चितवन- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस तरुण विभागले चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताएका हुन्। 'प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ। टाउकामा जिम्मेवारी आयो भनेपछि पर्नेवाला पनि छैन,' उनले भने।
सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको उल्लेख गर्दै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए। 'मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन्। त्यो हेर्नुपर्छ,' सभापति देउवाको भनाइ छ।
देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए। आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए। सभापति देउवाले स्थानीय तहदेखि संघमासमेत निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घरदैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए। 'जनता मालिक हुन्। नोकर होइनन्। भाषण गरेर मत दिँदैनन्। जनताको सुख-दुःखमा साथ दिनुस्। निर्वाचन जितिन्छ,' देउवाको भनाइ थियो।कांग्रेसभित्रको आन्तरिक विवाद टुंगो लगाएर अघि बढ्ने समय आएको उनको भनाइ छ।
कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस सर्तसहित सरकारमा नजाने बताए। 'कांग्रेस सरकारमा जान्छ तर हात खुट्टा बाँधेर सरकारमा जाँदैन,' नेता महतले भने। विना सर्त लोकतान्त्रिक विकल्पमा दल आउने भए मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउँदै उनले भने, 'कांग्रेसले सेवा सर्त पूरा गरेर सरकारको नेतृत्वमा जाँदैन।' अहिलेको समयमा कांग्रेस आफै जुटेर बलियो बन्नुपर्ने उनको भनाइ छ।
कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, शङ्कर भण्डारी र देवेन्द्र कँडेलले कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गर्दैअघि बढ्नुपर्ने बताएका थिए। अहिले देश संकटमा जान लागेको भन्दै उनीहरुले देशलाई सही बाटोमा हिडाउने कर्तव्य पनि कांग्रेसको रहेको उल्लेख गरे। राष्ट्रियता, अखण्डता, आघात नहुने गरी लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्ने उनीहरुको जोड छ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घका केन्द्रीय सदस्य उमा रेग्मी, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महर, तरुणदल बागमती प्रदेशका अध्यक्ष पद्मनारायण तिमिल्सिना, तरुण युवा परिचालन समितिका हेमन्त पाख्रिनलगायत मुलुकको विद्यमान राजनीति र कांग्रेसको दायित्वका विषयमा धारणा राखेका थिए। कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।