा हो।
तपाईंहरुले असारसम्मका लागि एउटा अभियान पनि घोषणा गर्नुभएको छ। अभियानमा के के हुन्छ?
हामी सबै तहमा २०७५ जेठ २ गतेका कमिटीहरु ब्युँताउँछौं। ती कमिटीहरुले नवौं महाधिवेशन, त्यसका दस्तावेजहरु अनुसार प्रशिक्षण चलाउँछौं। जनतामा जान्छौं। नेकपा एमालेको इतिहास बताउँछौं। आजको संकट र यसका कारण बताउँछौं। प्रशिक्षण गर्छौं। भेला गर्छौं। अरु प्रचार प्रसारका कामहरु गर्छौं।
अनि, यतातिर पार्टी एकताका लागि संवाद गर्ने र एकता हुने सम्भावना पनि सकाउँदै जान्छौं। होइन?
हाम्रो तर्फबाट हामी पार्टी एकताको पक्षमा छौं। नेकपा एमालेको एकताको पक्षमा छौं। ओलीजी हाम्रो पार्टीमा हुनुहुन्न भनेर हामीले भनेका छैनौं। यसर्थ हामी एकताको पक्षमा छौं। त्यसैले यस्तो प्रश्न उहाँहरुलाई सोध्नुपर्छ। हामी यसको उत्तर जान्दैनौं। किनभने, हाम्रो प्रश्न र उत्तर नै फरक पर्यो। हामी एकतामा लागिरहेका छौं। यो कुरा तपाईंहरु सबैले देखिरहनुभएकै छ। त्यसैले उहाँहरुका कारणले बाहेक पार्टी विभाजन हुँदैन। उहाँहरुका कारणले मात्रै पनि म भन्दिनँ, उहाँ (ओली)का कारणले। उहाँलाई उचालिरहेको, बल दिइरहेको तलको एउटा पंक्ति तयार भएको छ अहिले। त्यो दलाल पुँजीपतिहरुको पंक्ति भन्छु मैले। तिनले पालेका अरु केही सामाजिक लम्पटहरु तयार भएका छन्। त्यसको बलमा ओलीजीले यो सबै काम गर्दै हुनुहुन्छ। बीचको राजनीतिक तहले फुटको लागि सोचिरहेको छ, प्रयत्न गरिरहेको छ, हामीलाई लखेट्न खोजेको छ भन्ने टुंगोमा म अझै पुगेको छैन।
एउटा यस्तो अवस्था हुन्छ, चाहना एकातिर हुन्छ तर वस्तुगत आधार अर्कै भइसकेको हुन्छ। अहिले तपाईंले हामी एउटै एमाले चाहन्छौं भनेर जसरी भनिरहनुभएको छ, तर वस्तुगत आधार त त्यस्तो देखिँदैन बरु विभाजिततिरै गइरहेको देखिन्छ। त्यस्तो हो कि होइन?
मैले वस्तुगत रुपमा दुईवटा कुरा राख्न चाहन्छु। एक, तपाईंहरुले हेर्दाखेरी एमाले विभाजन भइसक्यो। किनकी, दुईतिर गतिविधि गर्दैछन्। तपाईंहरुको भाषामा समानान्तर भन्दै हुनुहुन्छ। ओलीजीले जे गर्दै हुनुहुन्छ, त्यसले पनि यो पार्टी एकीकृत भएकोचाहिँ देखिँदैन। दुईतिरै गएको देखिन्छ।
