काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले दुई महिने अभियान सञ्चालन गर्ने भएको छ। शनिबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले विभिन्न कार्यक्रम तय गरेको हो।
'यो बैठकले आगामी दुई महिनाका लागि देशभरि पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। यो अभियानको मूल नारा 'नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं' भन्ने तय भएको छ,' बैठकपछि नेता योगेश भट्टराईले भने, 'दुई महिनासम्म हाम्रो व्यापक अभियान चल्नेछ। यो अभियानमा २०७५ जेठ २ गते कायम भएका, जो अधिवेशनबाट आएका छन्, विभिन्न जनसंगठनका अधिवेशनबाट निर्वाचित भएका छन्। ती कमिटीहरुलाई पुनर्सञ्चालन गर्ने र ती कमिटीहरुलाई आवश्यकताअनुसार गठन पुनर्गठन गर्ने साथै देशभरि प्रशिक्षण अभियान चलाउने, भेला बैठकहरु गर्ने लगायतका अभियानहरु यो दुई महिनाका लागि हामीले घोषणा गरेका छौं।'
उनका अनुसार अभियानका निम्ति पार्टी केन्द्रीय कमिटीका सदस्यहरु र आवश्यकताअनुसार अन्यलाई पार्टी केन्द्रीय प्रतिनिधिको रुपमा तोकेर जिल्ला-जिल्लामा कार्यविभाजन गरेर खटाइने छ। 'उहाँहरुले दुई महिना सम्पूर्ण रुपले जिल्लामा बसेर तोकिएको जिम्मेवारी पूरा गर्नुहुनेछ,' भट्टराईले भने।
यसबीचमा पार्टी एकता रक्षाका निम्ति विचार गोष्ठी, अन्तरक्रियाहरु पनि आयोजना गरिने उनले बताए। वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन नेपाल कम्युनिस्ट पार्टीको एकतालाई ध्यान दिँदै देशव्यापी पार्टी स्थापना दिवस मनाउने तयारी छ। त्यसदिन काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरिनेछ।
'वैशाख १३ गते मनमोहन अधिकारीको स्मृति दिवस हो। त्यसलाई पनि पार्टी एकताको सन्दर्भमै स्मृति दिवसलाई मनाउनेछौं, विभिन्न कार्यक्रमसहित देशव्यापी। विशेषगरी विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम आयोजना गरिनेछ,' भट्टराईले भने।
त्यस्तै, मदन-आश्रित स्मृति दिवसको दिन अर्थात् जेठ ३ गते चितवनमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरिनेछ। 'यसरी हामी दुई महिने विशेष अभियानलाई अगाडि बढाउँदै लैजानेछौं,' भट्टराईले भने।
बैठकले चैत ४ र ५ गते सम्पन्न भएको कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणापत्रमाथि आएका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीबाट आएका सुझावलाई समेत समावेश गरेर अन्तिम रुप दिएको छ। त्यसलाई प्रकाशित गरेर पार्टीव्यापी वितरण गरिने भट्टराईले जानकारी दिए।
'अहिले पार्टीमा उत्पन्न भएको अन्तरविरोध, यसको राजनीतिक, सैद्धान्तिक, वैचारिक र संगठनात्मक पक्ष र पार्टीभित्र देखिएका कार्यशैलीगत भिन्नता लगायतका विषयहरुमा हामीले उठाउँदै आएका मुद्दाहरुलाई समग्रमा समेटेर एउटा प्रशिक्षण सामग्री बनाइनेछ। त्यसलाई पनि प्रकाशित गरेर र पार्टीव्यापी रुपमा प्रशिक्षणका निम्ति त्यो पठाइने छ। छिट्टै प्रकाशित गरिने छ,' भट्टराईले भने।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।