फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी विभाजनको पक्षमा नरहेको तर, दास बन्न पनि तयार नरहेको बताएका छन्। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता/कार्यकर्तालाई पेल्दै लैजाँदा वर्तमान अवस्था उत्पन्न भएको उनले बताए।
काठमाडौंमा आयोजित नेपाल पक्षीय अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले भने, ‘हामी पार्टी विभाजनको पक्षमा छैनौं तर, दास बन्न पनि तयार छैनौं।’
आफूहरू नभई ओली विभाजनको पक्षमा रहेको उनको भनाइ थियो। सानेपा भेलालाई विभाजनका लागि भएको बताउनलाई लक्ष्य गर्दै उनले स्पष्ट पारे, ‘हामी कार्यकर्तामा उत्साह भर्न चाहन्छौं। कार्यकर्ता गतिशील बनाउनु अपराध होइन। त्यसले पार्टीमा जीवनमा ऊर्जा आउँछ। ऊर्जा भएको पार्टीले मात्रै जनताको मत जित्छ।’
आफूहरु पार्टीमा विधि र पद्धति स्थापित गर्न लडाइँ लडिरहेको बताउँदै यसबाट पछि नहट्ने पनि उनले उल्लेख गरेका छन्। आफूहरू प्रधानमन्त्री ओलीको अहंकारविरुद्ध लडिरहेको बताएका छन्।
आफू कारबाहीको पत्रबाट नतर्सिएको संकेत गर्दै भने, ‘मैदानबाट भाग्ने मान्छे योद्धा हुन सक्दैन। कठिनाइबाट नडराऊ, नतर्स, हिम्मतका साथ संकल्प गर्यौं भने चुचुरोमा पुगि छाड्नेछौं।’
उनले प्रधानमन्त्री ओली आफू हाबी हुने प्रवृत्तिका कारण वर्तमान संकट आएको बताए। सकेसम्म बैठक बसाउन नखोज्ने र बैठक बस्दा पनि आफूलाई लागेको निर्णय गराउने खोज्ने उनको प्रवृत्ति रहेको बताए। नेता पुष्पलाल श्रेष्ठको भनाइ सम्झिँदै उल्लेख गरे, ‘उहाँ भन्नुहुन्थ्यो, नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ। त्यसले मात्रै पार्टी जीवन्त बनाउँछ।’
नीति प्रधान बनाएरै आएका कारण नेकपा एमालेको सुरुवाती चरण कोअर्डिनेसन केन्द्रका नेताहरुले छाड्दै जाँदा पनि पार्टी यो अवस्थामा रहेको उनले बताए। पार्टीलाई वैचारिक जगमा अगाडि लैजान चाहेको बताउँदै उनले भने, ‘अध्यक्ष ओलीले निरंकुश र फुटवादी हर्कत देखाए।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।