तर, हाम्रो इतिहास हेर्दा इतिहासमा सीपी मैनाली अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो। अक्षरको बान्की कस्तो लेख्ने भनेर पनि सिपी मैनालीबाट सिक्ने चलन थियो, हाम्रो पार्टीमा। मेरा अक्षर नराम्रा थिए। तर कहिल्यै पनि त्यो बान्कीमा लेख्नै सकिनँ। अलिअलि प्रयत्न गरें तर सकिनँ। नाम नलिए पनि बीस-तीस जनाको त म नामै भनिदिन सक्छु। अहिले पनि त्यस्तै अक्षर लेख्नुहुन्छ। तर, सीपी मैनाली अहिले पार्टीमा हुनुहुन्न, तर सीपी मैनालीका अक्षरहरु यहीँ छन्। उहाँले पद छाड्नुभयो, यहीँ रहनुभयो। झलनाथजी आउनुभयो, महासचिव हुनुभयो। हाम्रो पार्टीको सैद्धान्तिक हिसाबले इतिहासकै अत्यन्तै अप्ठ्यारोमा महासचिव हुनुभयो। नवौं महाधिवेशनभन्दा अगाडिको सबैभन्दा धेरै अप्ठ्यारो समयमा सबैभन्दा धेरै सैद्धान्तिक समयलाई समाधान गर्ने कालमा उहाँ महासचिव हुनुभयो। उहाँले छाडेर पनि त्यही पार्टीमा बस्नुभयो। पछि माधव नेपालजी आउनुभयो। राजीनामा गरेर पनि यही पार्टीमा बस्नुभयो। हामी त यस्तो परम्पराबाट आएका हौं। यो परम्पराले नेकपा एमालेमा वस्तुगत रुपले नै एउटा ठूलो विरासत बनाएको छ। यस्ता धेरै समस्या समाधान गर्ने जीवनशक्ति एमालेमा छ भन्ने हामीलाई विश्वास लाग्छ।
यसर्थ ओलीजीले अत्यन्न उत्पात् गरेर व्यक्तिवादी, मभन्दा बाहेक कोही छैन, यस्तो नांगो व्यक्तिवादले यत्रो पार्टीको परम्परा भत्काउँछ भन्ने कुरामा हामी अझै टुंगोमा पुगेका छैनौं। भत्काउन सक्दैनन् भन्ने लाग्छ।
यद्यपि, ६/७ वर्षको सत्ताको बलमा पार्टीमा एउटा नयाँ वर्ग उदाइसकेको छ। माथिदेखि तलसम्म। साधन स्रोत छेलोखेलो, यो सबैको सदुपयोग र दुरुपयोग के के गर्नुपर्ने हो, सारा गरेर नयाँ वर्ग त्यहाँ बनेको छ। स्वयं नेकपा एमालेभित्र आएको यो नयाँ वर्ग र नेकपा एमालेको जुन आम सामाजिक वर्ग थियो। हिजै रहेको वर्ग र अहिले रातारात धनाढ्य भएको नयाँ वर्गको असमझदारी हो भनेर पनि हेर्न सकिन्छ। तर, दलाल पुँजीवादको प्रभावमा नकमाएको सम्पत्ति खाएर बाँच्नेहरुले यत्रो पार्टीको परम्परा तोड्न सक्छन्? भन्ने कुरामा मलाईचाहिँ विश्वास लाग्दैन।
तपाईंहरुलाई वैचारिक, सैद्धान्तिक र राजनीतिक रुपमा प्रष्ट भएका नेतामा गनिन्छ। संगठन पनि बनाएरै आउनुभएको हो। यस्तो अवस्थामा पार्टीभित्रको किचलोमा किन फँसिरहने? वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा बलियो बनाएर किन हिँड्न नसकेको? ओलीलाई गाली पनि गरिरहने तर फेरि किन त्यहीँ रहन पनि खोजिरहने? भन्ने प्रश्न पनि छ नि तपाईंहरुलाई?
