काठमाडाैं- नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले असार १५ गतेसम्मको अभियान तय गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।शनिबार कलंकीमा बसेको सो पक्षको स्थायी कमिटी बैठकले तीन महिनाको कार्यक्रम तय गरेको हो।
चैत महिनाभर चल्ने पहिलो चरणका कार्यक्रमका लागि विभिन्न सात कार्यक्रम तय गरिएका छन्। जसमा पार्टी र जनसंगठनका सबै तहका बैठक बसी योजना निर्माण गर्ने, अभियानसम्बन्धी १ दिने प्रशिक्षण गर्ने, पार्टीका जिल्ला/नगर/गाउँ/वार्ड/टोल स्तरका कमिटी व्यवस्थित गरिसक्ने लगायतका काम छन्।
पहिलो चरण अन्तर्गत नै चैत २७ गते सम्पर्क मञ्चहरूको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिनेछ। चैत २९ गते काठमाडौंमा पेशागत महासंघको आयोजनामा ‘आजको सन्दर्भमा नेकपा एमालेको एकता र चुनौती’ विषयक विचार गोष्ठी गरिने छ।
वैशाख महिनाभर चल्ने दोस्रो चरणको अभियानका लागि ११ वटा कार्यक्रम तय गरिएको छ। वैशाख ९ गते पार्टी स्थापना दिवस देशभर मनाइने भएको छ। साथै, उपत्यका स्तरीय कार्यक्रम गरिनेछ।
त्यस्तै, वैशाख १३ गते प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२औं स्मृति दिवस विराटनगरमा गरिनेछ। यो पक्षले त्यस दिन अन्य जिल्लाहरूमा पनि स्मृति कार्यक्रम सञ्चालन गर्ने छ।
जेठ महिनाका लागि तेस्रो चरणको अभियानका ६ वटा कार्यक्रम तय गरिएका छन्। घरदैलो कार्यक्रमदेखि र्याली र सभाहरू आयोजना गरिनेछ। त्यस्तै, जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको २७औं स्मृति दिवसको अवसरमा चितवनमा विशेष कार्यक्रम आयोजना गर्ने तथा देशभर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
असारमा प्रतिवेन तयार गरिनेछ। यसैबीच, आफ्नै पार्टी केन्द्रीय कार्यालय सञ्चालन गर्ने र छुट्टै फेसबुक पेज बनाउने पनि तय गरिएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।