प्रतीकात्मक तस्बिर
म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ।
पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु गरेको हो। २ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण सुरु गरेको विभागका इञ्जिनियर सचिन्द्रदेव यादवले बताए।
आगामी आर्थिक वर्ष २०७८\७९ मा पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ। विभिन्न ठाउँमा ढुङ्गाको सिँढी चिनेर, सोलिङ गरेर, माटो, पहाड काटेर, रेलिङ राखेर दुई मिटर फराकिलो पदमार्ग बनाउने लक्ष्य छ। हुमखोला, फुतफुते झरना, भुसकेत र दुला भन्ने ठाउँमा भरिया तथा पर्यटक बस्न मिल्ने आश्रयस्थल बनाउन लागिएको छ।
यसैगरी दुई ठाउँमा पुल निर्माण गर्ने योजना छ । पन्ध्र किलोमिटर दुरीको विभिन्न ठाउँमा पदमार्ग बनाउने गरी ठेकेदारले काम गरिरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए। हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो।
सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलोपटक पाइला टेकेका थिए।
नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ। हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण हो। फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।