तपाईंको कुरा ठीक हो। तर, एउटा राजनीतिक प्राणीको हिसाबले मैले के भन्नुपर्छ भने, मेरो नेकपा एमालेको सम्पूर्ण पंक्तिले यो निर्णय गरोस्। मलाई मन लागे हिँड्ने, अर्कोलाई मन लागे हिँड्ने गरेर हामीले मुलुक र पार्टीको भविष्यमा योगदान गर्दैनौं। किनकि, हामीले त पार्टीसँग, समाजसँग केही अनुबन्ध गरेका छौं। त्यसका प्रति हामी बफादार छौं। त्यसका प्रति हामी निष्ठावान् नै छौं। त्यसैले यो कुरा कसले निर्णय गर्ने हो? भन्दा सम्पूर्ण एमाले पंक्तिले निर्णय गर्ने हो। महाधिवेशनमा यसले गर्न सक्छ। तर, हाम्रो दायित्व हो कि एमालेको सम्पूर्ण पंक्तिलाई त यो कुरा बताउनुपर्छ नि। यो त हाम्रो दायित्व पनि हो नि। 'मैले बुझें, म ज्ञानी भएँ' त्यसैले अब अर्को पार्टी खोल्नुपर्छ भन्ने कुरा राजनीतिक कुरा होइन। त्यसैले त्यो पंक्तिलाई हामीले आफ्नो कुरा बताउनुपर्छ। मलाई विश्वास छ, त्यो पंक्ति एकताको पक्षमा छ। किनकि, पार्टीका लागि भोकभोकै खटेको तलको पंक्ति त एकताको पक्षमा छ। ती मानिस, ती सदस्य, ती शुभचिन्तकहरु एकताको पक्षमा छन्।
हाम्रा पार्टीका मान्छेहरुले अहिले सिके। अलि चलाखहरुले धेरै कुरा सिकेका छन्। सदस्यता, पार्टी, कमिटी, कमिटीका हैसियत भन्ने कुरा पछि सिकिएको कुरा हो। नत्र भने हाम्रो पार्टी निर्माणमा नवौं महाधिवेशन अगाडिसम्म पनि पार्टी सदस्यता लिएकाले भन्दा नलिएका बहुत धेरै सक्रिय मान्छेहरु समाजमा यत्रतत्र थिए। उनीहरु पार्टी सदस्य होइनौं भनेर कुनै महसुस नै गर्दैनथे। औपचारिकताको मतलब पनि थिएन। त्यत्रो पंक्तिप्रति त हामी इमानदार हुनुपर्छ। त्यसमाथि हामी बेइमान हुन सक्दैनौं। त्यसैले 'मैले कुरा बुझें, ओलीले काम गर्दैनन्, बर्बाद् गर्ने भए' भनेर हिँडिहाल्ने कुराले तिनका प्रति हाम्रो दायित्व पूरा हुँदैन। त्यसैले हामीले त्यो तहसम्म पुगेर बताउनुपर्छ। अजेन्डा के हो? फरक के हो, समस्या के हो भनेर बताउनुपर्छ। त्यसले निर्णय गर्छ।
पार्टी फुट्छ भनेर आम चर्चा पनि छ। तपाईं भने मिल्ने सम्भावना पनि देखाइरहनुभएको छ। त्यसो भए यो परिस्थितिको निकास कसरी हुन्छ?
अहिले के गर्छौ भन्नुहुन्छ भने हामी कमिटी बनाउँछौं। प्रदेश कमिटीहरु ब्युँताउँछौं। केन्द्रीय कमिटी ब्युँतिएको छ। हामी स्थायी कमिटीमा रहेकाहरु सोही अनुसार काम गर्दैछौं। तल पालिकासम्म जान्छौं र कमिटीहरु ब्युँताउँछौं। र, हामी दुनियाँलाई, खासगरी एमाले पंक्तिलाई भन्छौं- ओलीजी खराब हुनुहुन्छ। महाभारतमा पनि हस्तिनापुर छाड्दा पाँचवटा गाउँ भनेको जस्तो पाँचवटा गाउँ मागेका छौं हामीले, खुट्टा टेक्नका लागि भन्ने कुरा हामी दुनियाँलाई बताउँछौं। र, यो अपिल नेकपा एमालेका लागि ठूलो अपिल हो। यो परिवारलाई एकीकृत राख्ने कुराका लागि धेरै ठूलो अपिल हो। यसले नेकपा एमालेलाई एकताबद्ध गर्छ। हामी गलत थियौं भने त्यो पार्टी पंक्तिले भन्ने छ। ओलीजी गलत हुनुहुन्छ भने उहाँलाई भन्ने छ, ठेगान लगाउँछ र पार्टी एकीकृत राख्छ भन्ने हामीलाई विश्वास छ।
तपाईंहरुले गाउँ पाउने त देखिँदैन। महाभारत चाहिँ कहिले हुन्छ?
