फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका सांसद झपट रावलले राजनीतिक आकाशमा कालो बादल मडारिइरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले विभाजन गर्ने गतिविधि पनि देखिन थालेको बताए।
'मलाई आशा छ, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रतिनिधिसभालाई अकालमै मृत्युवरण गराउने छैनन्। संविधानको रक्षा र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न पुनर्जीवित गर्न प्रेरणा र हौसला प्रदान गरोस्,' उनले भने।
रावलले पुस ५ देखि फागुन ११ गतेसम्म सदनले शून्य समयको रुपमा बिताएको बताए। 'यो समय अदालतको महत्त्वपूर्ण समय संसद् विघटनको मुद्दाको सुनुवाइ गर्नका लागि खर्च भयो। निर्वाचित प्रतिनिधिसभाले कुनै काम कारबाही गर्न पाएन। सदनले पारित गर्नुपर्ने नागरिकता विधेयकलगायतका महत्त्वपूर्ण कानुनहरु पारित हुन सकेनन्,' उनले भने।
के भने रावलले?
करिब नाै महिनापछि बोल्न पाउँदा खुसी व्यक्त गर्दछु। पुस ५ देखि फागुन ११ गतेसम्म यो सदनले शून्य समयको रुपमा बितायो। यो समय अदालतको महत्त्वपूर्ण समय संसद् विघटनको मुद्दाको सुनुवाइ गर्नका लागि खर्च भयो। निर्वाचित प्रतिनिधिसभाले कुनै काम कारबाही गर्न पाएन। सदनले पारित गर्नुपर्ने नागरिकता विधेयकलगायतका महत्त्वपूर्ण कानुनहरु पारित हुन सकेनन्।
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सम्मानित सर्वोच्च अदालतले बदर गरिदियो। यस समयमा असंवैधानिक निर्णयलाई बदर गर्ने अदालत, आमजनता तथा निर्वाचित प्रतिनिधिसभाका सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु।
बधाई दिइरहँदा दल विभाजन गर्ने गतिविधि पनि देखिन थालेका छन्। राजनीतिक आकाशमा कालो बादल मडारिरहेको छ। मलाई आशा छ, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रतिनिधिसभालाई अकालमै मृत्युवरण गराउने छैनन्। संविधानको रक्षा र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न, पुनर्जीवित गर्न प्रेरणा र हौसला प्रदान गरोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।