तस्बिर : रासस
बागलुङ- कोरोना भाइरस महामारीका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ। कोरोनाका कारण थलिएको पर्यटन उकास्नका लागि प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ।
जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ। समाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लब अफ बागलुङले सञ्चालन गरेको रोट्र्याक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँमा हाइकिङ गरिएको क्लबका अध्यक्ष ताराप्रसाद शर्माले बताए।
‘कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि हाइकिङ गरिएको हो’, शर्माले भने, ‘जिल्लाकै पहिलो ग्रामीण पर्यटनको केन्द्रको रुपमा चिनिएको भकुण्डेको प्रचारप्रसार र पर्यटकको आगमन बढाउनेछ।’
दुई घण्टाको पैदलयात्रामा बराहताल पुगेको हाइकिङमा सहभागी सुस्मिता केसीले बताइन्। उनले बजार नजिकै रमणीयस्थान हेर्दै पदयात्रा गर्दा निकै आनन्द भएको अनुभव सुनाइन्। शर्माले हाइकिङपछि भकुण्डे पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा रहेको बताइन्।
भकुण्डेको बराह ताल, दृश्यावलोकन स्तम्भ तथा मनोरम दृश्य र जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले यसलाई हाइकिङको रुटका रुपमा विकास गर्न आवश्यक रहेको हाइकिङमा सहभागी सौरभ केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।