वनबास होला, के होला, के होला। अनेक कुरा होलान्। शोकमा भन्नलाई हामीसँग धेरै कुरा हुँदोरहेनछ, शोकसभामा जाँदा म बोल्न सक्दिनँ। किनभने, शोक, वित्यास, दुर्घटना हामीले अपेक्षा गरेकै होइन नि। हामीले नचाहेका कुरा हुन्। सोचेका हुँदैनौं। अपेक्षा नै नगरेपछि त्यसका बारेमा सोचिँदोरहेनछ। अनि भाषा बन्दो रहेनछ। त्यसैले मसँग अहिले नेकपा एमाले विभाजित भएरै छाड्छ, त्यसपछि के हुन्छ भन्ने भाषा, शब्द, बिम्बहरु छैनन्। किनभने मैले त्यस्तो अभ्यास गर्दिनँ। गर्न चाहन्नँ। कुनै एमालेले गर्न चाहँदैन। त्यसले गर्दा मैले त्यतातिर सोचेकै छैन।
तपाईंले विभाजित भएको वा एकताबद्ध भएको कुनै खालको एमालेलाई एक्लै बस्दा सोच्नुहुन्छ वा सपनामा देख्नुहुन्छ?
पुनर्गठित हिसाबले नवौं महाधिवेशनमा विचार पारित भयो भन्दा त्यतिखेर मैले देखेको अर्कै हो। संक्षिप्तमा भन्दा, संसदीय लोकतन्त्रमा जुन विकृतिहरु छन् नि, आफ्नालाई टिकट दिने, आफ्नो गुटकालाई टिकट दिने, टिकट बेच्ने, आफ्नो पार्टीभन्दा बाहिरकालाई पनि दिने, ल्याउने अनि चार जनासँग पैसा उठाएर नेताले चुनाव लड्ने। हार्यो भने अर्को वर्ष जित्न प्रयत्न गर्ने, जित्यो भने अर्को पटक जित्नलाई प्रयत्न गर्ने। पैसा धेरै कमाउने अनि ठूलो पदमा पुग्ने। ठूलो पदमा पुगेपछि अझै धेरै पैसा कमाउने र अझै धेरै पैसाले अझै ठूलो पद किन्ने र यसरी निरन्तर अगाडि जाने जस्ता कुरा रोकिने छ। हाम्रो हरेक पार्टी सदस्य तल प्रत्यक्ष रुपले जनताको समस्यासँग जोडिएको पार्टी हुन्छ। हाम्रो औपचारिक प्रजातन्त्र वा संसदीय लोकतन्त्रका विकृतिहरु छन्, त्यो विकृतिहरु हटेको र जनताको दैनन्दिनसँग जोडिएको र त्यसप्रति जवाफदेही, त्यस्तो पार्टी र संगठन हाम्रो नवौं महाधिवेशनले सोचेको सिद्धान्त सोचेको हो। त्यतिबेला मैले त्यस्तो सोचेको थिएँ।
अहिले पनि अलि दुःख त भयो। किनभने नयाँ वर्ग जन्मिसकेको छ। यो वर्गले पार्टी एकीकृत भयो भने पनि त्यतातिर जानलाई दुःख चाहिँ दिन्छ। ओलीजीले त्यसलाई नयाँ वर्गका रुपमा खडा गरिसक्नुभएको छ। त्यसले दुःख चाहिँ दिन्छ। तर, मेरो तृष्णा भन्नुस्, जे भन्नुस्, पहिले विभाजित भएर आएको कारणले मलाई विभाजनसँग बढ्ता डर लाग्छ। त्यसैले हामीले केही दुःख त पाउने भयौं तर विभाजित हुन नदिएर हामीले फेरि एकीकृत गर्न सक्यौं भने पार्टीलाई आउने पुस्ताले त्यो चाहिँ बुझ्छ है। ओलीतिरै रहनुभएका साथीहरुप्रति पनि मलाई त्यो अनुराग छ। यो दिशामा लैजानलाई ती साथीहरु तयार हुन्छन् भन्ने मलाई लाग्छ। यसो गर्दा २०३६ सालको आन्दोलनको अघि र पछि हुर्किएको हाम्रो जमातले पार्टी फेरि पनि निर्माण गर्छ, आजको युगानुकूल पार्टी निर्माण गर्छ र हामीले उत्तराधिकारी पुस्तालाई त्यस्तै पार्टी हस्तान्तरण गर्छौं भन्ने कुरामा म त्यस्तै सपनाचाहिँ देख्छु। साँच्चै देख्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।